विक्रम लामा भन्छन्- नेदरल्यान्ड्स र क्रोएसियाको डिफेन्स बलियो तर ब्राजिल र अर्जेन्टिनाले जित्छन् – Nepal Press

विक्रम लामा भन्छन्- नेदरल्यान्ड्स र क्रोएसियाको डिफेन्स बलियो तर ब्राजिल र अर्जेन्टिनाले जित्छन्

काठमाडौं । फुटबलर विक्रम लामाले कतारमा जारी विश्वकप फुटबलअन्तर्गत शुक्रबार हुने क्वाटरफाइनलमा ब्राजिल र अर्जेन्टिनाले जीत हात पार्ने अनुमान गरेका छन् ।

नेदरल्यान्ड्स र क्रोएसियाको डिफेन्स निकै बलियो भए पनि फिनिसिङमा समस्या रहेको उनले बताए । नेदरल्यान्ड्सले अर्जेन्टिना र ब्राजिलले क्रोएसियासँग क्वाटरफाइनल खेल्दैछ ।

राष्ट्रिय फुटबल टोलीका प्रभावशाली पूर्वमिडफिल्डर तथा थ्रीस्टार क्लबका कप्तान लामा भन्छन्, ‘नेदरल्यान्ड्स र क्रोएसियाको डिफेन्स निकै कम्प्याक्ट छ । उनीहरुले बराबरीमा रोक्दै टाइब्रेकरसम्म खेल पुर्‍याए खेलको नतिजा जे पनि आउन सक्छ ।’

फुटबल खेलाडी संघका अध्यक्षसमेत रहेका लामाले क्रोएसियाको टीम सन्तुलित रहेको र सन्तुलित टीम निकै खतरनाक हुने बताए । ‘उनीहरु टीमका रुपमा खेलिरहेका छन् । हरेक खेलाडीको मेहनत उत्तिकै देखिएको छ’, लामाले भने ।

उनका अनुसार ब्राजिलको डिफेन्स निकै बलियो छ र विपक्षी डीबक्ससम्म तीव्र गतिमा बल पुर्‍याउन सक्ने क्षमता उनीहरु राख्छन् । भन्छन्, ‘ब्राजिलको समस्या केही छ भने उनीहरुको फिनिसिङमा हो । त्योबाहेक सबै राम्रो छ ।’

उनले अर्जेन्टिना निकै सन्तुलित रहेको र मेस्सीसँग मात्र निर्भर नरहेको बताए । ‘मेस्सीले गोल नगरे पनि अर्जेन्टिनाले खेल जित्न सक्छ भन्ने देखाएको छ । मेस्सीले भन्दा बढी मेहनत अरु खेलाडीले गरेको देखिन्छ । गोल नगरे पनि मेस्सीले अवसर सृजना गर्न सक्छन् । उनको अनुभव विपक्षीलाई निकै गाह्रो पर्नेछ’, उनले भने ।

लामाले आफू कुनै पनि टीमको समर्थक नरहेको र राम्रो खेल तथा खेलाडीलाई हेरेर र बुझेर सिक्ने गरेको बताए । शुक्रबारको खेलमा ब्राजिल बढीमा २-० गोलले विजयी हुन सक्ने उनको अनुमान छ।

‘पहिलो हाफमै ब्राजिलले गोल गर्‍यो भने उसले सजिलै खेल जित्नेछ। अर्जेन्टिना १-० वा टाइब्रेकरमा पुगेर विजयी हुनसक्छ’, लामाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *