विवाह भएको ८ महिनामा आत्महत्या, दाइजोको विषयमा यातना दिइएको माइती पक्षको आरोप – Nepal Press

विवाह भएको ८ महिनामा आत्महत्या, दाइजोको विषयमा यातना दिइएको माइती पक्षको आरोप

काठमाडौं । काठमाडौंको चन्द्रागिरी-२ चिसापानीमा एक युवती विवाह भएको ८ महिनामा झुन्डिएको अवस्थामा फेला परेकी छन् । २५ वर्षीया दीपा पराजुली सोमबार घर नजिकै बारीमा रहेको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

मृतकका माइती पक्षले दीपामाथि विगतमा दाइजो नल्याएको भन्दै यातना दिने गरेको भन्दै हत्याको आशंका गरेका छन् । माइती पक्षले मंगलबार प्रहरीमा कर्तव्य ज्यानसम्बन्धी जाहेरी दिएपनि प्रहरीले पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र थप अनुसन्धान अगाडि बढाउने बताएको थियो । स्रोतका अनुसार पोस्टमार्टममा आत्महत्या गरेको रिपोर्ट आएको छ ।

‘माइती पक्षले हत्या गरेको भनेर जाहेरी ल्याउनु भएको थियो । मृतकको शरिरमा कुनै चोटपटक नभएकाले पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र अनुसन्धान अगाडि बढ्ने बताएका थियौँ । अहिले अनौपचारिकरुपमा आत्महत्या गरेको रिपोर्ट आएको जानकारी प्राप्त भएको छ’, थानकोट प्रहरी वृत्तका एक अधिकारीले भने ।

बलम्बु घर भएकी दीपा र चिसापानीका सुन्दर थापाबीच गत वैशाखमा विवाह भएको थियो । केही समयको प्रेम सम्बन्धपछि उनीहरुको विवाह भएको प्रारम्भिक अनु्सन्धानका क्रममा पाइएको छ । प्रहरीका अनुसार सोमबार बिहान दीपा घरमा एक्लै थिइन् । श्रीमान पसलका लागि कलंकी आएका थिए भने सासु ससुरा पूजाका लागि बाहिर निस्किएका थिए ।

‘घरमा एक्लै भएको अवस्थामा दीपालाई सुन्दरले बिहान ११ बजेसम्म फोन गर्दा नउठेपछि आएर खोजेका रहेछन् । ३ बजेतिर नजिकै रहेको झाडीमा झुन्डिएको अवस्थामा दीपा भेटिएकी थिइन्’, ती अधिकारीले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर