प्रदेश १ मा कांग्रेसको संसदीय दलको नेता बन्न सांसदहरुको दौडधुप सुरु – Nepal Press

प्रदेश १ मा कांग्रेसको संसदीय दलको नेता बन्न सांसदहरुको दौडधुप सुरु

विराटनगर । नेपाली कांग्रेसमा प्रदेश १ को संसदीय दलको नेता बन्न सांसदहरुबीच दौडधुप सुरु भएको छ । दौडमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की र कांग्रेस प्रदेश १ का सभापति उद्धव थापा अगाडि देखिएका छन् ।

प्रदेश सभापति थापा समानुपातिक सूचीबाट प्रदेश सांसद हुने तयारीमा छन् । बन्दसूचीको खस आर्यतर्फ पहिलो नम्बरमा रहेका थापा प्रदेश सांसद बन्ने पक्का छ । त्यसैले उनी संसदीय दलको नेता बन्ने दौडमा लागेका छन् ।

केन्द्रीय सदस्य अर्याल पार्टी सभापति शेरबहादुर देउवा निकटका हुन् । उनी प्रतिनिधिसभामा उम्मेदवार बन्न खोजेका थिए । त्यसवेला उनलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएर सभापति देउवाले मनाएको बताइन्छ । अर्याल मोरङ ५ (२) बाट विजयी भएका हुन् ।

कांग्रेस प्रदेश १ का सभापति थापा भने कांग्रेस नेता सिटौला नजिक मानिन्छन् । १४औं महाधिवेशनमा सिटौला देउवासँग निकट भएसँगै थापा संस्थापन पक्षबाट प्रदेश १ को सभापतिका उम्मेदवार भएका थिए । गुरुराज घिमिरेलाई हराएर उनी सभापति भएका हुन् ।

संसदीय दलको नेता बन्ने दौडमा रहेका केदार कार्की भने कांग्रेस नेता शेखर कोइराला निकट मानिन्छन् । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कार्की यसअघि नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतक भएका थिए । उनी मोरङ ६ (२) बाट प्रदेशसभामा विजयी भएका हुन् ।

कोइराला समूहबाट संसदीय दलको आकांक्षा राखेका राजीव कोइराला र गुरुराज घिमिरे निर्वाचनमा पराजित भएपछि कार्की निर्विकल्प उम्मेदवारका रुपमा देखिएका हुन् । कोइराला सुनसरी २ (२) र घिमिरे मोरङ ४ (१) मा पराजित भएका थिए ।

मन्त्री कार्कीले आफू कांग्रेस संसदीय दलको नेतामा उम्मेदवार बन्ने बताएका छन् । कार्कीले दलको नेता छान्ने प्रक्रियामा गएपछि उम्मेदवारको रुपमा मनोनयन गर्ने बताए ।

नेपाल प्रेससँग कुरा गर्दै कार्कीले भने, ‘स्वाभाविक रुपमा दलको नेतामा मेरो उम्मेदवारी हुनेछ ।’

कांग्रेस प्रदेश १ सभापति थापाले पनि आफू संसदीय दलको नेताको दावेदार भएको बताए । उनले थपे, ‘स्वाभाविक रुपमा दावा रहन्छ । प्रक्रियामा जाने हो ।’

केन्द्रीय सदस्य अर्यालले संसदीय दलको नेता बन्नु स्वाभाविक हुने बताउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर