उँधौली : अन्नबाली उब्जाइदिएकाले पृथ्वीलाई धन्यवाद ज्ञापन गर्ने पर्व – Nepal Press

उँधौली : अन्नबाली उब्जाइदिएकाले पृथ्वीलाई धन्यवाद ज्ञापन गर्ने पर्व

किराती समुदायको महान् पर्व उँधौली सुरू भएको छ । यस पर्वलाई किराती समुदायले भव्यताका साथ मनाउने गर्छन् । यस पर्व उत्सवको रुपमा मनाइनुको खास आन्तर्य भनेको यस पर्वको कृषिसँग सम्बन्ध हुनु हो ।

कृषिसँग किराती सभ्यताको अन्योन्याश्रित सम्बन्ध भएका कारण यस पर्वको सम्बन्ध कृषि प्रणालीसँग जोडिएको छ । जब हामी बालीनाली उठाइसकेपछि उँधौली सिजन सुरू हुन्छ । पृथ्वीबाट बालीनाली प्राप्त गरिसकेपछि यस पृथ्वीलाई आराम दिनुपर्छ । पृथ्वीले हामीलाई बालीनाली उब्जाइदियो, अब भने उसले आराम गर्नुपर्छ र अर्को सिजन फेरि हाम्रा लागि बालिनाली उब्जइदिनुपर्छ भनेर यो पर्व मनाइन्छ ।

यस पर्वमा गाउँघरतिर सिली नाँचिदैन । ढोल, झ्याम्टा बजाइँदैन । यसको कारण भनेको पृथ्वीले आराम गरिहरेको बेला उसलाई डिस्टर्ब गर्नुहुन्न भन्ने मान्यता हो । यदि ढोल झ्याम्टा बजाएर, सिली नाचेर डिस्टर्ब गरियो भने अर्को सिजन बाली उब्जदैन भन्ने विश्वास किराती समुदायमा छ ।

तर, वैशाखमा मनाइने उँभौलीमा भने किराती समुदाय मज्जाले नाच्छन् ।

त्यसको अर्थ हो, ‘मंसिरदेखि अहिलेसम्म पृथ्वीलाई सुत्न दियौं । अब पृथ्वीलाई जगाउनुपर्छ । र मात्रै अन्नबाली उब्जाउन सकिन्छ ।’

त्यसैले उभौलीमा किराती समुदाय ढोल झ्याम्टा बजाएर सिली नाचेर हल्लाखल्ला गर्छन् ।

यो पर्व भनेको किराती समुदायलाई मोबिलाइज गर्ने संस्कृति पनि हो । उनीहरू अन्नपात सबैभन्दा पहिला पितृलाई चढाउँछन् । अनि पृथ्वीलाई चढाउँछन् । र भन्छन्, ‘पृथ्वी तिमीले हामीलाई बाँच्नका लागि अन्न दियौ, तिमीलाई धन्यवाद छ । पूर्खा तिमीले हामीलाई अन्न फलाइदियौ, तिमीलाई धन्यवाद छ ।’ यो पर्व भनेको पृथ्वी र पूर्खालाई आभार प्रकट गर्ने पर्व हो । पृथ्वी र पुर्खालाई धन्यवाद ज्ञापन गर्ने पर्व हो ।

मुन्दुममा पनि ल है उँधौली सुरू भयो । उँधौली लाग्यो । अब घाम पनि नरम भएर जान्छ । अब माछाहरु लेखबाट बेँसी झर्छन् । रुखका पातहरू झर्न थाल्छन् । चराहरू पनि उँधो जान थाल्छन् । यी र यस्ता प्रकृतिको सिजनको वर्णन गरिन्छ मुन्दुममा । सिजनहरुको वर्णन हुन्छ । वनजंगल, पशुपंक्षीको वर्णन हुन्छ । पर्यावरण कस्तो अवस्था छ, त्यसको पनि वर्णन हुन्छ ।

किराती समुदाय यस्तै फिलोसोफीका कारण प्रकृतिसँग घनिष्ठ छ । मान्छेले सबैभन्दा पहिला विकास गरेको सिद्धान्त पनि प्रकृतिसँगै सम्बन्धित छ । प्राकृतिक भौतिकवाद भन्छ । अर्कातिर जीवात्मवाद, आत्मावाद पनि भनेर भन्दा रहेछन् । मुन्दुमले भन्छ, यो रुखपात, ढुंगामाटो सबैसँग आत्मा छ । तिनीहरू सबै प्राण भएका मान्छेजस्तै चिज हो ।

मुन्दुमले सबैथोकसँग प्राण भएको बताउँछ । त्यसको खास अर्थ भनेको मान्छेभन्दा प्रकृति हजारौं गुणा शक्तिशाली छ भन्ने हो । त्यसवेला अहिलेजस्तो प्रकृतिलाई नियन्त्रण गर्न सक्ने ज्ञान मान्छेमा थिएन । त्यसैले प्रकृतिसँग सहकार्य गरेपछि मात्रै हाम्रो जीवन बाँच्न सक्छ भन्ने चिन्तनमा आधरित छ मुन्दुम । त्यो आदिम दर्शनलाई अहिलेसम्म पनि किराती समुदायले बोकिरहेका छन् ।

अहिलेको पूँजीवादले पृथ्वीलाई दोहनमात्रै गर्ने सोच्छ । कसरी अत्यधिक दोहन गर्न सकिन्छ, त्यसैगरी दोहन गर्छ यो पूँजीवादले । तर, मुन्दुमको फिलोसोफीले चाहिँ पृथ्वीको दोहन होइन, पृथ्वीसँग सहकार्य गर्नुपर्छ भन्छ । अहिलेको परिस्थितिमा पृथ्वी बचाउने हो भने यदि सहकार्यको अर्को विकल्प पनि देखिँदैन ।

किराती समुदाय रामेछापका जिरेल, सुरेल, थामी, हायूहरू हुँदै नेपालको पूर्वतर्फ फैलिएको छ । तर, पछिल्लो समय नयाँ पुस्ताको सोच र चिन्तनलाई पूँजीवादले प्रकृति दोहन गरेभन्दा बढी दोहन गरिरहेको अवस्था छ । उनीहरुको सृजाशीलता र ऊर्जालाई गाँजिरहेको छ । उनीहरुलाई प्रकृति र आफ्नो समुदायको दर्शनतिर फर्काउन राज्यले नै पहल गर्नुपर्ने देखिन्छ ।
राज्यबाट जातजातिको मूल्यमान्यताको आधारमा समान व्यवहार गर्ने नीतिगत व्यवस्था हुनुपर्‍यो । अनि मात्रै त्यस अनुसारको ज्ञान उत्पादन हुन्छ ।

अहिले पूँजीवादले उत्पादन गर्ने ज्ञान मात्रै छ हामीसित । हाम्रो आफ्नो ज्ञान छैन । त्यसका लागि स्थानीय, प्रदेश सरकारहरुले यस्ता खाले दर्शनहरु पठनपाठनमा सामेल गराउनुपर्छ । किनभने हामी प्रकृतिमा नफर्की धरै छैन । पूँजीवाद आफैंले यसको चरम विभेदकारी दर्शन र राजनीतिक स्वार्थलाई करेक्सन गर्दैछ । उसले विकल्पमा कल्याणकारी राज्य व्यवस्थाको अवधारणा ल्याएको छ । युनेस्कोले जमानामै जैविक विविधता सम्बन्धी घोषणा जारी गरेको रहेछ । त्यो घोषणपत्रले पनि प्रकृतिसँग सहकार्य गर्नुपर्छ भन्छ । यसरी हेर्दा अहिलेको समय पनि प्रकृतितिरै फर्कँदैछ । हामीले पनि फर्कन ढिला गर्नुहुन्न ।

(मुन्दुम अध्येता भोगीराज चाम्लिङसँग नेपाल प्रेसले गरेको कुराकानीमा आधारित)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *