८९ सीटसहित कांग्रेस पहिलाे दल बन्दा यस्ताे भयाे प्रतिनिधिसभाकाे हिसाबकिताब – Nepal Press

८९ सीटसहित कांग्रेस पहिलाे दल बन्दा यस्ताे भयाे प्रतिनिधिसभाकाे हिसाबकिताब

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतगणना कार्य सकिएको छ ।

मंगलबार साँझ समानुपातिकतर्फको मतगणना सम्पन्न भएसँगै निर्वाचन आयोगले थ्रेस होल्ड कटाउने राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सीट संख्या निर्धारण गरेर पठाएको छ ।

समानुपातिकतर्फ सबैभन्दा बढी नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा (माओवादी केन्द्र) ले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ सीट प्राप्त गर्ने भएका छन् । उनीहरुले प्राप्त गर्ने सिट संख्या उल्लेख गर्दै आयोगले थ्रेस होल्ड कटाएर राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने ७ वटै दललाई पत्राचार गरेको छ ।

आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्तासमेत रहेका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार ती दलले ३ दिनभित्र आफूले प्राप्त गरेको सीट संख्या अनुसारको उम्मेदवारको नामावली तोकिएको क्लस्टरअनुसार पेस गर्नुपर्नेछ । पेस गरेको सूची नमिलेमा आयोगले थप २ दिनको समयसीमा दिनेछ ।

निर्वाचन आयोगका अनुसार प्रत्यक्ष र समानुपातिकतर्फको सीट संख्या आधारमा प्रतिनिधिसभामा कांग्रेस प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सीटसहित ८९ सीट प्राप्त गर्दै सबैभन्दा ठूलो दल बनेको छ । यस्तै दोस्रोमा नेपाल (एमाले) ले प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सीटसहित जम्मा ७८ सीट प्राप्त गरेको छ । कांग्रेसभन्दा एमाले ११ सीट कम छ ।

नेकपा (माओवादी केन्द्र)ले भने प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ १४ गरेर जम्मा ३२ सीट प्राप्त गरेको छ । पहिलोपटक चुनाव लडेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ ७ सीट र समानुपातिकतर्फ १३ सीट जितेर २० सीटका साथ चौथो दलका रूपमा उदायको छ ।

यस्तै राप्रपाको प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ७ गरी १४, जसपाको प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ गरेर १२ सीट छ । प्रत्यक्षतर्फ १ सीटमात्रै जितेको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फ थ्रेस होल्ड कटाएर ५ सीटसहित ६ सीट सुरक्षित गरेको छ । जनमत पार्टीसहित यस पटक राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने दलहरू ७ वटा छन् । २०७४ को निर्वाचनमा ५ दलमात्रै राष्ट्रिय दल बन्न सफल भएका थिए ।

प्रत्यक्षको सीट जितेका ६ दलले भने थ्रेसहोल्ड कटाउन सकेनन् । १० सीट जितेको नेकपा एस राष्ट्रिय दल बनेन ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी ४ सीट, नागरिक उन्मुक्ति पार्टी ३ सीट, राष्ट्रिय जनमोर्चा १ सीट, नेपाल मजदुर किसान पार्टी १ सीटसहित संसदमा सहभागी हुने भएका छन् । ५ जना स्वतन्त्र सांसद पनि यसपटक सदनमा आएका छन् ।

जनमत पार्टीको समर्थन पाउनेवित्तिकै सत्तागठबन्धनलाई सरकार गठनमा सहज

यसैबीच सीके राउत नेतृत्वको जनमत पार्टीले सत्तागठबन्धनलाई समर्थन गर्ने वित्तिकै नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नका लागि सहज भएको छ । नेपाली कांग्रेसले प्राप्त गरेको ८९ सीट, नेकपा (माओवादी केन्द्र) को ३२ सीट, नेकपा (एकीकृत समाजवादी) को १० सीट, लोकतान्त्रिक समाजवादी पार्टीको ४ सीट, राष्ट्रिय जनमोर्चाको १ सीट जोडेर १३६ सीट पुगेको छ ।

यसैमा जनमत पार्टीको ६ सीट जोडिनेवित्तिकै सत्ता गठबन्धनलाई सरकार गठनका लागि १४२ सीट पुग्नेछ । १३८ सीटमा नै सत्तागठबन्धनलाई बहुमत पुग्ने भएकाले बहुमत पुगेर पनि ३ सीट थप हुनेछ ।


प्रतिक्रिया

One thought on “८९ सीटसहित कांग्रेस पहिलाे दल बन्दा यस्ताे भयाे प्रतिनिधिसभाकाे हिसाबकिताब

  1. सिके राउत मात्र किन घण्टी पनि त सत्ता गठबन्धनमा हल्लिने छ । बिचार बिनाको राजनीतिक पार्टी उदाउने र हराउने गरेको सबैले देखेको छन् । त्यसैले अहिले मौका पाएको ठान्ने छन् यस्ता समूहले ।

Leave a Reply to Janak Chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर