हुलाकी राजमार्गको काम द्रुतगतिमा अघि बढाउन निर्देशन


विराटनगर । मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले रंगेलीदेखि रतुमाईको चौकी घाटसम्मको सडक चाँडै सम्पन्न गर्न निर्देशन दिएका छन् ।
नेकपा (एमाले) मोरङका अध्यक्षसमेत रहेका सांसद पोखरेलले दक्षिणी क्षेत्रको ‘लाईफलाईन’ सडकका रुपमा रहेको निर्माणाधिन हुलाकी राजमार्गको काम चाँडै सम्पन्न गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।
सांसद पोखरेलले आफ्नो निर्वाचन क्षेत्र भित्र पर्ने हुलाकी सडकखण्ड निर्माण कार्यका विषयमा चासो राखेर हुलाकी सडक आयोजना प्रमुख बिजय थापासँग कार्यप्रगती बारे जानकारी लिँदै काम द्रुत गतिमा अघि बढाउन निर्देशन दिएका हुन् । ‘यो हाम्रो लागि लाईफलाईन सडक हो । द्रुत गतिमा काम थालेर चाँडो भन्दा चाँडो निर्माण कार्य सम्पन्न हुनुपर्यो ।’
पोखरेलले आयोजना प्रमुख थापालाई निर्देशन दिँदै भने, ‘निर्माण कार्यको गुणस्तरमा पनि जनताको प्रश्न उठिरहेको छ । काममा तलमाथि नहोस् ।’
उनले हुलकी राजमार्ग अन्तर्गत सो क्षेत्रका मुख्य बजारहरुको सडकको चौडाई सय मिटर फराकिलो बनाउन दबाबसमेत दिएका छन् ।
पोखरेलको निर्देशनसँगै आयोजना प्रमुख र इन्जीनियरहरुको टोलीले निर्माणाधिन सडकको निरिक्षण गरेको छ ।