प्राधिकरणले बिजुली नकिन्दा २९ आयोजनालाई अरबौं नोक्सान – Nepal Press

प्राधिकरणले बिजुली नकिन्दा २९ आयोजनालाई अरबौं नोक्सान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूले उत्पादन गरेको बिजुली प्राधिकरणले खरिद नगर्दा अर्बौंको नोक्सान भएको स्वतन्त्र ऊर्जा उत्पादक संघले जनाएको छ । उक्त बिजुली नेपालमा खपत गर्न नसकेको र भारतमा बिक्री पनि गर्न नसक्दा नोक्सानी व्यहोर्नुपरेको संघको भनाइ छ ।

संघका उपाध्यक्ष गणेश कार्कीले प्राधिकरणले खरिद नगर्दा कतिपय आयोजनाले उत्पादन नै बन्द गर्नु परेको र अधिकांशले लोड घटाउनुपरेको बताए । असोजयता प्राधिकरणले आयोजनाको विद्युत खरिद गरेको छैन । अब सुख्खा सिजनमा भने उत्पादन कम हुने भएकाले खरिद गर्ने उनको भनाइ छ । वर्षायाममा पनि बढी विद्युत उत्पादन हुने र त्यतिबेला पनि यही अवस्था आउने भन्दै ऊर्जा उत्पादकहरू कहिले मन्त्रालय, कहिले प्राधिकरण धाइरहेका छन् ।

केही दिनअघि मात्र स्वतन्त्र ऊर्जा उत्पादकको टोली मन्त्रालय पुगेर सचिव दिनेशकुमार घिमिरेसमक्ष समस्या राखेका थिए । सचिव घिमिरेले नेपाल विद्युत प्राधिकरणको पनि सञ्चालकमा भएकाले उनले प्राधिकरण बोर्डमा यो विषय उठाउने आश्वासन दिए ।

प्राधिकरणले बिजुली खरिद नगरेर नोक्सानमा परेका आयोजनाबारे तथ्यांक संकलन भइरहेको इप्पानले बताएको छ । हालसम्म १० वटा आयोजनाको विवरण आएको र सोबाट ९२ करोड नोक्सान भएको उपाध्यक्ष कार्कीले बताए ।

उनी भन्छन्, ‘यदि सो बराबरको विद्युत बेच्न सकेको भए उत्पादकहरूले ९२ करोड रुपैयाँ पाएर प्राधिकरणले पनि थप ९२ करोड रूपैयाँ नाफा गर्न सक्ने थियो । यो वर्ष हालसम्मको अधिकतम लोड लक्ष्मीपूजाको दिन १३ सय मेगावाट थियो । ३६४ मेगावाट भारतमा बिक्री भयो । त्यतिखेर करिब २३ सय मेगावाट बिजुली उत्पादन भएको छ । बाँकी विजुली नेपालमा खपत पनि भएन र भारतमा बेच्न पनि सकेन ।’

बैंकबाट ऋण लिएर करौडौं लागतमा बनाइएको आयोजनाको विद्युत खरिद नगरिदिँदा बैंकको सावाँ-ब्याजसम्म तिर्न नसकेको गुनासो ऊर्जा उत्पादकहरूको छ । आगामी वर्षायाममा थप ७ सय मेगावाट विद्युत पालमा उत्पादन हुने भएकाले त्यतिबेला पनि खेर जाने चिन्तामा उत्पादक देखिएका छन् ।

कार्कीले भने, कतिपय आयोजनाको कन्टिजेन्सी प्लान भनेर प्रसारण लाइन नबनेको अवस्था जति आउँछ त्यतिमात्र किन्छु भनेर गरेको छ । त्यस्तो आयोजना त डुब्यो ।’
हाल निर्माणाधीन, निर्माणको लागि तयारीमा रहेको, प्रणालीमा जोडिएको गरी ८३३ आयोजना छन् ।

नेपाल विद्युत प्राधिकरणले भने प्रसारण लाइनको अभावका कारण समस्या भएको बताएको छ । पीपीएअनुसार जोड्ने भनिएको ठाउँमा जडान नभएको, नेटवर्क र प्रसारणलाइनको अभाव हुँदा समस्या भएको प्राधिकरणका प्रवक्रा सुरेश भट्टराईले बताए ।

‘चाहिनेभन्दा बढी किन्यो भने ओभरलोड भएर सिस्टममा समस्या हुन सक्छ । एउटा प्वाइन्टमा जोड्ने भनेको अर्कोमा जोडियो । कतिपय आयोजना समयमै नसकिँदा भनेको प्वाइन्टमा जडान हुन सकेन ’, भट्टराईले भने ।

पीपीए गर्नेबेला नै टेक एण्ड पे भनेर गरिएको हो अब दीर्घकालीन समाधानको लागि टेक और पे बनाउनुपर्ने उनले जानकारी दिए । प्राधिकरणले यसलाई ऊर्जा उत्पादकहरुके आन्तरिक समस्या भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर