हुम्लाका याल्वाङवासी भन्छन्: पालिका कार्यालय गाउँमै हुनुपर्छ – Nepal Press

हुम्लाका याल्वाङवासी भन्छन्: पालिका कार्यालय गाउँमै हुनुपर्छ

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीले पालिकाको कार्यालय केन्द्र याल्वाङमै सार्न माग गरेका छन् । पत्रकार महासङ्घ हुम्लाको सहजीकरणमा आयोजना गरिएको गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनीहरूले स्थानीय जनताको सेवाका लागि स्थापना गरिएको कार्यालय गाउँमै राख्न आग्रह गरेका हुन् ।

सुविधा भोगी कर्मचारी र जनप्रतिनिधिले आफ्नो सहजता र आरामका लागि सदरमुकाममा सम्पर्क कार्यालय खोलेर काम गरेकाले स्थानीयलाई असहज भएको भन्दै तत्काल कार्यालय स्थानीय तहमै सार्नुपर्नेमा स्थानीयको जोड छ । तत्काल सम्पर्क कार्यालय बन्द गर्न नाम्खा गाउँपालिका–४ का पेमा डम्डुल लामाले माग गरे ।

कानुनविपरीत स्थानीय सरकारको महसुसै नहुने गरी सुविधा भोगी कर्मचारीको कारण स्थानीय सरकारको बजेटसमेत महँगो भाडामा खर्च गरेको र स्थानीय सेवाग्राहीले सास्ती खेप्नुपरेको उनको भनाइ छ ।

तत्काल कार्यालय स्थानीय तहमै नसारे माथिल्लो निकायसम्म हारगुहार गर्ने सेवाग्राहीले माग गर्नुभयो । यो गाउँगाउँमा सिंहदरबार भन्ने कुरालाई खिल्ली उडाएको आरोप लगाएका छन् ।

नाम्खा गाउँपालिकाका स्थानीयले गाउँपालिकाबाट लिनु पर्ने सेवा एकदेखि दुई दिन पैदल हिँडेर सदरमुकाम सिमकोट आएर लिनुपर्ने बाध्यता भएको छ । सिमकोटको कार्यालय बन्द गरेर तत्काल गाउँपालिकाको केन्द्र यालवाङ्मा कार्यालय राख्नु सेवाग्राही दावा छिरिङ तामाङले माग गरे ।

योजनाको सिफारिस गर्न, सम्झौता गर्न, भुक्तानी लिन हाल सेवाग्राहीले सदरमुकाम धाउनु पर्दा भौतिक कष्ट र आर्थिकरूपमा समेत भार भोग्नुपरेको उहाँको भनाइ छ । सेवाग्राहीको मागबारे बोल्दै गाउँपालिका अध्यक्ष प्रेम लामाले बाध्यता र परिस्थितिले गर्दा अहिले सदरमुकाम सिमकोटमा रहेको सम्पर्क कार्यालय काम गर्नुपरेको बताउँदै पन्छिएका छन् ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर