देउवालाई समर्थन नगर्ने प्रदीप पौडेलको संकेत, भन्छन्- जनतालाई परिवर्तनको आभास दिनुपर्छ – Nepal Press

देउवालाई समर्थन नगर्ने प्रदीप पौडेलको संकेत, भन्छन्- जनतालाई परिवर्तनको आभास दिनुपर्छ

काठमाडौं । आमनिर्वाचनको मत परिणाम आएसँगै प्रधानमन्त्रीको कुर्सीरेस आरम्भ भइसकेको छ । भावी सरकारको नेतृत्व गर्ने आकांक्षा बोकेका नेताहरु विभिन्न ढंगले आफ्ना चाल चलिरहेका छन् ।

आकांक्षी जति भए पनि भावी प्रधानमन्त्रीको दौडमा अरुभन्दा निकै अगाडि देखिन्छन् हालका प्रधानमन्त्री शेरबहादुर देउवा । गठबन्धनले नै सरकारको नेतृत्व पाउने अवस्थामा पार्टीभित्र पनि देउवाको पोजिसन निकै बलियो छ । यद्यपि महामन्त्री गगन थापाले उनलाई चुनौती दिन खोजिरहेका छन् ।

पार्टीको संसदीय गणितमा थापाको पकड छैन । यद्यपि सांसदहरुले गुट बिर्सेर परिवर्तनका लागि आफूलाई मत दिने विश्वास उनले लिएका छन् । खासगरी युवा सांसदहरुप्रति उनको बढी आशा छ । यद्यपि कांग्रेसभित्र यसपटक संसदमा निर्वाचित नयाँ र युवा अनुहारमध्येका एक चर्चित नेता हुन् प्रदीप पौडेल । उनी काठमाडौं ५ बाट एमालेका हेभीवेट ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराउँदै पहिलोपटक सांसद बनेका हुन् ।

यसअघि उनी पार्टीको महाधिवेशनमा महामन्त्रीमा लडेर पराजित भएका थिए ।

प्रदीप र गगन एउटै छिमलका नेता पनि हुन् । विद्यार्थी राजनीतिबाट उदाएका उनीहरुबीच व्यक्तिगत सम्बन्धको आफ्नै पृष्ठभूमि छ । उमेरले प्रदीप जेठा भए पनि राजनीतिमा गगन अगाडि बढेका छन् । अहिले गगनले प्रधानमन्त्रीको आकांक्षा राखिरहँदा के प्रदीपले उनलाई समर्थन गर्लान् ।

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो गुट बिर्सेर गगनको पक्षमा वकालत गरिरहँदा प्रदीप भने मौन छन् । पार्टी महाधिवेशनमा कृष्ण सिटौलाको सिफारिसमा उनले देउवाको संस्थापन पक्षबाट प्रतिस्पर्धा गरेका थिए । यद्यपि अब प्रधानमन्त्री पदको प्रतिस्पर्धामा उनले देउवालाई समर्थन नगर्ने संकेत देखाएका छन् ।

नेपाल प्रेससँगको छोटो कुराकानीमा पौडेलले आफू यथास्थितिको पक्षमा नरहेको बताए । देउवाको विकल्पमा गगनलाई समर्थन गर्ने-नगर्ने विषयमा भने उनले गोलमटोल जवाफ दिए ।

यस्तो छ, नेता पौडेलसँगको संक्षिप्त सवालजवाफः

नेपाल प्रेसः कांग्रेसमा संसदीय दलको नेता बन्न दौड प्रारम्भ भएको छ । यसमा तपाईंको पोजिसन अब के हुन्छ ?

पौडेलः संसदीय दलका सदस्यहरु को-को हुन् पहिले टुंगो लागोस्, अनि बोलौला नि ! तपाईंहरु चुनाव अगाडिदेखि यही प्रश्न सोधिरहनुभएको छ ।

नेपाल प्रेसः टुंगो त अब करिब करिब लागिसक्यो नि ?

पौडेलः ठीक छ । यथास्थितिबाट चल्दैन, परिवर्तन हुनुपर्छ भनेर मैले भनेकै छु । त्यसको गणित कस्तो हुने, कसरी अगाडि बढ्ने भन्ने कुरा त संसदीय दलका सदस्यहरु को-को हुन् भनेर टुंगिन पर्‍यो । यो त म्याथम्याटिकल कुरा हो ।

नेपाल प्रेसः अहिले धेरैको चासो चाहिं तपाईंले गगन थापालाई खुलेर समर्थन गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने छ । यसमा केही बताउन मिल्छ ?

पौडेलः होइन, होइन । समर्थन गर्ने, विरोध गर्ने कुराभन्दा पनि यसको समय आउनुपर्छ । प्रक्रियामा पुग्नुपर्छ । प्रोसेसको कुरा हो नि त !

नेपाल प्रेसः गगन थापाले त घोषणा गरेर चुनावको तयारीमा लागिसक्नुभयो । अब पनि बोल्न मिल्दैन ?

पौडेलः यो उहाँको कुरा भयो । उम्मेदवार को-को भए त्यस आधारमा टिप्पणी गरिहाल्ने कुरा होइन नि त ! यसको पनि आफ्नै मर्यादा हुन्छ । आफ्नै उ हुन्छ । अब यथास्थितिबाट आशा सञ्चार गर्न सकिँदैन । निराशा अन्त्य गर्न सकिँदैन । परिवर्तनको अनुभूति गराउने गरी अगाडि बढ्नुपर्छ । ल यही हो मेरो (धारणा) ।

नेपाल प्रेसः भन्नाले देउवा फेरि दोहोरिन हुँदैन भन्ने तपाईंको मनसाय हो ?

पौडेलः अब तपाईंहरुलाई कस्तो ठ्याक्कै चाहियो भन्या ? कुरा बुझेर लेख्नुस् न ।

नेपाल प्रेसः हामीले मात्र बुझेर भएन । पाठकले पनि बुझ्नु पर्‍यो नि त ?

पौडेलः होइन, मैले सैद्धान्तिक रुपमा भनिसकें त । यथास्थिति हुँदैन भनेर । त्यो मैले निर्वाचनकै वेला भनेको छु । परिवर्तनको आभास हुने गरी अगाडि जानुपर्छ ।

नेपाल प्रेसः अहिले गगन थापासँग टचमा हुनुहुन्छ ?

पौडेलः कुराकानी हुने-नहुने त्यो आफ्नो ठाउँमा छ । उम्मेदवारले कुरा त गरिहाल्छन् नि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर