औद्योगिक क्षेत्रमा भाडा वृृद्धिविरुद्ध तालाबन्दीको चेतावनीसहित ज्ञापनपत्र


रुपन्देही । बुटवल औद्योगिक क्षेत्र उद्योग संघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मनोमानी ढंगले जग्गाको भाडा वृद्धि गरेको भन्दै चरणबद्ध आन्दोलनको घोषणासहित ज्ञापनपत्र बुझाएको छ ।
नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले तय गरेको चरणबद्ध आन्दोलनको कार्यक्रमको जानकारी सहितको ज्ञापनपत्र संघले बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा बुझाएको हो । संघका अध्यक्ष हिरामणी भट्टराईको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले लिमिटेडका प्रशासन अधिकृत जीवनारायण बञ्जाडेलाई ज्ञापनपत्र बुझाइएको थियो ।
सो अवसरमा अध्यक्ष भट्टराईले उद्योगिहरुको असहमति र नियम विपरीत भाडा बृद्धि गरेर उद्योग बन्द गराउने योजनामा व्यवस्थापन लागेको आरोप लगाए । उनले भाडाको बारेमा समस्या समाधान गर्न समिति बनाएर काम भैरहेको अवस्थामा बलजफ्ती बढाइएको भाडा आफूले नतिर्ने र उक्त कदमका विरुद्ध चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिए ।
संघका पूर्वअध्यक्ष एवम् लुम्बिनी उद्योग परिसंघका अध्यक्ष एजाज आलमले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको बर्तमान नेतृत्व औद्योगिक क्षेत्रको विकासका लागि नभएर विनासका लागि काम गरिरहेको आरोप लगाउँदै त्यसका विरुद्ध कुनै पनि प्रकारको आन्दोलनबाट उद्योगीहरु पछाडि नहट्ने बताए ।
ज्ञापनपत्र बुझ्दै लिमिटेडका प्रशासन अधिकृत जीवनारायण बञ्जाडेले औद्योगिक क्षेत्रको जग्गाको लामो समयदेखि भाडा वृद्धि नभएको र अहिले समयसापेक्ष वृद्धि गरिएको दावी गर्दै त्यसलाई कार्यान्वयन गर्न सहयोग मागेका थिए । उनको त्यो भनाईप्रति ज्ञापनपत्र बुझाउन पुगेको प्रतिनिधिमण्डलले असहमति जनाउँदै उद्योगीहरुले कुनै प्रकारका शुल्क नतिर्ने चेतावनी दिएका थिए ।
संघले महासंघले तय गरेको कार्यक्रम अनुसार एक हप्तासम्म आफ्नो मागको सुनुवाई नभएमा व्यवस्थापकको कार्यकक्षमा तालाबन्दी, कार्यालय र उद्योगहरुमा कालो झण्डा तथा उद्योगले लिमिटेडलाई कुनै पनि किसिमको भाडा महशुल तथा शुल्क भुक्तानी रोक्का गर्ने जनाएको छ ।