युवतीकाे आडले भारतीयलाई डान्सबारमा लुटपाट, सञ्चालकसहित ८ जना पक्राउ – Nepal Press

युवतीकाे आडले भारतीयलाई डान्सबारमा लुटपाट, सञ्चालकसहित ८ जना पक्राउ

युवतीको प्रलोभन देखाएर डान्सबार पुर्‍याएपछि भिडियो खिच्दै लुटपाट

काठमाडौं । काठमाडौंको मित्रनगरस्थित एक डान्सबारमा ग्राहकका रुपमा आएका भारतीयलाई कुटपिट गरि लुटपाट गरेको आरोपमा सन्चालकसहित ८ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले फ्याफुल्ला डान्सबारका सन्चालक भीमबहादुर तामाङसहितलाई पक्राउ गरेको हो । मंसिर १५ गते दुई जना भारतीयलाई कुटपिट गरेर उनिहरुसँग भएको पैसा लुटिएको उजुरी आएपछि उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर स्रोतले जानकारी दियो ।

ग्राहक बसेको ठाउँमा युवतीलाई पठाएर पछि ट्रयापमा पार्दै लुटपाट भएको उजुरी पटकपटक आउने गरेपछि प्रहरीले त्यस क्षेत्रमा सुक्ष्म निगरानी बढाएको थियो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई नयाँ बसपार्क बस्ने २५ वर्षीय सुनिल तामाङ , सिन्धुली घर भई कपन बस्ने २७ वर्षीय सहदेव तामाङ रहेका छन् ।

सिन्धुली घर भई काठमाडौं बस्दै आएका २९ वर्षीय जीवन तामाङ, २१ वर्षीय विश्वदीप तामाङ र २१ वर्षीय मुस्कान तामाङ तथा सिन्धुपाल्चोकका ३२ वर्षीय सम्शेर तामाङ र २० वर्षीय फर्वा तामाङ रहेका छन् ।

युवतीको प्रलोभन देखाएर डान्सबार पुर्‍याएपछि भिडियो खिच्दै लुटपाट

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उक्त डान्सबारमा युवती पाउने आशा देखाएर विभिन्न स्थानबाट भारतीयलाई त्यहाँ लगिने गरिएको पाइएको छ ।

यसरी ग्राहक खोज्नेले कमिसन पाउने गरेको प्रहरीको दावी छ। डान्स बारमा पुर्‍याएको केही समयमा विभिन्न धम्की दिएर आफुलाई लुटिएको र भिडियोसमेत खिचेको आरोप पीडितले लगाएका छन् ।

पक्राउ परेका व्यक्तिले आफूहरु तलबमा काम गर्ने भएको र सम्पूर्ण रकम सन्चालक तामाङलाई बुझाउने गरेको बयान दिएकाले डान्स बारकै योजनामा लुटपाट हुने गरेको पाइएको प्रहरीको दाबी छ ।

‘पीडितलाई तर्साउन उनीहरुको भिडियोसमेत खिच्ने गरेको पाइएको छ। पक्राउ परेकाको मोबाइलबाट भिडियोहरु बरामद भएको छ’, परिसरका एक अधिकारीले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर