गगनलाई समर्थन गर्नेबारे शेखर कोइराला: ए बाबा ! भर्खर त छलफल गर्दैछौं – Nepal Press

गगनलाई समर्थन गर्नेबारे शेखर कोइराला: ए बाबा ! भर्खर त छलफल गर्दैछौं

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा पूर्ण मतपरिणाम आएसँगै अब नयाँ सरकार गठनमा सबैको ध्यान केन्द्रित देखिएको छ । चुनावी परिणामका आधारमा गठबन्धनकै सरकारले निरन्तरता पाउन सक्ने तथा फेरि शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्न सक्ने आँकलनहरू भइरहेका छन् ।

चुनावअघि कांग्रेसमा भावी प्रधानमन्त्रीका आधा दर्जन प्रत्याशीहरू थिए । उनीहरूमध्ये अहिले देउवा ‘बाइ डिफल्ट’ भावी प्रधानमन्त्रीको दावेदार छन् भने संस्थापनइतरमा रामचन्द्र पौडेल र गगन थापाको बढी चर्चा छ । पौडेलले देउवालाई फकाएर संसदीय दलको नेता बन्ने प्रयास गरिरहेकोमा गगन भने उनीसँग भिड्ने मुडमा देखिन्छन् ।

तर, के गगनले देउवालाई बलियो चुनौती दिन सक्छन् ? धेरैले पत्याइरहेका छैनन् । कांग्रेसका सिनियर नेताहरू कोही पनि उनको पक्षमा खुलेका छैनन् । उमेर र राजनीतिक करिअरको हिसाबले गगनलाई कांग्रेसका हस्तिहरू ‘फुच्चे’ नै ठान्छन् । त्यसैले आफूहरूको पालो नआउँदै गगनलाई कसरी प्रधानमन्त्री दिन सकिन्छ भन्ने मानसिकता धेरैको छ ।

अरु त अरु, कांग्रेसमा गगनको आफ्नै विचार समूहभित्र पनि उनको पक्षमा माहोल बनेको छैन । पार्टीको महाधिवेशनमा गगनले संस्थापन इतर समूहका शेखर कोइरालाको प्यानलबाटट उम्मेदवारी दिएका थिए । कोइराला देउवासँग पराजित हुँदा गगन भारी मतले विजयी भए । महाधिवेशनपछि चुनावअघिसम्म पनि कोइराला गुट ‘इन्ट्याक्ट’ नै थियो । तर, चुनाव सकिएर प्रधानमन्त्रीको संघर्ष सुरू भएसँगै यो गुट तितरबितर देखिएको छ ।

गुटका अगुवा शेखर कोइराला आफैं भावी प्रधानमन्त्रीका आकांक्षी थिए । तर, यतिबेला उनी अन्यमनस्क देखिएका छन् । न आफूलाई दाबेदारका रूपमा प्रस्तुत गरिरहेका छन्, न गगनलाई समर्थन जनाएका छन् । पछिल्ला अभिव्यक्तिहरू हेर्दा उनले गगनलाई नस्वीकार्ने स्पष्ट संकेत देखिएको छ । ‘हिजोको फुच्चे’ लाई कसरी स्वीकार्ने भन्ने लघुताभास उनमा पनि छ ।

नेपाल प्रेसले कोइरालासँग फोन सम्पर्क गर्दा उनले यो विषयमा कुराकानी गर्न नै झर्को माने । उनले भावी प्रधानमन्त्रीका विषयमा आफूहरू कुनै निष्कर्षमा नपुगेको बताए ।

कोइरालासँगको संक्षिप्त संवाद यस्तो छः

नेपाल प्रेसः कांग्रेस संसदीय दलको चुनावमा तपाईंको विचार समूहबाट गगन थापाले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । यसमा तपाईंको समर्थन रहन्छ कि रहन्न ?

कोइरालाः अहिले केही ऊ छैन । हामी छलफल गर्दैछौं । समर्थन र उसको कुरा भन्दा पनि हामी छलफल गर्दैछौं, कसरी जाने के गर्ने भनेर ।

नेपाल प्रेसः छलफल भन्नाले आफ्नो विचार समूहभित्र कि संस्थापन पक्षसँग ?

कोइराला : आफ्नै समूहमा । त्यताबाट त अब शेरबहादुर उठ्दै हुनुहुन्छ नि ।

नेपाल प्रेसः तपाईंहरूको समूहबाट गगन थापा संसदीयद दलको नेताको उम्मेदवार भन्ने चाहीँ क्लीयरकट छैन है ?

कोइरालाः उहाँले (दाबेदारी) प्रस्तुत गर्नुभएको छ । हाम्रोबाट त्यस्तो भएको छैन । छलफल गर्दैछौं । हेरौं न के हुन्छ ।

नेपाल प्रेसः गगन थापासँग तपाईंको व्यक्तिगतस्तरमा कुराकानी भएको छ ?

कोइरालाः भइराख्या छ । मेरो कुरा भइराख्या छ । दुई-तीन चोटि भइसक्यो ।

नेपाल प्रेस : कतिपयले तपाईंलाई पनि प्रधानमन्त्रीको एक आकांक्षीका रूपमा लिइरहेका छन् । यो कति सत्य हो ?

कोइरालाः ए बाबा प्रधानमन्त्री बन्न पहिले संसदीय दलको नेता बन्नुपर्‍यो नि ।

नेपाल प्रेसः त्यही त । तपाईं संसदीय दलको नेता बन्न प्रतिस्पर्धा गर्नुहुन्छ कि गर्नुहुन्न ?

कोइराला : सुन्नुस् न, संसदीय दलको नेता हुन संख्या हुनुपर्‍यो । त्यो सबै कुरा विचार गर्नुपर्‍यो नि । अहिले हेरौं न । म छलफल गर्दैछु जाने भनेर ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर