ओलीलाई भेटेर आएकी करिश्मा भन्छिन्- एमाले र कांग्रेस मिलेर पाँच वर्ष सरकार चलाउनुपर्छ – Nepal Press

ओलीलाई भेटेर आएकी करिश्मा भन्छिन्- एमाले र कांग्रेस मिलेर पाँच वर्ष सरकार चलाउनुपर्छ

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति अभिनेत्री करिश्मा मानन्धरको आशक्ति सबैलाई थाहै छ । ओलीकै आकर्षणले एमाले प्रवेश गरेकी करिश्मा सार्वजनिक अभिव्यक्तिमा उनको गुणगान गाएर थाक्दिनन् ।

भर्खरै सम्पन्न प्रतिनिधिसभा चुनावमा उनका ‘आइडल म्यान’ ले सर्वाधिक मत ल्याएर जिते । करिश्मालाई आफैंले चुनाव जितेजस्तै खुशी छ । उनी वुधबार बालकोटस्थित ओलीको निवासमा फुलगुच्छा लिएर बधाइ दिन पुगिन् । अनि सामाजिक सञ्जालमा तस्बिर पोष्ट गरिन् ।

उनको तस्बिरसहित लेखेको स्टाटस यस्तो छः

‘हरेक भेटमा केही राम्रो सुन्न पाउँछु । वर्तमान स्थितिको ज्ञान र बुझाइ बिगत बनेर जान्छ । अगाडि बढ्नको लागि नयाँ–नयाँ ज्ञान र विचारको आविष्कार गर्नुपर्छ । त्यो ज्ञान पनि आविष्कार भएपछि विगत नै बन्छन् । अर्को नयाँ ज्ञान र विचारको खोज हुने क्रम जारी हुन्छ । यसरी नै मानव सभ्यता विकसित हुँदै अगाडि बढ्ने हो । नेकपा एमालेका आदरणीय अध्यक्ष केपी शर्मा ओली ज्युलाई शुभकामना दिने क्रममा मीठो भेटघाट ।’

नेपाल प्रेससँग थप कुराकानी गर्दै करिश्माले ओलीजतिको गतिलो नेता नेपालमा अर्को नभएको तर्क गरिन् ।

उनी भन्छिन्, ‘नेपालको अहिलेको परिपे्रक्षमा हेर्ने हो भने मलाई उहाँ जत्तिको बलियो र देशभक्त नेता कोही लाग्दैन । यदि ओली रहनुभएन भने मेरो अरु कोही प्रति पनि विश्वास रहँदैन ।’

देशमा नेताहरु जति भए पनि कर्मचारीतन्त्रले नै काम गर्नुपर्ने भएकाले अरुलाई सहज नभएको उनको बुझाइ छ ।

‘अहिले बालेनजी आउनुभयो । उहाँले विचारहरु त ल्याउनुहुन्छ, तर उहाँलाई एउटा प्रणालीमा आउन भने गाह्रो हुन्छ । कर्मचारीतन्त्रमा भिजेर काम गर्न सजिलो हुँदैन’, उनले भनिन् ।

व्यक्ति नयाँ पुरानो जो भए पनि सबैलाई समेटेर अगाडि बढ्ने खालको हुनुपर्ने मान्यता करिश्माको छ । यस्तो विशेषता ओलीमा बाहेक अरु कोही नदेख्ने उनी बताउँछिन् । मान्छेको जिवन अनिश्चित भए पनि देश र जनताको लागि केपी ओली सदैव बाच्नुपर्नेसमेत उनको भनाइ छ ।

करिश्माले थपिन्, ‘नेपालको परिपे्रक्ष र देशलाई माया गर्ने हकमा ओली सबैभन्दा सच्चा नेता हुनुहुन्छ । उहाँकै कारणले म एमाले प्रवेश गरेको हो । मेरो पहिल्यैदेखिको एउटा विश्वास भनेको उहाँले देश बनाउनुहुन्छ भन्ने हो ।’

देशप्रति सच्चा भएर कसले काम गरिरहेको छ भन्ने सबैले बुझ्नुपर्ने करिश्माले बताइन् । यस आधारमा अहिलेको सबैभन्दा सच्चा नेता ओली नै रहेको दावी उनको छ ।

यसपालिको चुनावमा धेरै कलाकारहरुले विभिन्न पार्टीबाट प्रतिस्पर्धा गरेका थिए । तर, अधिकांसले सुखद नतिजा निकाल्न सकेनन् । करिश्माले भने बाहिरै बसेर चुनावी प्रतिस्पर्धा नियालिन् ।

तपाईलाई चुनावमा कलाकारहरु भटाभट हार्नुको मुख्य कारण के जस्तो लाग्छ ? भन्ने प्रश्नमा गम्भीर हुँदै उनले उत्तर दिइन्, ‘यो हारजित भन्दा पनि मुख्य कुरा भनेको संगठन हो । संगठन बलियो भए सबै कुरा सम्भव र सहज छ ।’

उनले चुनावी नतिजाले पनि एमालेको जनतामाझ लोकप्रियताको पुनःपुष्टि गरेको तथा पार्टीको संगठन कति बलियो छ भन्ने देखाएको उल्लेख गरिन् । देशमा ‘टु पार्टी सिस्टम’ हुनुपर्ने विचार राख्दै उनले एमाले र कांग्रेसलाई एक हुन सुझाव पनि दिइन् ।

‘यदि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाको पार्टी मिलेर अघि बढ्दा स्थिर र राम्रो सरकार बन्छ भने एक हुनुस्,’ उनी भन्छिन्, ‘मैले बोल्दा ठूलो कुरा गरेजस्तो सुनिएला, तर देशको आवश्यकता यही नै हो ।’

कांग्रेस र एमाले मिलेर सरकार बनाए त्यो स्थिर र बलियो हुने उनको भनाइ छ । बरु दुई नेताहरु पालोपालो प्रधानमन्त्री बन्ने गरी सहमति गर्न उनले सुझाइन् ।

‘बरु मिलेर आधाआधा खानुस । आधा शेरबहादुर देउवाले खानुस, आधा केपी ओलीले खानुस् । देशलाई चाहिने लायक मान्छे भनेको नै उहाँहरु मात्र हो । अरु कोही पनि होइन,’ करिश्माले भनिन् ।

राजनीतिलाई देशको मेरुदण्ड बताउने करिश्मा पुराना राजनीतिज्ञहरु सुध्रिनु पर्नेमा जोड दिन्छिन् । फेसबुकका पोष्टहरुमा आफूलाई नानाथरी गाली आए पनि आफू राजनीतिमा सदैव सक्रिय रहने उनको अठोट छ ।

‘मेरो फेसबुकमा मलाई कति गाली आउँछ-आउँछ, तर म पछाडि कदापी हट्दिनँ । मलाई के गर्नु छ र ? खान–लाउन पुगेकै छ । एउटा रोटी आफै पकाएर खान सकिहाल्छु,’ उनले भनिन् ।

करिश्मा थप्छिन्, ‘म सँधै राजनीतिमा नयाँ सक्षम मान्छे आउनु पर्छ भन्ने मनसाय बोकेर हिँडेको मान्छे हो । बस यति हो कि त्यो आएको नयाँ नेतामा समग्र मुलुकको चिन्ता हुनुपर्यो । राजनीति भनेको मजाक हैन । देश चलाउनु जोक हैन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर