सर्वोच्च अदालतको न्यायिक प्रक्रिया र पेसीमै जालसाजी – Nepal Press

सर्वोच्च अदालतको न्यायिक प्रक्रिया र पेसीमै जालसाजी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग निष्क्रिय भएको भन्ने संसद सचिवालयका महासचिव डा. भरतराज गौतमको निर्णय र सोबमोजिमको पत्रविरुद्ध परेको रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाइ तोकिएको छ ।

कानून व्यवसायीले संवैधानिक इजलास गठन र सुनुवाको पेसी तोक्ने प्रक्रियामाथि नै प्रश्न उठाउँदै यसलाई अदालतबाटै हुन लागेको जालसाजी तथा बलमिच्याइँ भनेका छन् । प्रधानन्यायाधीशविना संवैधानिक इजलास बस्दैन ।

अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा हुन् कि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की ? भन्ने प्रश्न पनि उठाएको छ । यद्यपि सर्वोच्च अदालतको वेबसाइटमा कार्की नै कामु प्रधानन्यायाधीश रहेको उल्लेख छ भने सर्वोच्च प्रशासनले चोलेन्द्रलाई प्रधानन्यायाधीश मानेको छैन ।

कार्कीको इजलासमा संवैधानिक इजलास बस्दै गर्दा मुद्दा पेसीको प्रक्रियामाथि भने प्रश्न उठेको छ । संसदका महासचिवको निर्णयविरुद्ध पूर्णमान शाक्यसहितको रिट बुधबार अबेरमात्र दर्ता भएको थियो ।

सर्वोच्च अदालतका रजिष्टारले अदालतभित्रै रहेको बैंक साढे ४ बजे खोल्न लगाएर मुद्दा दर्ताको दस्तूर बुझाउने वातावरण बनाई सो रिट दर्ता भएको थियो । जबकी सामान्यतः दिउँसो १ बजेपछि दर्ता भएका रिटको पेसी भोलिपल्ट तोकिँदैन । तर, यो मुद्दाको पेसी भने भोलिपल्टै अर्थात बिहीबार बिदा भएकाले शुक्रबारका लागि तोकियो ।

जबकी सुवास नेम्वाङ, विष्णु पौडेल र रामकृष्ण यादवको चुनावी जितविरुद्ध प्रतिस्पर्धी उम्मेदवारले संवैधानिक इजलासमा दर्ता गराएका रिटको पेसी तोकिएको छैन । तर, यो रिटलाई भने हतार-हतार दर्ता गराएर पेसी तोकियो । के अरु मुद्दाका रिट निवेदकले पनि अबदेखि १ बजेपछि दर्ता भए पनि सोही सुविधा पाउँछन् ? यो प्रश्न पनि उठेको छ ।

त्यसअघि बसेको फुलकोर्टले संसद सचिवालयका महासचिवको पत्रमाथि प्रश्नहरू उठाउँदै सर्वोच्च प्रशासनबाट संसदलाई पत्र पठाइएको थियो । फुलकोर्ट भनेको सबै न्यायाधीशहरू संलग्न बैठक हो । जब फुलकोर्ट नै सो पत्रविरुद्ध देखियो भने ती न्यायाधीशले सोही मुद्दा हेर्दा कस्तो आदेश आउँछ ? प्रष्टै छ ।

चोलेन्द्रलाई अदालत फर्किन नदिने उद्देश्यले नै सबै प्रक्रिया र नियमहरु मिचिएको आरोप लागेको छ । उता नेपाल बारले पोखरामा हुने मानवअधिकार सम्मेलन रोकेर सर्वोच्च गेटमा आन्दोलन गर्दैछ ।


प्रतिक्रिया

One thought on “सर्वोच्च अदालतको न्यायिक प्रक्रिया र पेसीमै जालसाजी

Leave a Reply to bharat kumar Thapa Cancel reply

Your email address will not be published. Required fields are marked *