धनराज गुरुङको प्रतिवाद : ज्यूँदा मान्छेलाई मरेको भनेर दुष्प्रचार गरे, सुशासनको एजेन्डाले जितेको हुँ – Nepal Press
नेपाल टक

धनराज गुरुङको प्रतिवाद : ज्यूँदा मान्छेलाई मरेको भनेर दुष्प्रचार गरे, सुशासनको एजेन्डाले जितेको हुँ

काठमाडौं । कांग्रेसका चर्चित नेता धनराज गुरुङले प्रतिनिधिसभा चुनावमा स्याङ्जा २ बाट विवादित जित हासिल गरे । प्रतिस्पर्धी एमालेकी पद्मा अर्याललाई फराकिलो मतान्तरले हराए पनि गुरुङमाथि विभिन्न आरोप लागिरहेका छन् ।

चुनाव लगत्तै यस क्षेत्रका विभिन्न मतदान केन्द्रमा बुथ क्याप्चर भएको भन्दै विवाद उब्जेको थियो । खासगर, चापाकोट नगरपालिकाका चार वटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरेर फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र स्वतन्त्र पार्टीले पुन मतदानको माग गरेका थिए । तर, निर्वाचन आयोगको टोली आएर स्थलगत अध्ययनपछि कतै पनि पुनः मतदान गर्नु नपर्ने प्रतिवेदन दियो । अनि, ढिला गरी मतगणना सुरु भएको हो ।

एमालेकी उम्मेदवार पद्मा अर्यालले मरेका र बिदेसिएका नागरिकको नाममा समेत मत खसालेर धाँधली गरिएको आरोप लगाएकी थिइन् । मत खसालेकाहरूको सूचीसमेत सार्वजनिक गरिएको थियो, जसमा सयौँ मृतकहरूको नाम रहेको अर्यालको दाबी छ । तर, आयोगले मतदानलाई सदर गरिदिएपछि पुन मतदान भएन । अन्ततः गुरुङले नै विजय प्राप्त गरे ।

मत परिणामपछि अहिले गुरुङ विजय उत्सवमा व्यस्त छन् । बुधवार नेपाल प्रेसले सम्पर्क गर्दा उनी मतदातालाई धन्यवाद दिँदै घरदैलो गरिरहेका थिए । थोरै समय निकालेर उनले हाम्रा जिज्ञासाहरूको जवाफ दिए । गुरुङले आफूमाथिका सबै आरोपको खण्डन गरेका छन् । जनताले आफ्ना एजेन्डा मन पराएर भोट दिएको उनको दाबी छ ।

मृतकका नाममा भोट हालिएको आरोपबारे पनि उनले जवाफ दिएका छन् । विवादित चुनाव र मत परिणामबारे के भन्छन् त गुरुङ ? प्रस्तुत छ, उनीसँग गरिएको यो कुराकानी:

तपाईँको निर्वाचन क्षेत्रमा भएको चुनाव निकै विवादित भयो । अन्तमा जित हासिल गर्नुभएको छ । यो चुनावी परिणामलाई कसरी लिनुहुन्छ ?

यसमा पहिलो कुरा के छ भने मैले राजनीतिमा हार्दिकता हुनुपर्छ भनेर सोही बमोजिम मेरो चुनावी प्रचार अगाडि बढाएँ । मैले एजेन्डाले जित्ने हो, मान्छेले होइन भनेको थिएँ । सबै कोणसभामा भनेको थिएँ, मलाई अनुहार हेरेर भोट नदिनुस् । एजेन्डा ठिक छ भने दिनुस् । जनताले मेरो एजेन्डा मन पराउनुभयो र भोट दिनुभयो । यसमा म खुशी छु ।

जनताले रुचाएका तपाईँका मुख्य एजेन्डा चाहिँ के थिए ?

मेरो मुख्य एजेन्डा भनेको भ्रष्टाचारविरुद्धको अभियान नै हो । अनि, सुशासन स्थापना गर्ने हो । यो एजेन्डा मन पर्छ भने मत दिनुस्, मन पर्दैन भने नदिनुस् भनेर सिधै भन्या थिएँ । दिनै पर्छ भन्ने छैन । सोही बमोजिम मेरो क्याम्पेन भएको हो ।

चुनाव अगाडि सम्भावित परिणामबारे तपाईँको आँकलन के थियो ?

मेरो चुनावी अभियान राम्रो भएको थियो । त्यसैले मलाई आँकलन थियो कि म राम्रै मत ल्याउँछु भन्ने । चुनावको अन्तिम–अन्तिमतिर पुग्दाखेरि कांग्रेस पार्टीभन्दा बाहिरका साथीहरूले पनि तिम्रो एजेन्डा ठीक छ, पार्टी नहेरीकन दिन्छौँ भनेर फिडब्याक दिएका थिए । त्यसैले मतदान गर्नुभन्दा अगाडि नै मेरो जित्ने लगभग निश्चित भइसकेको थियो ।

तर, तपाईँको जितमा धेरै प्रश्नहरू उठाइएको छ । मरिसकेका मान्छेका नाममा पनि भोट हालिएको भनेर आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा कतिपयले ‘पितृ प्रतिनिधि’ भनेर ट्रोल पनि गरिरहेका छन् । यसलाई कसरी लिनुहुन्छ ?

अनावश्यक कुरामा विवाद उठाउन खोजिएको छ । मर्दै नमरेको मान्छेलाई मरेको भनेर दुष्प्रचार गरियो । त्यो एकदम गलत थियो । त्यो कुरा अहिले बाहिर आइसक्या छ । चापाकोटका मेयर देवबहादुर खाँडको पिताजी गोविन्दबहादुर खाँडको नामसमेत मरिसक्या मान्छेको लिस्टमा हालेछन् । भनेपछि अरू के के गरे होलान्, तपाईँ आफैँ बुझ्नुस् न । मेयरकै बाउलाई पनि मृतकको लिस्टमा हालेर मरिसक्यो भन्दै हिँडे ।

त्यही विवादका कारणले निर्वाचन आयोगले जाँचबुझ समितिको गठन गर्‍यो नि त । निर्वाचन आयोगबाट जाँचबुझ टोली आयो । तर जाँचबुझ टोलीले समेत यो ‘फेक’ हो भनेर प्रतिवेदन बुझाइसकेपछि न मतगणना भएको हो ।

कतिसम्म फेक न्यूज बनाउँछन् भने लौ कब्जा गरेको ठाउँमा ठ्याक्कै १०३÷१०३ र १४२६÷१४२६ मत आयो भनेर प्रचार गरियो । त्यो पढेपछि मैले होइन, साँच्चि नै त्यस्तो भएको हो र ? भनेर निर्वाचन अधिकृतलाई सोधेँ । उहाँले यो सबै फेक हालिरहेका छन् भनेर मलाई भन्नुभयो । खासमा १०३ र १४८ रैछ । यसरी फेक न्यूज बनाएर मलाई बदनाम बनाउनेभन्दा केही गरेनन् । मैले राजनीतिमा जसरी हार्दिकता हुनुपर्छ भन्या थिएँ, उहाँहरूमा त्यो हार्दिकता रहेनछ । हार्ने कन्फर्म भएपछि फेक न्यूजहरु बनाउने काम गरे । फोहोरी राजनीति यस्तालाई भन्छन् । त्यस कारण अत्यन्त कमजोर मानसिकताबाट अभिप्रेरित भएर गरिएको प्रोपोगाण्डा हो ।

यदि प्रपोगाण्डा हो भने तपाईँहरूले किन त्यसलाई समयमै चिर्न सक्नुभएन ?

मैले निर्वाचन आयोगलाई समेत भनेको थिएँ, मेयरकै जिउँदो बाउलाई समेत मरेको बनाउनेलाई कारबाही हुन्छ कि हुन्न ? धेरै छन् यस्ता । कतिले त मुद्दासमेत हालिसक्या छन्, जिउँदोलाई मरेको भन्न पाइँदैन भनेर । त्यस्तो सूचना मलाई आएको छ । तर, भूस्याहा कुकुरहरू भुके भन्दैमा सबैलाई ढुंगा हान्दै बस्ने मेरो स्वभाव छैन । म आफ्नो यात्रामा हिँडिरहन्छु । मलाई कसैले रोक्न सक्दैन ।

त्यो सूचीमा मृतक भनिएका सबै जिउँदै छन् त ?

त्यो त ‘इन्भेस्टिगेसन’ले देखाउने हो । आइ एम नट इन्भेस्टिगेटर । त्यसैले गर्दा तपाईँले सोधेको प्रश्न नै सही छैन । किनभने सबै मरेको मान्छे हो कि होइन भन्ने त पद्मा अर्यालहरूलाई सोध्नुपर्‍यो नि । उहाँहरूले बनाएको सूची हो मैले, बनाएको त होइन ।

तर, यसलाई स्पष्ट पार्दा त तपाईँलाई नै फाइदा होला नि ?

म त यस्ता कुरामा विश्वास नै गर्दिनँ । बीचमा उहाँले कतिसम्म भाषण गर्नुभएको थियो भने, धनराजले जित्दै जित्दैन, मैले जित्छु, ल यताबाट गनेर देखावस् भनेर चुनौती दिनुभएको थियो । यताबाट गनेर देखाउँदा पनि चापाकोट नगरपालिका नगन्दै मैले २१÷२२ सय मतले लिड गरेँ । चापाकोटको डल्लै नगन्दै जितिसक्या थिएँ ।

त्यस कारण यस्तो फेक कुरामा लाग्न मलाई कत्ति पनि रुचि छैन । म राजनीतिलाई नै स्वच्छ र निष्कलङ्क बनाउन लागिराख्या मान्छे हुँ । मेरो अभियानै त्यही छ । म आफ्नै नेताहरुविरुद्ध बोल्न छोड्दिन । हिजो पनि बोल्थेँ, भोलि पनि बोल्छु । मेरो पहिलो काम सुशासन स्थापना गर्नु हो । भ्रष्टाचार अन्त्य गर्नु हो । यो मिसनबाट म डगमगाउँदिन । क–कसले के–के भन्दै हिँड्छन्, तर एउटा लक्ष्य लिएर हिँडेको मान्छेलाई, यात्रामा निस्केको मान्छेले यस्ता कुरामा अल्झिने होइन । पछाडि फर्केर हेर्न थाल्ने हो भने मिसनमा पुगिँदैन भन्ने मलाई राम्रोसँग ज्ञान छ । त्यसैले अब धेरै टिप्पणी गर्न चाहन्न । यत्ति हो ।

जत्ति भोट आएको छ, त्यसमा सन्तुष्ट हुनुहुन्छ कि अलि धेरै आउनुपर्थ्यो भन्ने लाग्छ ?

दुई मतले जिते पनि जित्ने हो । एक मतले जिते पनि जित्ने नै हो । दुई हजारले विजयी भए पनि विजयी नै हो । त्यस कारण जनताले सम्मान गरेर जिताइसकेपछि जनताप्रति अपमान गर्न चाहन्न । सन्तुष्ट वा असन्तुष्ट भन्ने कुरा नै आउँदैन ।

कांग्रेसकै नेतृत्वमा सरकार गठनको कुरा आइरहेको छ । अबको सरकारमा तपाईँलाई मन्त्रीको भूमिकामा देख्न पाइएला ?

त्यो पछिको कुरा भयो । छलफल गर्न बाँकी छ । म स्याङ्जामा छु । यसबारेमा पछि कुरा गरौँला है । म घर दैलोमा छु ।


प्रतिक्रिया

One thought on “धनराज गुरुङको प्रतिवाद : ज्यूँदा मान्छेलाई मरेको भनेर दुष्प्रचार गरे, सुशासनको एजेन्डाले जितेको हुँ

  1. गजडीको गफभन्दा यिनको कुरामा केही फरक देखिदैन ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर