गगन थापा भन्छन् : नेताहरूको आलोपालोको गोप्य कागजको तमसुकले देश चल्दैन (भिडिओ) – Nepal Press

गगन थापा भन्छन् : नेताहरूको आलोपालोको गोप्य कागजको तमसुकले देश चल्दैन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् ।

नेपाली कांग्रेस विराटनगर महानगर कार्यसमितिद्वारा आयोजित गुरुराज घिमिरेको ‘बाटो बिराएको राजनीति’को विमोचन समारोहमा बोल्दै उनले गठबन्धनको सरकार बन्नेमा कुनै शंका नभएको बताए ।

उनले भने, ‘सरकार गठबन्धनकै बन्छ । त्यसमा कुनै शंका छैन । गठबन्धनकै सरकार बनाउने भनेर चुनावमा गएका हौं । गठबधनको सरकार बनेपछि नेताहरुले निजी कम्पनी चलाएजस्तो पहिलाको जस्तै खासखास कानेखुसी गरेर तँ यो महिनासम्म, तँ यो महिनासम्म भनेर कोठाभित्र कागजमा तमसुक गर्छन् । बाहिर भन्ने आँट गर्दैनन् । लुकाउँछन् । भित्रभित्र परिवारको सदस्यलाई म त बन्छु नि अबको मंसिरपछि भन्छन् । बाहिर भन्दैनन् । त्यही कुरामा अलि पछि बबण्डर गर्छन् ।’

सरकार बनाउन भन्दा सरकार बनाएपछि के गर्ने चिन्ता लिनुपर्ने उनले बताए । सरकारको कुनै निश्चित उद्देश्य नभएपछि काम गर्न नसकिने उनले बताए । गठबन्धनको सरकारले स्पष्टता दिनुपर्ने उनको भनाइ छ ।

उनले पाँच वर्षसम्म स्थिर सरकार बनाउनुपर्नेमा जोड दिए । सरकारमा बस्नेले शक्ति, स्रोत र सीमालाई ख्याल गर्नुपर्ने महामन्त्री थापाको भनाइ थियो । अर्थतन्त्र डामाडोल अवस्थामा भएकाले निर्वाचनमा उम्मेदवारले खटे जस्तै गरी सरकारले काम गर्नुपर्ने उनले बताए । अर्थतन्त्र सम्हाल्न सानो सोच र क्षमताले नहुने थापाको जिकिर थियो ।

गठबन्धन सरकारले समस्याको समाधान दिएर अगाडि बढ्ने उनको भनाइ छ । उनले कांग्रेसको लोकप्रिय मत घटेकोप्रति चिन्ता व्यक्त गरे ।

उनले भने, ‘प्रत्यक्षमा पनि हामी एक्लै लडेर ल्याएको होइन त्यति सीट । त्यसैले अब सरकार बनेपछि कामले देखाउन सक्नुपर्छ। काम गरेपछि मात्रै अबको पाँच वर्षपछि ४० प्रतिशतको पार्टी बन्नसक्छ। पार्टी आफैं बन्छ ।’

पार्टीभित्र कोही दाइ रिसाउँछ भनेर नभई इमानदारीपूर्वक पार्टी संगठन निर्माणमा लाग्न उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले आफ्नो विचार मिलेकै कारणले १४ औं महाधिवेशनमा डा. शेखर कोइरालासँग एकै ठाउँमा उभिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर