भरत खवास भन्छन्- ब्राजिल र फ्रान्स मनपर्ने टोली तर अर्जेन्टिनाले जितेपनि खुसी – Nepal Press

भरत खवास भन्छन्- ब्राजिल र फ्रान्स मनपर्ने टोली तर अर्जेन्टिनाले जितेपनि खुसी

काठमाडौं । फुटबलर भरत खवासले कतारमा जारी विश्वकपमा ब्राजिल र फ्रान्स फाइनल पुग्ने अनुमान गरेका छन् । क्वाटरफाइनलबाट फ्रान्स, अर्जेन्टिना, पोर्चुगल र ब्राजिल पुग्ने यी नेपाली सेनाका क्याप्टेनको अनुमान छ । कहिले ब्यारेकभित्रै त कहिले फुटबलकै पूर्वसहकर्मीसँग बसेर विश्वकपका प्राय खेलहरू हेरिरहेका उनको एक्साइटमेन्ट बढ्दो छ ।

‘हामी सानै छँदा फ्रान्स र ब्राजिलको रजगज थियो । उनीहरूका खेलाडीले विश्व हल्लाइरहेका थिए’, नेपाली राष्ट्रिय फुटबल टोलीका प्रभावशाली पूर्वप्लेमेकर भन्छन्, ‘त्यसैको गहिरो प्रभाव हामीलाई पर्‍यो । एन्फा एकेडेमीमा बसेर फुटबल सिकिरहेका बेला रोनाल्डो, रोनाल्डिन्हो, जिनेदिन जिदानलगायतका कारण ब्राजिल र फ्रान्स मनमस्तिस्कमा बस्यो ।’

पछिल्लो लयका कारण ब्राजिल र फ्रान्स नै यसपटक फाइनलमा पुग्नसक्ने उनी बताउँछन् ।

‘ब्राजिलको बेन्च पनि उत्तिकै राम्रो छ । कोही एक खेलाडीमा निर्भर देखिँदैन । त्यसैले क्रोएसियासँग जितेर सेमिफाइनल पुग्छ भन्ने मेरो अनुमान हो’, नेपाली सेनाका क्याप्टेन खवास भन्छन्, ‘ नेदरल्यान्ड्स पनि राम्रो टिम हो तर अर्जेन्टिना जितेर सेमिफाइनल पुग्छ जस्तो लाग्छ। सेमिफाइनलमा ब्राजिल र अर्जेन्टिना भिड्ने भएकाले मन पर्ने टिम नै अगाडी बढोस् भन्ने मेरो चाहना हो तर अर्जेन्टिनाले जितेपनि खुसी नै हुनेछु । मेस्सी अद्वितीय क्षमताका खेलाडी हुन् । उनले अरु सबैले गर्न सक्ने गर्छन् तर उनले गर्न सक्ने सबै अरुले गरेको देखिँदैन । उनलाई विश्वकप जिताउन सारा टिम लागेको जस्तो देखिन्छ, अर्जेन्टिनाका लागि हैन की मेस्सीका लागि ।’

सिनियर अन्तर्राष्ट्रिय फुटबलमा १० गोल गरेका खवास मेस्सीले विश्वकप जितेको अवस्थामा पेले वा म्याराडोना समान वा त्योभन्दा माथीको हैसियत बनाउने बताउँछन्। यता मेस्सीका समकालीन प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगल पनि सेमिफाइनल पुग्न सक्ने उनको अनुमान छ ।

‘यो प्रतियोगितामा अनपेक्षित नतिजाहरु आइरहेका छन्। तर फुटबलमा एउटा खेलाडीको नामको प्रभाव पनि ठुलो हुन्छ। हुन त रोनाल्डोको लागि यो विश्वकप सोचेजस्तो भइरहेको छैन। क्लबमा सम्बन्ध राम्रो भएको र खेल्न पाएको भए अहिले राम्रो खेल्न सक्थे की । धेरैले उनको सन्याशबारे सोच्न थालेका छन्’, त्रिभुवन आर्मी क्लबका कप्तानसमेत रहेका खवास भन्छन् । पोर्चुगल अगाडि बढेपनि सेमिफाइनलमा फ्रान्ससँग खेल्न सक्ने भएकाले फाइनल पुग्ने सम्भावना आफूले कम देखेको उनले बताए ।

फ्रान्स उच्च लयमा रहेको र उपाधि रक्षा गर्न सक्षम रहेको उनको बुझाई छ।

‘अग्रपंक्तिले निकै राम्रो खेलिरहेको छ । डेम्बेले र एमबाप्पेलाई रोक्न विपक्षीलाई गाह्रो हुन सक्छ । गोलरक्षक र डिफेन्डर पनि अनुभवी छन्’, खवासले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *