समानुपातिकमा कांग्रेसलाई ३ र माओवादीलाई २ पुरुष सांसद छान्न हम्मेहम्मे – Nepal Press

समानुपातिकमा कांग्रेसलाई ३ र माओवादीलाई २ पुरुष सांसद छान्न हम्मेहम्मे

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ सत्तारुढ दल नेपाली कांग्रेसलाई तीन पुरुष र नेकपा (माओवादी केन्द्र) लाई दुई पुरुष सांसद छनोट गर्न सकस भएको छ ।

समानुपातिकतर्फ कांग्रेसले ३२ सिट प्राप्त गरेकोमा ३३ प्रतिशत महिला सांसद पुर्‍याउनुपर्ने बाध्यतामा रहेको कांग्रेसले २९ जना महिला पठाउनुपर्नेछ । बाँकी ३ जना मात्रै पुरुष सांसद पठाउनुपर्नेछ ।

यस्तै माओवादीले १४ सिट प्राप्त गरेकोमा १२ जना महिला अनिवार्य पठाउनुपर्ने छ । बाँकी रहेका २ जना पुरुष सांसद छान्न माओवादीलाई सकस परेको हो ।

कांग्रेसमा तीन सिटका लागि पूर्व र वर्तमान पदाधिकारीको प्रतिस्पर्धा चलिरहेको छ भने माओवादीमा पनि उच्च तहका नेताबीच कडा प्रतिस्पर्धा छ ।

कांग्रेसको समानुपातिकतर्फको बन्दसूचीमा खस आर्य समूहको पहिलो नम्बरमा डा.प्रकाशशरण महत, आदिवासी जनजाति समूहको पहिलो नम्बरमा गोपालमान श्रेष्ठ र मधेसी समूहका पहिलो नम्बरमा विमलेन्द्र निधि रहेका छन् ।

उनीहरू ३ जना नै पार्टीका पूर्व पदाधिकारी तथा अहिलेका केन्द्रीय सदस्य पनि हुन् ।

यस्तै दलित समूहको पहिलो नम्बरमा जीवन परियार, मुस्लिम समूहको पहिलो नम्बरमा फरमुल्लाह मन्सुर र थारु समूहको पहिलो नम्बरमा योगेन्द्र चौधरी रहेका छन् । परियार र मन्सुर दुवै जना पार्टीका सहमहामन्त्री हुन् भने चौधरी पार्टीका केन्द्रीय सदस्य हुन् ।

वर्तमान पदाधिकारी र पूर्व पदाधिकारीबिच समानुपातिक सांसद बन्नका लागि कडा प्रतिस्पर्धा देखिएको छ ।

पूर्व पदाधिकारी महत, निधि र श्रेष्ठलाई समानुपातिकतर्फबाट सांसद बनाउने बित्तिकै सहमहामन्त्री परियार र मन्सुर तथा केन्द्रीय सदस्य चौधरी सांसद बन्ने बाटो रोकिन्छ ।

सहमहामन्त्री परियार, डा. शेखर कोइराला समूहका नेता हुन् भने मन्सुर र चौधरी संस्थापन पक्षका नेता हुन् । नेता शेखर पक्षले परियारलाई सांसद बनाउनुपर्नेमा जोड दिइरहेको छ । विजयकुमार गच्छदार समूहले भने एकता प्रक्रियामा आएका अरूले चुनाव नजितेकाले चौधरीलाई लैजानुपर्नेमा जोड दिँदै आएको छ ।

महत देउवाका विश्वासपात्र हुन् । पार्टीको १४औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएका उनलाई देउवाले पार्टीको केन्द्रीय सदस्यमा नियुक्त गरेर पार्टी प्रवक्ताको जिम्मेवारीसमेत दिएका छन् । श्रेष्ठ पनि सभापति देउवाका विश्वास पात्र हुन् । निधिले भने १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएर पराजित भए पनि दोस्रो चरणमा भने देउवालाई सघाएका थिए । अहिले उनी सभापति देउवासँग सम्बन्ध सुधारका लागि लागिरहेका छन् ।

यता, नेकपा (माओवादी केन्द्र)मा खस आर्यबाट हितराजको नाममा सहमति जुटे पनि दोस्रो पुरुष सांसदबारे भने निर्णय हुन सकेन ।

माओवादी पार्टी कार्यालय स्रोतका अनुसार पदाधिकारीको बैठकमा २ पुरुषमध्ये खसआर्यबाट हितराज पाण्डेलाई पठाउनेबारे सहमति जुटेको छ । पाण्डे अघिल्लो पटक पनि सानुपातिक सूचीमा थिए, अन्तिममा उनलाई नपठाएर अपाङ्गता भएका क्षेत्रबाट चुडामणि खड्कालाई पठाएपछि संसद छिर्नबाट रोकिएका थिए ।

नेता पाण्डे यस पटक गोरखाबाट प्रत्यक्ष निर्वाचन लड्नका आकाक्षी देखिए पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा गएपछि उनको नाम समानुपाकितको बन्दसूचीमा राखिएको हो ।

पार्टी अध्यक्ष नै पाण्डेको निर्वाचन क्षेत्रमा गएर निर्वाचन लडेर जितेकाले पाण्डेलाई समानुपातिकतर्फ सिफारिस गर्न खासै विवाद सृजना भएन ।

दोस्रो पुरुषका नाममा भने पार्टीको पदाधिकारी बैठकमा सहमति जुट्न सकेन । माओवादीले निर्वाचनमा आयोगमा पेश गरेको बन्दसूचीको आदिवासी जनजातिमा अजम्बर राई, दलितमा रणेन्द्र बराली, मधेसीमा रामेश्वरराय यादव, थारूमा सुनिलकुमार भगत र मुस्लिममा हकिकुल्लाह खाँमुसदमान छन् ।

पार्टी कार्यालय स्रोतका अनुसार दलितबाट पहिलो नम्बरमा रहेका बराइली, मधेशीबाट पहिलो नम्बरमा रहेका यादव तथा आदिवासी जनजातिबाट पहिलो नम्बरमा रहेका राईमध्ये एक जनाको नाम पुरुष समानुपातिकतर्फ सिफारिस हुन सक्नेछ ।

पदाधिकारी बैठकमा सहमति नभएपछि यसबारे निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष प्रचण्डलाई दिइएको स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर