मन्त्रिपरिषद बैठक : मौद्रिक नीति र ब्याजदर परिवर्तन गर्न मन्त्रीहरुको प्रस्ताव – Nepal Press

मन्त्रिपरिषद बैठक : मौद्रिक नीति र ब्याजदर परिवर्तन गर्न मन्त्रीहरुको प्रस्ताव

काठमाडौं । मन्त्रिपरिषद बैठकमा अहिलेको मौद्रिक नीति, बैंकले तोकेको व्याजदरले उद्योगी व्यवसायीलाई उद्योग व्यवसाय सञ्चालन गर्न, तिर्नुपर्ने किस्ता र बैंकको ब्याजदर तिर्न समस्या भएकाले तत्काल निकास निकाल्नु पर्ने विषय उठेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्र बडूले अहिलेको मौद्रिक नीति र बैंकहरूले तोकेको ब्याजदरले अर्थतन्त्रमा गम्भीर समस्या आउने भन्दै सरकारले हस्तक्षेप गर्नुपर्ने बताएका हुन् ।

सरकारले यस विषयमा निकास ननिकाले उद्योग व्यवसाय र अर्थतन्त्रमा गम्भीर प्रभाव पर्ने धारणा मन्त्रिपरिषद् बैठकमा राखेको गृहमन्त्री खाणले जानकारी दिए । मौद्रिक नीति र बैंकको ब्याजदरका कारण सञ्चालन गर्न नसक्ने अवस्था आएपछि धेरै उद्योगी व्यवसायीले सरकारले हस्तक्षेप गर्नुपर्ने धारणा तीन मन्त्रीले मन्त्रिपरिषद् बैठकमा राखेका हुन् ।

तीन मन्त्रीको धारणापछि प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गर्ने र उद्योग व्यवसायलाई सुरक्षा प्रदान गर्ने दायित्व सरकारको भएको बताए । अहिलेको मौद्रिक नीति र चर्को ब्याजदरका कारण मुलुकको अर्थतन्त्र र राजश्वमा गम्भीर प्रभाव पार्नेबारे आफू जानकार रहेको र सबै पक्षसँग सम्वाद गरि समस्याको समाधान निकाल्ने प्रधानमन्त्री देउवाले बैठकमा बताए ।

गलत मौद्रिक नीतिका कारण आफूहरूले व्यवसायबाट हात धुनुपर्ने अवस्थामा पुगेको भन्दै उद्योगी व्यवसायी सम्बद्ध संगसस्थाहरूले प्रधानमन्त्री देउवा र मन्त्रीहरूको पटक पटक ध्यानाकर्षण गराउदै आएका छन् ।

 


प्रतिक्रिया

One thought on “मन्त्रिपरिषद बैठक : मौद्रिक नीति र ब्याजदर परिवर्तन गर्न मन्त्रीहरुको प्रस्ताव

  1. ल हेर मन्त्रीहरूको चिन्ता । व्यापारीलाई व्याज महङ्गो भयो रे जवकी बढेको व्याज सामानको मूल्यमा जोडेर तिनले उठाईरहेका छन् । मारमा त सर्वसाधारण पो परेका छन् । तिनको यिनलाई चिन्ता छैन किनकी तिनले यिनलाई व्यापारीको जस्तो पैसा दिदैनन ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर