मधेसमा मलको हाहाकार, ‘चर्को स्वर’ गर्नेलाई २० किलो दिएर थुमथुम्याइँदै (भिडिओ) – Nepal Press

मधेसमा मलको हाहाकार, ‘चर्को स्वर’ गर्नेलाई २० किलो दिएर थुमथुम्याइँदै (भिडिओ)

जनकपुरधाम । धनुषाको कमला नगरपालिका- ५ लक्कडका भुला सिरपैत एक विघा खेतमा गहुँ छरेका छन् । गहुँ उम्रेर सिँचाई गर्ने (पानी हाल्ने) बेला भइसक्यो । तर रासायनिक मल (डिएपी) नपाउँदा उनी चिन्तित छन् ।

वडा कार्यालयले आज बिहान मल बाँड्ने सूचना किसानलाई दिएको थियो । सो अनुसार वडा कार्यालयमा किसान सिरपैतसहित सयौं किसान भेला भए । उनीहरु घण्टौं कुर्दा पनि मल वितरण गर्ने सुरसार नदेखेपछि आन्दोलन सुरु गरेका थिए ।

किसानहरु प्रदर्शनमा उत्रेपछि बल्ल वडाध्यक्ष शिवा पासवान आए । उनले किसानहरुलाई शान्त पारे र २० किलोका दरले  मल सशुल्क वितरण सुरु गरेका छन् ।

किसान सिरपैत भन्छन्, ‘एक विघामा गहुँ खेती गरेको छु । २० किलो मलले के हुन्छ ?’ उनले १ बोरा दिन्छु भनेर आश्वासन दिएपनि अहिले २० किलो मात्र उपलब्ध गराएको गुनासो गरे ।

  उनको प्रश्न छ, ‘बच्चालाई चकलेट दिए जस्तै २० किलोले कसरी खेती हुन्छ ?’ मेयर र वडाध्यक्षले गहुँको बिऊ पनि उपलब्ध गराउने आश्वासन दिएको र पछि नदिएपछि बजारबाट किन्नुपरेको गुनासो पनि उनले गरे ।

सिरपैत जस्तै अन्य किसानको पनि गुनासो छ, ‘मल नै पाइदैन । गहुँ कसरी उब्जाउने ?’‘चुनावका बेला नेताहरु किसानको समस्या समाधान गर्छु जस्ता ठूला गफ दिन्छन्’, किसान शम्भु यादवले भने, ‘तर अहिले मल नपाउँदा कसैले एकशब्द पनि बोल्ने गरेका छैन । यसले दुःख लाग्छ ।’

कमलाका नगर प्रमुख विशेश्वर यादवले पहिलो लटमा ९५ बोरा मल र १५/२० बोरा मात्र युरिया मल आएको बताए । उनले भने, ‘दोस्रो लटमा कति आयो थाहा भएन । तर आवश्यकता बमोजिम मल नै कृषि सामग्री कम्पनी लिमिटेडले दिने गरेको छैन । हामी के गर्ने ?’

धनुषाका अन्य पालिकाका किसानले पनि आवश्यकता बमोजिम मलखाद पाइरहेका छैन । यो पटक गहुँको बिउ समेत नगरपालिकाहरुले किसानलाई उपलब्ध गराएनन् । अहिले बजारमा गहुँ बिऊ ४० किलोको बोरा ३ हजार ८ सयमा खरिद गर्न बाध्य छन् ।

सिरहामा पनि मलखादको चरम अभाव देखिएको छ । कृषि सामग्री कम्पनी डिमिटेडले पालिकाहरुको सिफारिसमा डिलर (सहकारी संस्था)हरुलाई मल उपलब्ध गराउँछ । तर थोरै मात्रामा मल उपलब्ध गराउँदा किसानहरु आवश्यकता बमोजिम पाउन सकेका छैनन् ।

सिरहाको नवराजपुर गाउँपालिकाका अध्यक्ष शिव उदगार यादव ‘शिवा’ले मल अभावमा किसानहरु समस्यामा परेको बताउँछन् । आवश्कयता बमोजिम मल किसानलाई दिन नपाउँदा दुःख लागेको उनको भनाई छ ।

‘मेरो पालिकामा ५ हजार बढी किसान छन् । तर मात्र २६६ बोरा डिएपी कृषि सामग्री कम्पनी लिमिटेडले उपलब्ध गराएको छ’, उनले भने, ‘अब भन्नुस् ५ हजार किसानलाई २६६ बोरा मल कति किलोका दरले पर्छ ?’

उनले कृषि सामग्री कम्पनी लिमिटेडले गहुँको बीऊ उपलब्ध गराउने भनेर पत्राचार गरेको तर अहिले आएर दिन नसक्ने भनेपछि ठूलो समस्यामा परेको बताए । उनको गुनासो छ, ‘माथिल्लो निकाय किसानको भविष्यसँग खेलवाड गरिरहेका छन् । तर बदनाम हामी जनप्रतिनिधि भइरहेका छौं ।’

आवश्यकता बमोजिम मल नआएकाले कोटा निर्धारण गरेर पालिकाको सिफारिसमा सहकारीमार्फत सप्लाई गरिरहेको कृषि सामग्री कम्पनी लि. लहानका प्रमुख देवराज पौडेलले बताए ।

उनले गहुँको बिउ आउँछ भनेर स्थानीय तहहरुमा पत्राचार गरेपनि नआएकाले दिन नसकेको स्वीकारे । भने, ‘धेरै बल गरेर गहुँको बीउ तीन गाडी मगाउन खोजेको थिए । तर एक गाडी मात्र आयो । त्यो लहान नगरपालिकालाई दियौं । अन्य कुनै पालिकालाई गहुँको बिउ दिन सकेनौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर