‘आत्मदाह’को अन्तरकथा : परिवारले बुहारी मानिसकेका थिए, कसरी तोडियो ईंगेजमेन्ट ? – Nepal Press

‘आत्मदाह’को अन्तरकथा : परिवारले बुहारी मानिसकेका थिए, कसरी तोडियो ईंगेजमेन्ट ?

काठमाडौं । करिब १० महिनाअघि धुम्बाराहीका सुधन संग्रौला दरबारमार्गस्थित केल्मीको सोरुम छिरे । चीनमा बस्दै आएका सुधन र केल्मी सोरुमका सञ्चालक उत्तम न्यौपानेबीच राम्रै चिनजान थियो ।

सोरुममा बसिरहेकी पुष्पा न्यौपानेसँग सुधनको आँखा जुध्यो । पारिवारिक चिनजान भएकाले सुधन र पुष्पाबीच सजिलै परिचय भयो । सुधनले केही समयमा फेसबुकमा पुष्पालाई रिक्वेस्ट पठाए । पुष्पाले एक्सेप्ट गरिन् । दुईबीच कुराकानी बढ्दै गयो । प्रेमिल गफहरु सुरु हुन थाले । सुधनले एक दिन पुष्पालाई भेट्ने प्रस्ताव गरे ।

काका उत्तमसँग राम्रै चिनजान भएकाले सुधनलाई पुष्पाले कुरा राख्न सुझाव दिइन् । काकाको अनुमतीबिना आफू बाहिर निस्कन नमिल्ने उनको कुरा थियो । ‘केटा राम्रै भएकाले मैले ओके भनिदिएँ’, उत्तम भन्छन् । यी दुई भेट्न थालेको केही समयमा न्यौपाने र संग्रौला परिवारबीच आवतजावत नै सुरु हुन थालेको थियो । उनीहरु चाँडै विवाह बन्धनमा बाँधिने तयारीमा जुटे ।

संग्रौला परिवारमा तीन छोरा भएको तर छोरी नभएकाले पुष्पाले ठुलो स्थान पाउन थालिन् । न्यौपाने परिवारमै बस्दै आए पनि पुष्पाको केयर सुधनका बुबाआमासम्मले नियमितजसो गर्थे ।

‘पुष्पालाई उनीहरुले छोरीभन्दा पनि बढ्ता गरेका थिए । रानीजस्तो व्यवहार गरे । पुष्पा सुधनकोमा गएर बेलाबखत बस्ने पनि गर्थिन् । सुधनको घरमा बस्न पुष्पाका छुट्टै कपडाहरु थिए । विवाह हुनुअघि नै संग्रौला परिवारले उसलाई बुहारी बनाइसकेका थिए’, उत्तम भन्छन् । आवतजावत बाक्लिन थालेपछि विवाह विस्तारै गरिदिने गरी गत भदौ १८ गते सुधन र पुष्पाको इन्गेजमेन्ट गरिएको थियो । यसले दुवै परिवारमा खुसियाली छाएको थियो ।

०००

गत शनिबार संग्रौला परिवार बुद्धनगरस्थित पुष्पाको घरमा आएको थियो । सुधन र पुष्पाबीच तनाव बढरहेका बेला संग्रौला परिवार त्यहाँ पुगेको थियो । यसपटक उनीहरु इन्गेजमेन्ट तोडिएको निर्णय सुनाउन आएका थिए, इन्गेजमेन्ट
गर्दा आदानप्रदान भएका सबै सामानहरुसहित । न्यौपाने परिवार यो मान्न आनाकानी गरिरहेको थियो ।

तर सुधन आफ्नो निर्णयबाट पछाडि हट्ने पक्षमा थिएनन् । उत्तमका अनुसार बुद्धनगरबाट फर्कँदै गर्दा सुधनका बुबाआमा निकै रोएका थिए । यो सम्बन्ध नतोडियोस् भन्ने पक्षमा स्वयं सुधनका बुबाआमासमेत रहेको उत्तमको दाबी छ ।
भन्छन्, ‘फर्कँदै गर्दा पनि उनका बुबाआमाले सुधनले मान्दै मानेन भन्दै डाको छोडेर रोएका थिए ।’

०००

संग्रौला परिवारका जुम्ल्याहा छोरामध्ये एक हुन् सुधन । पुष्पाको आगमनपछि संग्रौला परिवारमा आएको खुसीयाली लामो समय टिक्न सकेन । पछिल्ला केही महिनायता सुधनले पुष्पालाई इग्नोर गरिरहेका थिए । सम्बन्धबीच आएको दरार
दुवै परिवारबीच फिँजिसकेको थियो ।

तर कारकतत्व भने दुवै परिवारलाई थाहा थिएन । सुधन कुनैपनि हालतमा भन्ने पक्षमा थिएनन् न पुष्पाबाटै त्यो सम्भव देखियो । तर अब यो सम्बन्ध विवाहमा परिणत हुन सक्दैन भन्नेमा सुधन ‘कन्भिन्स्ड’ देखिन्थे । यता छोटो समयमै संग्रौला परिवारको अगाध माया पाएकी पुष्पा सुधनको व्यवहारले आजित हुँदै थिइन् । खासगरी तिहारयता यी दुईबीचको सम्बन्ध निकै चिसिएको थियो । एक्कासी देखिएको चिसोपना दिनदिनै बढ्दै गयो ।

‘पुष्पाका पनि कमिकमजोरी थिए होलान् । सुधनका पनि थिए होलान् । हामीले पटकपटक दुवैलाई राखेर समाधान निकाल्ने प्रयास गरेका थियौँ’, उत्तमको दाबी छ ।

सुधनका जुम्ल्याहा दाजु मधु पनि सुधन–पुष्पा सम्बन्धका पछिल्ला उतारचढावबारै राम्रै जानकार थिए । संग्रौला परिवार स्रोतका अनुसार सुधनसँग कुराकानी हुन नसक्दा पुष्पाले मधुलाई फोन गरेर बुझ्ने गर्थिन् । सुधन सम्पर्कमा आउन नचाहँदा पुष्पाले धेरैपटक बेचैनी व्यवहार देखाएको दाबी संग्रौला परिवारनिकट स्रोतको छ ।

‘आफूले भनेजस्तो नहुँदा र भनेको ठाउँमा समयमा नपुग्दा पुष्पाले आत्महत्या गर्नेसम्मको धम्की दिन्थिन्’, प्रहरीको प्रारम्भिक सोधपुछमा सुधनले पनि भनेका छन् । पुष्पाकै कमजोरीका कारण सम्बन्ध बिग्रिएको स्वंय न्यौपाने परिवारले पनि बुझेको संग्रौलाका परिवार स्रोतको दाबी छ ।

०००

दरबारमार्गस्थित केल्मी सोरुममा म्यानेजर रहेकी पुष्पा तिहारयता भने कमै कार्यालय गइरहेकी थिइन् । उनलाई थप दबाब नपोरोस् भन्नेमा न्यौपाने परिवार सचेत थियो ।

एमबीएस उत्तिर्ण पुष्पाको मातहतमा करिब दुई दर्जन कर्मचारी थिए । रेस्ट गरिरहेकी पुष्पषा एक दिन सम्बन्ध सुधार हुनेमा आशावादी नै थिइन् ।

तर विवाद मिलाउने प्रयास हुँदाहुँदै संग्रौला परिवार शनिबार उनको घर पुगेपछि भने स्थिति असहज बनेको थियो । पुष्पाले सम्बन्ध अगाडि नबढे आफूसँग मृत्युको विकल्प नभएको भन्दै आएको पारिवारिक सदस्यको दाबी छ । इन्गेजमेन्ट तोडिएको भोलिपल्ट आइतबार उनी अपरान्ह ३ बजे घरबाट निस्किएकी थिइन् । साढे ६ बजेसम्म उनको फोन लागिरहेको उत्तमले बताए ।

‘तर एक्कासी सवा ७ बजेतिर संग्रौला परिवारले हामीलाई फोन गरेर पुष्पाले गेटबाहिर आफूलाई आगो लगाएको खबर गरे । हामी तत्कालै त्यहाँ पुग्ने अवस्था पनि थिएन । पछि प्रहरी आईपुगेपछि मात्र त्यहाँबाट पुष्पालाई अस्पताल लगिएको रहेछ’, उत्तम भन्छन् ।

उनले संग्रौला परिवारले न्युनतम मानवीयतासमेत नदेखाएको गुनासो गरे । ‘उसले आत्महत्या प्रयास गरी होला, तर आगो
लागेको देख्नेबित्तिकै संग्रौला परिवारले उद्दार गरिदिएको भए उसको ज्यान बच्न सक्थ्यो । तर उहाँहरु हेरेर, प्रहरी कुरेर बस्नु भयो । उद्दारमा १५/२० मिनेट ढिलो हुँदा हामीले सदाका लागि छोरी गुमायौँ ।’ पछि अझ प्रहरीलाई हामीले उसलाई चिन्दैनौँसमेत भन्नुभएछ । तर पछिपछि लाग्दै अस्पतालसम्म पुग्नु भएको थियो’, उत्तम दुःख व्यक्त गर्छन् ।

आइतबार साँझ प्रहरीले उद्दार गरेर अस्पताल पुर्याए पनि पुष्पाको सोमबार राति करिब साढे ९ बजे उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ । उनको दाहसंस्कार सकेर पुष्पाका बुबा हाल जवान छोरीको किरिया बसिरहेका छन् ।

पुष्पा कान्छी आमा, भाई र बुबासहित बुद्धनगर बस्दै आएकी थिइन् । उनकी आमाको मृत्यु भएपछि बुबाले अर्की श्रीमती विवाह गरेपनि परिवारमा उनलाई कहिल्यै मायाको अभाव नभएको उत्तम बताउँछन् । अहिले प्रहरीले सुधनलाई पक्राउ गरी हिरासतमा राखेको छ ।

न्यौपाने परिवारले संग्रौला परिवारका ४ जनाविरुद्ध जाहेरी दिएपनि अदालतले सुधनका लागि मात्र थुना म्याद दिएको थियो । अहिले प्रहरीले मृतक पुष्पा र सुधनबीच सामाजिक सन्जालमा भएका कुराकानीको अध्ययन गरिरहेको छ ।

पुष्पाको मृत्युपछि सुधनले आफूले विवाह गर्न नमान्नुका कारणहरुबारे खुलाइरहेका छन् । सम्बन्ध राम्रै चलिरहेका बेला एक अर्काबीच सेयर भएका विगतका ‘डार्क से‍क्रेट’हरुले स्थिति तनावपूर्ण बनेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । काठमाडौं प्रहरी परिसर प्रवक्ता दिनेश मैनालीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

‍‍‍‍


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *