राप्रपा समानुपातिकमा राणा निश्चित, दोस्रो पुरुषको कोटामा डा. लोहनीलाई सकस – Nepal Press

राप्रपा समानुपातिकमा राणा निश्चित, दोस्रो पुरुषको कोटामा डा. लोहनीलाई सकस

काठमाडौं । संसदको पाचौं राष्ट्रिय प्रजातन्त्र पार्टीमा समानुपातिक सांसदहरुको पुरुष कोटामा कसलाई पठाउने भन्ने विवाद भएको छ । समानुपातिक सांसदको टुंगो लगाउन आज पार्टीको कार्यसम्पादन समिति वैठक बोलाइएको छ ।

प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रापले समानुपातिकतर्फ ७ सिट नै पाएको थियो । महिला ३३ प्रतिशत हुनैपर्ने प्रावधानअनुसार राप्रपाले ७ मध्ये पाँचजना महिला छनोट गर्नुपर्ने हुन्छ । पाँच महिलाको छनोटमा खासै समस्या नरहेको पार्टी स्रोतले बतायो । तर दुई पुरुषको कोटामा भने विवाद भएको हो ।

खस आर्यको क्लस्टरमा एक नम्बरमा रहेका पशुपतिशम्शेर राणा पहिलो पुरुषको कोटामा छनोट हुने निश्चितप्राय रहेको स्रोतको भनाइ छ । तर, दोस्रो पुरुषमा कसलाई पठाउने भन्नेमा अध्यक्ष राजेन्द्र लिङ्देन स्वयम् अलमलमा परेका छन् ।

खस आर्यकै कोटामा दोस्रो नम्बरमा छन् वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी । निर्वाचन आयोगले एउटै क्लस्टरबाट दुई पुरुष छनोट गर्न रोकावट गरेको छैन । त्यसैले आफूलाई पार्टीले सांसद बनाउने आशा लोहनीले राखेका छन् । पार्टीको महाधिवेशनमा सहयोग गरेकाले डा. लोहनीलाई पन्छाउन लिङ्देनलाई सहज छैन ।

यसअघि बन्दसूची बुझाउने बेला खस आर्यको पहिलो नम्बरमा कसलाई राख्ने भन्नेमा राणा र लोहनीको विवाद भएको थियो । अन्ततः कार्यसम्पादन समितिमा मतदान नै गरेर टुंगो लगाइएको थियो । बढी सदस्यहरुको मत पाएका राणा एक नम्बरमा परेका थिए ।

अहिले अन्य क्लस्टरमा अग्रस्थानमा रहेकाहरुले पनि समानुपातिक सांसदमा दावी गरिरहेका छन् । पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ जनजातितर्फ पहिलो नम्बरमा छन् । यसैगरी दलिततर्फ ऋषिबाबु परियार र मधेसीतर्फका प्रमोद शाह पनि समानुपातिक सांसदका आकांक्षी हुन् । समावेशीताका आधारमा पार्टीले आफूहरुलाई अघि सानुपर्ने उनीहरुको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर