राप्रपा : महाधिवेशनमा सघाएका लोहनीलाई पन्छाएर इतर गुटका तामाङलाई किन च्यापे लिङदेनले ? – Nepal Press

राप्रपा : महाधिवेशनमा सघाएका लोहनीलाई पन्छाएर इतर गुटका तामाङलाई किन च्यापे लिङदेनले ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समिति बैठकले हिजो समानुपातिक सांसदहरुको टुंगो लगाउँदै गर्दा अध्यक्ष राजेन्द्र लिङदेनले फेरि एकपटक नयाँ अभ्यास गरे । उनले समितिका सबै सदस्यसँग ‘वान टु वान’ कुराकानी गरेर उनीहरुको राय लिएपश्चात मात्रै निर्णयमा पुगेका थिए ।

प्रत्यक्षमा ७ क्षेत्र जितेको राप्रपाले समानुपातिकमा पनि ७ सीट नै पाएको छ । प्रत्यक्षमा महिला शून्य भएकाले ३३ प्रतिशत पु¥याउन समानुपातिकमा ७ मध्ये ५ जना महिला पठाउनै पर्ने बाध्यता थियो । बाँकी दुई जना पुरुषको कोटामा ५ जना आकांक्षी भएपछि अध्यक्ष लिङ्देन सकसमा परेका थिए । अन्ततः प्रजातान्त्रिक तरिका अपनाएर विवादरहित ढंगले नामहरु टुंग्याउन उनी सफल भए ।

दुईजना पुरुषको कोटामा एकजना पशुपतिशमशेर राणाको नाममा विवाद थिएन । उनी खस आर्यतर्फ पहिलो नम्बरमा थिए । तर, दोस्रो पुरुषको कोटामा डा. प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, ऋषिबाबु परियार र प्रमोद साहले दाबी गरेका थिए ।

महाधिवेशनमा आफूलाई समर्थन गरेकाले डा. लोहनीलाई उपेक्षा गर्न लिङदेनलाई कठिन थियो । अर्कातिर उपाध्यक्ष तथा जनजाति नेता भएकाले तामाङको दावेदारी बलियो थियो । यस्तै मधेसीको पहिलो नम्बरमा रहेका प्रमोद साहले पनि तीव्र आकांक्षा राखेका थिए ।

हिजो ११ बजे बोलाएको बैठकमा अध्यक्षले सुरुमा समानुपातिकका आकांक्षीहरुलाई बोल्न समय दिए । त्यसपछि उनले कार्यसम्पादन समितिका प्रत्यक्ष सदस्यसँग एक्लै कुराकानी गरेर समानुपातिकमा कसलाई पठाउँदा राम्रो हुन्छ भन्ने छलफल गरेका थिए । प्रत्यक्ष सदस्यको राय नोट गरेर उनले पछि बैठकमा सुनाए । र, आफूलाई अपजस नपर्ने गरेर बहुमत सदस्यहरुले समर्थन गरेकालाई समानुपातिकमा राखियो । यसो गर्दा डा. लोहनी छुटे र बुद्धिमान समेटिए ।

राप्रपाका पुराना नेता तामाङ वरिष्ठ नेता पशुपतिशमशेर राणासँग निकट मानिन्छन् । उनले राप्रपाको महाधिवेशनमा कमल थापाको प्यानलबाट उपाध्यक्षमा जितेका थिए । यद्यपि थापा पार्टी फुटाएर जाँदा तामाङले साथ दिएनन् । अहिले उनलाई पुरानो गुट बिर्सेर लिङदेनले संसदमा पठाएका छन् । त्यसो त समानुपातिकमा चयन भएकी नेत्री गीता बस्नेत पनि कमल थापाको गुटमा थिइन् । लिङदेनले गुटभन्दा माथि उठेर निर्णय लिएको भन्दै राप्रपामा नेताहरु खुशी छन् ।

योग्यता र क्षमताको तुलना गर्दा भने तामाङभन्दा डा. लोहनी धेरै अब्बल मानिन्छन् । राष्ट्रिय राजनीतिमा डा. लोहनीको स्पष्ट वक्ता र विद्वान नेताको छवि छ । तामाङ पुरातनपन्थी र संकुचित नेताका रुपमा चिनिन्छन् । डा. लोहनीले पार्टी महाधिवेशनमा उम्मेदवारी नदिएर लिङ्देनलाई समर्थन गरेका थिए । अहिले उनी राप्रपाको निर्देशक समिति संयोजक छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर