हस्तकलाको माध्यमबाट नेपालको सभ्यता, कला र संस्कृतिको संरक्षण गर्न सकिन्छ : राष्ट्रपति भण्डारी – Nepal Press

हस्तकलाको माध्यमबाट नेपालको सभ्यता, कला र संस्कृतिको संरक्षण गर्न सकिन्छ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हस्तकलाको माध्यमबाट नेपालको सभ्यता, कला र संस्कृतिको संरक्षण गर्न सकिने बताएकी छन् ।

शुक्रबार नेपाल हस्तकला महासंघले आयोजना गरेको १९ औं हस्तकला व्यापार मेलालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले हस्तकलाको माध्यमबाट नेपालको सभ्यता, कला र संस्कृतिको संरक्षण तथा संवर्द्धनको साथै नेपालको पहिचान र गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सकिने बताएकी हुन् ।

उनले मुलुकभित्र उपलब्ध स्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताए ।

उनले हस्तकला उद्योगको विकास र विस्तारबाट मुलुकको विशिष्ट पहिचान गर्न सकिने भन्दै नेपालको आर्थिक सामाजिकलगायत समग्र राष्ट्रिय विकासका लागि महत्वपूर्ण योगदान पुर्याउन सकिने धारणा राखिन् । हस्तकला क्षेत्रले रोजगारी सिर्जनामा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको हुनाले हस्तकला उद्योगलाई नेपालको तुलानात्मक लाभको क्षेत्र मान्न सकिने उनको भनाई छ ।

उनले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा नै उत्पादित सामग्रीको निकासीलाई प्रवर्द्धन गर्नसके मात्र मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने धारणा व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले हस्तकला उद्योगबाट उत्पादन हुने वस्तुको बजार विस्तारका लागि आवश्यक नीति तथा कानुनलाई सरकारले सहजता दिनुपर्ने बताइन् ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हस्तकला मेलाले देशको मौलिक संस्कृति र हस्तकलाबीच रहेको सम्बन्धलाई थप उजागर गर्ने विश्वास व्यक्त गरिन् । उनले मेलाले हस्तकलाको आन्तरिक बजार विकासका साथै अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात प्रवर्धन गर्न सहयोग पुग्ने भन्दै नेपालको पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका रहेको बताइन् ।

नेपाल हस्तकला महासंघले आयोजना गरेको उक्त मेला मंसिर २७ गतेसम्म सञ्चालन हुने जनाइएको छ । मेलामा हस्तकलाका वस्तुहरूको १३० वटा स्टलहरू रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर