हेटौँडा अस्पतालबाट पनि मिर्गौला प्रत्यारोपण थालिने – Nepal Press

हेटौँडा अस्पतालबाट पनि मिर्गौला प्रत्यारोपण थालिने

मकवानपुर । वागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरू हुने भएको छ । धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको व्यवस्थापनमा उक्त अस्पतालमा केही महिनाभित्रै मिर्गौलाको प्रत्यारोपणका लागि त्रिपक्षीय सम्झौता भएको हो ।

हेटौँडामा मिर्गौला प्रत्यारोपण गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशी, हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटा र धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा. पुष्करचन्द्र श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यस अस्पतालमा पूर्वाधार विकासका लागि वागमती सरकारले चालू आर्थिक वर्षमा आठ करोड अनुदान उपलब्ध गराएको छ ।

मिर्गौला प्रत्यारोपणका लागि आवश्यक कक्ष, बिरामी राख्ने कक्ष, आईसीयू कक्ष र दक्ष चिकित्सक उपलब्ध गराएर केही महिनाभित्रै पूर्वाधार निर्माण गरिसक्ने लक्ष्य छ । मिर्गौला प्रत्यारोपण गर्न सघाउन धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका चिकित्सक र स्वास्थ्यकर्मी हेटौँडा अस्पतालमा खटिने डा. सापकोटाले बताए ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर