इतर समूह एकजुट भए देउवा बराबर सीट, गगन एक्लै लड्दा कट्नै गाह्रो ‘डबल डिजिट’ – Nepal Press
कांग्रेसको अंकगणित

इतर समूह एकजुट भए देउवा बराबर सीट, गगन एक्लै लड्दा कट्नै गाह्रो ‘डबल डिजिट’

देउवा इतर तितरबितर-महाधिवेशनको गुटका आधारमा कांग्रेसमा कुन पक्षबाट कति सांसद जिते ? (सूचीसहित)

काठमाडौं । असोज २३ गते प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन गर्ने दिन बिहान १० बजेसम्म कांग्रेसका कतिपय जिल्ला र क्षेत्रका उम्मेदवारको नाम टुंगो लागिसकेको थिएन ।

संसदीय बोर्डले टुंगो लगाएका नाम बालुवाटारले परिवर्तन गरेर अर्कैको पठाइरहेको थियो । महाधिवेशनमा शेखर–गगन समूहबाट केन्द्रीय सदस्य लडेका एकजना नेता भने बालुवाटारमा ‘तामोतुलसी’ गर्दै थिए, ‘टिकट पाएँ भने धरोधर्म दायाँबायाँ गर्दिनँ, लिखत गर्छु आजकै मितिबाट दाइभाउजूबाहेक अरुतिर लाग्दिनँ ।’

कांग्रेस वृत्तमा ती पात्रबारे धेरै चर्चा चलिरहेको छ र यस्ता केही पात्र जसले टिकटको लागि २ करोडमाथिका ‘थैली’मात्र बुझाएनन्, आइन्दा संस्थापन इतर समूहमा नरहने ‘वाचा कसम’ पनि खाए । त्यस्ता केही पात्र जितेर पनि आएका छन् र अब हुने संसदीय दलको चुनावमा उनीहरु देउवातिर खुल्नेछन् ।

महाधिवेशनमा संस्थापन इतर समूहमा रहेका कांग्रेसका केही नेता अहिले प्रत्यक्ष सांसद जितेर आउँदासम्म संस्थापनतिर लागिसकेका छन्, यसको पुष्टि हुन दलको चुनावसम्म पर्खिनुपर्नेछ । टिकटकै बेला कतिपय ‘चुकिसकेको’ चर्चा कांग्रेसका नेताहरुबीच नै चलिरहेको छ । तर पनि सबै गुटले आआफ्ना सांसदको संख्या भने महाधिवेशनको गुटका आधारमा गनिरहेका छन् ।

देउवाको पहल सुरु

मंसिर ४ को निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसमा संसदीय दलको नेता बन्न रस्साकस्सी सुरु भएको छ । संसदीय दलको नेता नै प्रधानमन्त्री हुने भएकाले सभापति शेरबहादुर देउवादेखि महामन्त्री गगन थापासहित आधा दर्जन नेताहरुले संसदीय दलको नेता बन्न गृहकार्य थालेका हुन् ।

सत्ता गठबन्धनकै सरकार बनाउने शीर्ष तहमा समझदारी बनेपछि कांग्रेसभित्र संसदीय दलको नेता बन्न हानथाप भएको हो । गठबन्धनको सरकार बन्ने भएपछि कांग्रेसबाट देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला, डा. शशांक कोइराला, प्रकाशमान सिंह र महामन्त्री थापाले पहल थालेका छन् ।

तर, देउवाले टिकट वितरणमै संस्थापन इतर समूह आफूमाथि हावी हुन नसक्ने गरी सन्तुलन मिलाएका छन् । गठबन्धनबाट ९१ सीट उम्मेदवारी दिएको कांग्रेसले ५७ सीट जितेको छ ।

संस्थापन पक्षबाट ५० जनाले उम्मेदवारी दिँदा २९ जनाले जितेका छन् । शेखर-गगन समूहबाट २२ जनाले उम्मेदवारी दिँदा १८, रामचन्द्र-शशांक समूहबाट ६ र प्रकाशमान समूहबाट ४ जनाले चुनाव जितेका छन् ।

१४औं महाधिवेशनपछि संस्थापन इतर पक्ष तितरबितर भएपछि देउवालाई पार्टीभित्र हावी हुन ‘कम्फटेबल’ भएको छ । इतर पक्ष विभाजित बने पनि देउवाले आफ्नो शक्ति सन्तुलनलाई कामयै राखेका छन् ।

कांग्रेसमा देउवासँगै उनकी पत्नी आरजु राणा देउवा पनि उत्तिकै सक्रिय खेलाडीमध्येकी एक हुन् । महाधिवेशनमा अलग गुटमा देखिएपछि अहिले आरजुसँगको सम्झौताकै कारणले कतिपय सांसदहरु दायाँबायाँ गर्न सक्ने अवस्थामा छैनन् ।

तर, गृहमन्त्री बालकृष्ण खाण, विजयकुमार गच्छादार, कृष्णप्रसाद सिटौला, उमाकान्त चौधरीलगायत केही नेताहरुले चुनाव हारे । त्यसले देउवालाई राजनीतिक रुपमा भने केही क्षति भयो ।

देउवाको विकल्पमा संसदीय दलको नेतामा अरुको कुनै सम्भावना नभएको कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा दाबी गर्छन् ।

उनी भन्छन्, ‘संसदीय दलको नेता चयन गर्न अब कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्छ । त्यहाँ सभापतिजीले इच्छा व्यक्ति गर्नुभयो भने अरुको कुनै सम्भावना छैन ।’

अहिले पार्टीमा देउवाकै बाक्लो पहुँच भएकाले अरुको सम्भावना नै नभएको उनी जिकिर गर्छन् ।

संस्थापन इतर पक्षबाट चुनाव लडेकाहरु पनि सरकार बन्दा मन्त्रीसहित लाभको पदको लोभकै कारणले अधिकांश देउवातिरै खुल्ने उनी निकट नेताहरु बताउँछन् ।

देउवा इतर तितरबितर

पार्टीमा संस्थापन इतर पक्ष नै तितरबितर भएको कारणले संसदीय दलमा देउवालाई हावी हुन सहज भएको छ ।

इतर समूहबाट प्रधानमन्त्रीको चाहना राखिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, डा. शेखर कोइराला, पूर्वमहामन्त्रीहरू सिंह र कोइराला अलग-अलग भएका छन् । तर, देउवा इतर समूह एकजुट भए देउवालाई टक्कर दिने अंकगणित देखिएको छ ।

संसदीय दलको निर्वाचनको तयारी थालेको महामन्त्री थापाले एक्लै लडे ६÷७ मतभन्दा धेरै ल्याउन नसक्ने कांग्रेस संस्थापन इतर पक्षकै एक शीर्ष नेताले दाबी गरे ।

तीन नेताले भने, ‘पुरानो संस्थापन (कोइराला) समूहबाट रामचन्द्र पौडेल या शशांक कोइराला एकलाई अघि सारेमात्रै देउवालाई टक्कर दिन सकिने देखिन्छ । तर, गगनले जस्तो एक्लै दाबी गरेर अघि बढे ‘डबल डिजिट’ कटाउन सक्ने देखिँदैन ।’

पुरानो संस्थापन समूहबाट गगनलाई सर्वसम्मत अघि सार्ने सम्भावना नभएको ती नेताको भनाइ छ । अहिले इतर पक्षबाट नेता पौडेल, प्रकाशमान सिंह, महामन्त्री थापाले तीव्र रुपमा दलको नेताको निर्वाचनको तयारी थालिसकेका छन् ।

शेखर कोइरालाले आफ्नो पोजिशन प्रस्ट पारेका छैनन् । शशांक पनि खुलिसकेका छैनन् । यद्यपि उनले आफू प्रधानमन्त्री बन्न अन्तिम पटक चुनाव लडेको भनेर भोट मागेका थिए । शेखरले गगनको पक्षमा पनि आफूलाई खुलाइसकेका छैनन् र आफ्नो दाबी पनि पेश गरेका छैनन् ।

बिहीबार विराटनगर पुगेका नेता कोइरालाले भनेका थिए, ‘संसदीय दलमा नम्बर गेम मुख्य कुरा हुन्छ । अहिले नम्बर गेम हेर्दा शेरबहादुरजीसँगै बढी देखिन्छ । तर, यसबारे कुरा हुन पाएको छैन । म उहाँसहित महामन्त्री थापा र अन्य नेताहरूसँग छलफलपछि मात्रै निर्णय गर्छु ।’

तर, नेता कोइरालासँग देउवाले संसदीय दलको नेतामा सहयोग गर्न आग्रह गरिसकेका छन् । चुनावअघि नै देउवा र कोइरालाबीच यसबारेमा कुरा भएको र शेखरले देउवासँग गगन थापा चुनाव लड्ने अवस्थामा गगनको पक्षमा खुल्ने सम्भावना नरहेको उनी निकट नेताहरूले बताएका छन् । अहिले देउवातिर समूह लगभग विघटनको अवस्थामा पुगेको छ ।

महाधिवेशनकै वेला देउवातिर समूह फुटेर तीन समूहमा तितरबितर भएको थियो । अहिले पनि रामचन्द्र र शशांक एउटा समूहमा छन् भने प्रकाशमान सिंहले अलग समूह बनाएका छन् ।

शेखर-गगन समूह महाधिवेशनको आधारमा एक ठाउँमा प्राविधिक रुपले देखिए पनि सोही समूहका नेताहरूले टिकट लिने वेलामै देउवासँग सम्झौता गरिसकेका छन् ।

महाधिवेशनमा मौन रहेका पछि देउवातिर ढल्किएका वरिष्ठ नेता पौडेलले पनि संसदीय दलबाट नेता चुनिन सम्भावना छैन । त्यसैले देउवालाई छैटौं पटक प्रधानमन्त्री बन्न पार्टीभित्रबाट रोक्ने सम्भावना छैन ।

शेखर-गगन समूह एकजुट भएर गगनलाई दलको नेतामा सहयोग गर्ने हो भने कडा टक्कर दिनसक्छन् । तर, शेखर समूहकै कतिपय सांसदहरु गगनसँग सन्तुष्ट छैनन् । उदाहरणका लागि सुनिल शर्मा शेखर नजिक छन् । तर, गगनलाई उनले भोट दिन सक्दैनन् । किनभने गगनको समर्थन पाएका डा.गोविन्द केसीबाट उनी पटकपटक अपमानित र चरित्रहत्याको शिकार बनेका छन् ।

शेखर गगन समूहका कतिपय नेताहरु गगनको प्रगतिबाट लघुताभासमा छन् । गगन संसदीय दलको नेतामा चुनाव लड्दा देउवा पक्षकै केही सांसद र प्रकाशमान निकटका सन्तोष चालिसे, राजन केसीलगायतले मत दिन सक्छन् ।

स्याङजा १ बाट निर्वाचित राजु थापा जिल्ला अधिवेशनमा सभापति बन्ने वेला देउवा इतर समूहसँग मिले पनि केन्द्रमा उनी देउवा समूहकै मानिन्छन् । तर, दलको नेतामा उनले गगन थापालाई मत दिनसक्ने आँकलन छ ।

शेखर निकटकै सांसदहरु मन्त्री बन्न देउवासँगै नजिक हुन खोजिरहेका छन् । उनीहरु गगनतिर देखिएर मन्त्री बन्ने अवसर गुमाउन चाहँदैनन् । रामचन्द्र-शशांक, शेखर-गगन र प्रकाशमान-विश्वप्रकाश समूह एकजुट भएर सर्वसम्मत रुपमा एकजनालाई दलको नेतामा अघि सर्दा देउवा कमजोर हुनसक्छन् ।

तर, देउवा आफूविरुद्ध इतर समूह एकजुट हुन नदिन सफल भइसकेका छन् र कथंकदाचित त्यो अवस्था आए त्यसअघि नै उनी राष्ट्रपति बनेर सुरक्षित अवतरण गर्ने सुविधाजनक ठाउँमा रहेका छन् । अहिलेसम्म संसदीय दलमा देउवा सुविधाजनक बहुमतमा छन् ।

महाधिवेशनको समूहगत आधारमा कुन समूहबाट क-कसले जिते ? थाहा पाउन हेर्नुस् तलको सूची । तर, यीमध्ये कतिपय सांसदले टिकटकै वेला देउवालाई सघाउने भनिसकेका छन् ।

सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर