नेकपा एसको गणित : प्रत्यक्षमा गठबन्धनका कारण फलिफाप, समानुपातिकमा पत्तासाफ (२० क्षेत्रकै सूची) – Nepal Press

नेकपा एसको गणित : प्रत्यक्षमा गठबन्धनका कारण फलिफाप, समानुपातिकमा पत्तासाफ (२० क्षेत्रकै सूची)

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धन माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई फलिफाप भएको छ । थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल बन्न असफल भए पनि एकीकृत समाजवादीले प्रत्यक्षमा १० सीट जितेको छ ।

गठबन्धन गरेर निर्वाचनमा जाँदा ‘भोट ट्रान्सफर’ नभएर गुनासो गर्दै आएको नेकपा एसलाई सबैभन्दा धेरै फाइदा भएको हो । नेकपा एसले समानुपातिकतर्फ २ लाख ९८ हजार ३९१ मतमात्रै ल्याएको छ । तर, राष्ट्रिय दल बन्न असफल भयो ।

गठबन्धनबाट ९१ सीटमा उम्मेदवारी दिएको कांग्रेसले ५७ क्षेत्र जितेको छ । ४६ क्षेत्रमा उम्मेदवारी दिएको माओवादीले १८ सीटमात्रै जितेको छ । तर, कमजोर जनमत भएको नेकपा एस १९ सीटमा उम्मेदवारी दिएर १० क्षेत्रमा जीत निकाल्न सफल भयो ।

रौतहट १ मा अध्यक्ष माधवकुमार नेपालले ३३ हजार ५२२ मत ल्याएर विजयी हुँदा समानुपातिकमा ९ हजार ५७८ मतमात्रै ल्याएको छ ।

बारा ४ मा किसान श्रेष्ठ ३० हजार ३४१ मत ल्याएर विजयी बने । तर, समानुपातिकमा त्यो क्षेत्रमा पार्टीले ४ हजार ६९१ मतमात्रै ल्यायो ।

धादिङ १ मा राजेन्द्र पाण्डेले ३६ हजार १८ मत ल्याउँदा समानुपातिकमा पार्टीले ६ हजार ३५ मतमात्रै ल्यायो । दाङ १ मा मेटमणि चौधरीले २६ हजार ५७६ मत ल्याउँदा पार्टीले समानुपातिकमा ३ हजार २१८, सल्यानमा प्रकाश ज्वालाले ३५ हजार ७०७ मत ल्याउँदा समानुपातिकमा ५ हजार ९७० मतमात्रै ल्याएको छ ।

यस्तै डोल्पामा धनबहादुर बुढा ११ हजार २९२ मत ल्याएर निर्वाचित हुँदा पार्टीले समानुपातिकमा १ हजार ८२४, दैलेख १ मा अम्बरबहादुर थापाले १८ हजार २९७ मत ल्याउँदा समानुपातिकमा ३ हजार १६६, बझाङमा भानुभक्त जोशीले २८ हजार ४१३ मत ल्याएर विजयी हुँदा समानुपातिकमा ५ हजार १ मतमात्रै पाएको छ ।

अछाम १ मा शेरबहादुर कुँवरले १९ हजार ५३४ मत ल्याउँदा समानुपातिकमा २ हजार ७४७, डोटीमा प्रेम आलेले २७ हजार २१० मत ल्याउँदा समानुपातिकमा २ हजार ३७३ मत ल्याएको छ ।

गठबन्धनबाट सबै सीटमा ‘भोट ट्रान्सफर’ हुँदा पनि कमजोर जनमत भएकै कारणले नेकपा एस समानुपातिकतर्फ पत्तासाफ भएको छ । समानुपातिकबाट राष्ट्रिय दल नबने पनि प्रत्यक्षमा गठबन्धनबाट सबैभन्दा धेरै लाभ नेकपा एसले नै पाएको छ । तैपनि पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडा आफूहरुले सोचजस्तो मत ल्याउन नसकेको टिप्पणी गर्छन् ।

उनी भन्छन्, ‘चुनावी परिणाम हामीले सोचेजस्तो नआएको बैठकबाट निष्कर्ष निकालेका छौं । तर, अहिलेकै गठबन्धनलाई कायम राखेर अघि बढ्नुको विकल्प छैन । गठबन्धनबारे आवश्यक समीक्षा हुन्छ ।’

हारेका क्षेत्रमा पनि उल्लेख्य ‘भोट ट्रान्सफर’

गठबन्धनबाट जितेको ठाउँमा मात्रै नभएर नेकपा एसका उम्मेदवार पराजित क्षेत्रमा पनि गठबन्धनबाट उल्लेख्य ‘भोट ट्रान्सफर’ भएको छ ।

इलाम १ बाट सम्मानित नेता झलनाथ खनाल पराजित भए । धाँधली भएको भन्दै उनले अझै परिणाम स्वीकारेका छैनन् । नेता खनालले २३ हजार ८९ मत ल्याउँदा पार्टीले समानुपातिकतर्फ ८ हजार २१ मतमात्रै ल्याएको छ ।

पार्टीका वरिष्ठ नेता सोमप्रसाद पाण्डे पाल्पा २ मा पराजित भए । उनले २४ हजार ८९९ मत ल्याए । तर, समानुपातिकतर्फ सो क्षेत्रमा १ हजार ३०६ मतमात्रै पार्टीले ल्याएको छ ।

मकवानपुर २ मा विरोध खतिवडाले ३० हजार ४३२ मत ल्याउँदा समानुपातिकमा २ हजार ५९० मतमात्रै पाएको छ । काठमाडौं ८ मा जीवनराम श्रेष्ठले ४ हजार ८८१ मत ल्याउँदा समानुपातिकमा पार्टीले १ हजार १६९, उदयपुर २ मा जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत ल्याउँदा समानुपातिकतर्फ २ हजार २३५ मत ल्याएको छ ।

यस्तै कास्की २ मा श्रीनाथ बरालले ९ हजार ६५९ मत ल्याउँदा समानुपातिकमा १ हजार १७७, ललितपुर २ मा कृष्णलाल महर्जनले ८ हजार २६४ मत ल्याउँदा समानुपातिकमा १ हजार ५७८, गुल्मी २ मा रामकुमारी झाँक्रीले २६ हजार ४४१ मत ल्याउँदा समानुपातिकमा १ हजार ६०३ मत ल्याएको छ ।

सिराहा ४ मा धर्मनाथप्रसाद साहले १४ हजार ६५३ मत पाउँदा समानुपातिकमा ३ हजार ८६ र धनुषा २ मा गठबन्धनबाटै मित्रवत प्रतिस्पर्धा गरेका रामचन्द्र झाले १३ हजार ६०५ मत ल्याउँदा समानुपातिकमा त्यही क्षेत्रमा ८ हजार ८२ मत प्राप्त गरेको छ ।


प्रतिक्रिया

One thought on “नेकपा एसको गणित : प्रत्यक्षमा गठबन्धनका कारण फलिफाप, समानुपातिकमा पत्तासाफ (२० क्षेत्रकै सूची)

  1. भारतको दलाली गर्न र एमालेलाई अघि बढन निदन बनाईएको एस हो । यो कुनै पार्टी नै होईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर