सरकारबारे अदृश्य छलफल भएको छैन, एमालेलाई देखाएर बार्गेनिङ गरेको हुनसक्छ : विष्णु पौडेल (भिडिओ) – Nepal Press

सरकारबारे अदृश्य छलफल भएको छैन, एमालेलाई देखाएर बार्गेनिङ गरेको हुनसक्छ : विष्णु पौडेल (भिडिओ)

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही- २ बाट निर्वाचित सांसद विष्णुप्रसाद पौडेलले एमालेले सरकार बनाउने विषयमा कुनै तयारी र छलफल नगरेको बताएका छन् । उनले आफ्नो पार्टी सशक्त प्रतिपक्षमा बस्न तयार भएको बताए ।

‘गठबन्धनले टुक्राटुक्री जोडेर सरकार बनाओस्, चुनावमा जाँदा नै गठबन्धन गरेपछि पक्कैपनि सरकार बनाउनकै लागि होला भनेर बुझ्न सबैलाई सजिलो भएको छ, हामी सशक्त प्रतिपक्षमा बस्न तयार भएका छौं, जनमत त्यही आएको छ’, शुक्रबार बुटवलमा पत्रकारसँग पौडेलले भने ।

सरकारका लागि गठबन्धन गर्ने विषयमा कसैसँग केही कुराकानी नभएको र अहिले त्यो आवश्यकता महसुस पनि नगरेको उनले प्रष्ट्याए ।

‘हामीसँग कुरा गरेको भनेर कसैलाई कतै बार्गेनिङका लागि यस्ता कुरा बाहिर आएका हुनसक्छन्’, पौडेलले भने ।

वामपन्थी गठबन्धनको चर्चाबारे पौडेलले नेपालमा एमालेबाहेक कुनै वामपन्थी शक्ति नरहेको दाबी गर्दै दक्षिणपन्थी धारलाई बोकेर कम्युनिष्ट पार्टीविरुद्ध मोर्चा बनाउनेलाई वामपन्थी भन्न नमिल्ने बताए ।

जनमतले एमालेलाई प्रतिपक्षमा राखेकाले अहिले एमालेका लागि सरकार गठनको विषय प्राथमिकतामा नपरेको बताउँदै नेता पौडेलले सरकार बनाउने अदृश्य प्रयास नगरेको बताए ।

‘म पार्टीको उपाध्यक्ष हो, यसलाई आधिकारिक मान्नुहोस्, कुनै अदृश्य शक्तिसँग सरकार गठनका विषयमा छलफल भएको छैन, अहिले एमालेका लागि त्यो आवश्यक पनि छैन’, उनले भने । ने

बुटवलबाट अस्थायी संरचनामा प्रदेशका मन्त्रालयहरू सारिएकोमा पौडेलले प्रदेशसभाले गरेका निर्णयविरुद्ध प्रदेश सरकार जान खोज्नु हास्यास्पद भएको बताए ।

‘प्रदेश सभाको निर्णय कार्यान्वयन नगर्नु हास्यास्पद हो, स्थायी संरचना बनाएर स्थायी राजधानीमा जाने निर्णय प्रदेश सरकारले गरेको छ, यो विषयमा सबै अधिकार प्रदेश सरकारलाई नै छ’, उनले भने ।

अहिले आएको नयाँ राजनीतिक शक्तिको परीक्षण अब आउने संसदमा हुने बताउँदै नेता पौडेलले अहिले नै टिप्पणी गर्न हतार हुने बताए । एमाले प्रतिपक्षका रहेपनि यसअघि उठाएका विकासका योजनालाई निरन्तर फलोअप गर्ने र केही योजनालाई अगाडि सार्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर