वागमती मुख्यमन्त्रीको रेसमा बहादुर पनि थपिए, इन्द्र बानियाँलाई कति सहज ? – Nepal Press

वागमती मुख्यमन्त्रीको रेसमा बहादुर पनि थपिए, इन्द्र बानियाँलाई कति सहज ?

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलमा बहादुरसिंह लामाले दाबी गर्ने तयारी गरेपछी इन्द्र बानियाँलाई चुनौती थपिएको छ ।

बागमती प्रदेशसभामा ३७ सिट हाँसिल गर्दै पहिलो पार्टी बनेको कांग्रेसमा नुवाकोटबाट विजयी लामाले पनि तयारी गरेपछि नयाँ समीकरण बन्ने देखिएको हो ।

२०७० सालको दोश्रो संविधानसभाको निर्वाचनमा तत्कालिन माओवादीका प्रभावशाली नेता पोष्टबहादुर बोगटीलाई पराजित गर्दै संविधानसभा सदस्य चयन भएका लामा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक कोटाबाट सांसद बनेका थिए । यो पटक मुख्यमन्त्री बन्ने सर्तमा उनले आफ्नो क्षेत्र अर्जुन नरसिंह केसिलाई छाडेको बताउँदै आएका छन् ।

नेपालप्रेसँग कुरा गर्दै लामाले आफूलाई पार्टीले मुख्यमन्त्रीको लागि प्रदेशसभामा उठाएको दाबी गरे । लामालाई यो पटक केसीसँगै डाक्टर प्रकासशरण महत समूहको पनि साथ रहेको बताइन्छ । यो पटक बानीयाँलाई मुख्यमन्त्री बन्न नदिने आन्तरिक तयारीमा कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्यय ‘डिना’ समेत रहेको श्रोतको दाबी छ ।

डिनाले मकवानपुर–१ बाट चुनाव हार्नुको कारण आफ्नै पार्टीका नेता बानीयाँको हात रहेको विश्लेषण गरेको कारण पनि उनले यो पटक कुनैपनि हालतमा बानीयाँलाई मुख्यमन्त्री बन्नबाट रोक्ने अभियानमा लागेको कांग्रेस श्रोतको दाबी छ ।

यो पटक कांग्रेस सभापति शेरबहादुर देउवा पनि लामाप्रति लचक रहेको बताईन्छ । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको समयमा बागमती प्रदेशको टिकट वितरणमा आफुलाई समेत नटेरेर बानीयाँले एकलौटी टिकट बाढेको आभाष देउवालाई भएपछि उनले बानीयाँभन्दा लामालाई विश्वास गर्ने कांग्रेस नेताहरु बताउछन् ।

बागमती प्रदेशको कांग्रेस अधिवेशनमा बानीयाँले देउवा इतरको समूहलाई पेलेको बुझाई शेखर–गगन समूहलाई थियो । शेखर–गगन समूहले हेटौँडामा भएको पत्रकार सम्मेलनमानै बानीयाँले आफ्नो ठाउँमा अधिवेशन गरेर शक्ति प्रर्दशन गरेको आरोप लगाएका थिए । यो पटक मुख्यमन्त्री चयनमा शेखर–गगन समूहले पनि लामालाईनै ‘ग्रिन सिग्नल’ दिएको लामा निकट नेताहरुको भनाई छ ।

तर बानीयाँ भने आफु स्वभाविक रुपमा मुख्यमन्त्री हुने बताउँछन् । यस अघि पाँच वर्षसम्म प्रमुख प्रतिपक्ष दलको नेता तथा कांग्रेस संसदीय दलको नेता भएको र हाल बागमती कांग्रेसको सभापति समेत रहेको कारण आफु मुख्यमन्त्री हुनेकुरामा विश्वास रहेको उनको भनाई छ । पार्टीले पनि आफुलाईनै जिम्मेवारी प्रदान गर्नेमा आफु विश्वस्त रहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर