निसन्तान दम्पतीलाई आईभीएफबाट तिम्ल्याहा – Nepal Press

निसन्तान दम्पतीलाई आईभीएफबाट तिम्ल्याहा

काठमाडौं । विवाहको लामो समयसम्म पनि सन्तान नभएपछि सर्लाहीको बलराका ४५ वर्षीय विनोदकुमार झा र उनकी पत्नी रेखादेवी चिन्तामा थिए । विनोदले ३८ वर्षीया रेखालाई लिएर सन्तान प्राप्तिको उद्देश्यले झारफुकदेखि उपचारका लागि धेरै ठाउँ भौतारिए ।

भ्याएसम्म, आफूले थाहा पाएसम्म र आफन्तले सुझाएसम्मका सबै ठाउँमा पुग्दा र सबै खालका उपाय लगाउँदा समेत यो दम्पतीले सन्तान पाउन सकेन । त्यसपछि उनीहरु नर्भिकको आईभीएफ सेन्टर पुगे । आईभीएफ सेन्टरमा टेष्टट्यूव बेबी प्रविधिबाट सन्तान प्राप्तिका लागि उनीहरूले गरेको प्रयास पहिलोपटकमै सफल भएको छ । रेखाले एकैपटक ३ सन्तानलाई जन्म दिएकी छन् ।

‘मेरो जीवन र परिवारमा उज्यालो छाएको छ । हामी औधी खुशी छौं,’ तिम्ल्याहा सन्तानका बाबु बनेका विनोदले बिहीबार भने, ‘सन्तानविहीनताको लामो रिक्तता अन्त्य भएको छ । अब मेरो परिवार पूर्ण भएको छ ।’

रेखा भने शल्यक्रियामार्फत जन्मिएलगत्तै एनआइसीयूमा राखिएका आफ्ना तिम्ल्याहा बच्चाहरुको प्रतीक्षामा छिन् ।

‘डा. गणेश साहले बच्चाहरुको अवस्था राम्रो हुँदैछ, चाँडै दिने भन्नुभएको छ,’ उनले भनिन्, ‘बच्चाहरू पाएको दिन म झनै खुशी हुन्छु ।’ वरिष्ठ बालरोग विशेषज्ञ डा. साह नेतृत्वको टीम तिम्ल्याहा बच्चाहरूको उपचारमा संलग्न छ ।

झादम्पती करिब एक वर्षअघि उपचारका लागि नर्भिकको आईभीएफ सेन्टरमा आएका थिए । उनीहरूलाई विशेषज्ञ सेवा वरिष्ठ स्त्रीरोग एवम् टेष्टट्यूव बेबी विशेषज्ञ डा. नूतन शर्माले दिएकी थिइन् । उनकै निगरानीमा रहेर झाले आईभीएफबाट तिम्ल्याहा सन्तान प्राप्ति गरेकी हुन् ।

झा दम्पतीले पहिलो प्रयासमै आईभीएफबाट सन्तान प्राप्त गरेको डा. शर्माले बताए ।

नर्भिक इन्टरनेसनल हस्पिटलमा शल्यक्रियामार्फत तीनवटै बच्चा निकालिएको डा. शर्माले बताइन् । उनका अनुसार आमा र बच्चाहरूको अवस्था हाल सामान्य रहेकाले एक-दुई दिनभित्रै डिस्चार्ज गर्ने तयारी गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *