कांग्रेसले ३४ सीट थप्दा एमाले ४४ मा खुम्चियो, माओवादीलाई दोब्बर क्षति – Nepal Press
चुनाव-७९

कांग्रेसले ३४ सीट थप्दा एमाले ४४ मा खुम्चियो, माओवादीलाई दोब्बर क्षति

काठमाडौ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम परिणाम आइसकेको छ । प्रतिनिधिसभातर्फ १६५ वटा निर्वाचन क्षेत्रको लागि भएको निर्वाचनबाट २०७४ सालको तुलनामा दलहरुले भिन्नभिन्न परिणाम हात पारेका छन् । निर्वाचनमा केही दल खुम्चिएका छन् । केहीले आफ्नो आकार बढाएका छन् । केही नयाँ दलले समेत प्रतिनिधिसभा अप्रत्याशित नतिजा ल्याएका छन् ।

यस निर्वाचनबाट संसदमा पहिलो दलको रुपमा नेपाली कांग्रेस उदाएको छ । अघिल्लो निर्वाचनबाट पहिलो दल बनेको नेकपा एमाले यसपटक दोस्रोमा झरेको छ । अघिल्लो निर्वाचनमा दोस्रो भएको नेकपा माओवादी केन्द्र यसपटक तेस्रोमा सीमित भयो । अघिल्लोपटक एमालेसँग वाम तालमेल गरेको माओवादीले यसपटक सत्ता गठबन्धन गर्दा दोब्बर क्षति व्यहोर्नुपर्‍यो ।

सत्ता गठबन्धनबाट सबैभन्दा धेरै फाइदामा कांग्रेस

२०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ २३ सीटमात्रै जितेर नेपाली कांग्रेस तेस्रो बनेको थियो । यस पटक ३४ सीट बढाएर ५७ वटामा उक्लिएको छ । अघिल्लो निर्वाचनमा कांग्रेस केही क्षेत्रमा राप्रपासँग तालमेल गरेर निर्वाचन लडेको थियो । यस पटक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनर्मोर्चालगायतसँग गठबन्धन गरेको छ ।

२०७४ को निर्वाचनमा १५४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको कांग्रेसले यस पटक ९१ वटा निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवारी दिएको थियो ।

गत निर्वाचनमा कांग्रेसका करिब १५ प्रतिशत उम्मेदवारमात्रै निर्वाचित भएका थिए । यस पटक उसका ६२ प्रतिशत उम्मेदवार विजयी भइका छन् ।

एमाले ८० बाट ४४ सीटमा खुम्चियो

२०७४ सालको निर्वाचनमा ८० सीट जितेर पहिलो दल बनेको नेकपा एमाले यस पटक ४४ सीटमा खुम्चिएको छ । अघिल्लो निर्वाचनमा एमालेले माओवादी केन्द्रसँग तालमेल गरेको थियो । यस पटक एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग तालमेल गरेको थियो ।

२०७४ को निर्वाचनमा १०३ वटा क्षेत्रमा उम्मेदवारी दिएको एमालेले यस पटक १४१ क्षेत्रमा उम्मेदवारी दिएको थियो ।

गत निर्वाचनमा एमालेका ७७ प्रतिशत उम्मेदवार निर्वाचित भएका थिए । यस पटक भने ३१ प्रतिशत उम्मेदवारमात्रै विजयी भए ।

माओवादीलाई फापेन सत्ता गठबन्धन

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३६ सीट जितेर दोस्रो दल बनेको थियो । तर, यस पटक त्यसको आधा १८ सीटमात्रै जितेको छ । सत्ता गठबन्धनबाट संसदमा पहिलो वामपन्थी दल बन्ने माओवादीको लक्ष्य यस पटक पूरा भएन । उल्टै भारी क्षति व्यहोरेर तेस्रो स्थानमा झरेको छ ।

अघिल्लो निर्वाचनमा माओवादीले एमालेसँग तालमेल गरेको थियो । यस पटक काग्रेस नेतृत्वको सत्ता गठबन्धन गरेर निर्वाचनमा होमिएको थियो । २०७४ सालमा यसले ५९ वटा क्षेत्रमा उम्मेदवारी दिएको थियो । यसपटक भने ४६ वटामात्रै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो ।

गत निर्वाचनमा माओवादीले ६१ प्रतिशत क्षेत्रमा निर्वाचन जितेको थियो । यस पटक ३९ प्रतिशत उम्मेदवारमात्रै विजयी भए ।

नेकपा एस, राष्ट्रिय स्वतन्त्र र नागरिक उन्मुक्तिको अप्रत्याशित नतिजा

नेकपा एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादी, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले पहिलो सहभागितामैप्रतिनिधिसभाको निर्वाचनमा अप्रत्याशित नतिजा ल्याएका छन् ।

नेकपा एसले प्रत्यक्षतर्फ २१ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो । जसमध्ये उसले करिब ४८ प्रतिशत (१० वटा) निर्वाचन क्षेत्र जितेको छ ।

पहिलोपटकमै १३१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको रास्वपाले ७ सीट जितेको छ । उसले कुल उम्मेदवारीको ५ प्रतिशत नतिजा हात पारेको हो ।

प्रत्यक्षतर्फ नेकपा एसभन्दा ३ सीट कम जिते पनि रास्वपा समानुपातिकतर्फ थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बन्न सफल भएको छ । यस आधारमा समग्रमा रास्वपा संस्दमा चौथो दल बनेको छ ।

टीकापुर हत्याकाण्डमा दोषी ठहर भई हाल जेलमा रहेका रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टीले पहिलो पटकमै निर्वाचनमा ३ सीट जितेको छ । उक्त पार्टीले ३० वटा निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवारी दिएको थियो ।

साथै यस पार्टीको समर्थनमा एकजना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्वतन्त्रबाट जितेका रेशमका बाबु बलवीर चौधरीले नागरिक उन्मुक्ति नै रोज्ने निश्चित जस्तै छ । यसले गर्दा संसदमा उसको सांसद संख्या ४ पुग्नेछ ।

२०७४ मा चौथो दल बनेको राजपाको जोगिएन पार्टी एकता

२०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ १४ वटा सीट जितेर चौथो दल बनेको जनता समाजवादी पार्टी फुटेर दुई वटा बनेको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी बनेको थियो । जुन पार्टी दुई टुक्रा भएर जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी बनेका हुन् ।

टुक्रिएका दुई दलमध्ये जनता समाजवादी पार्टीले ७ वटा निर्वाचन क्षेत्र जितेको छ । लोकतान्त्रिक समाजवादी पार्टी भने ४ क्षेत्रमा खुम्चिएको छ । जसपा एमालेसँग सहकार्य गरेर निर्वाचनमा गएको थियो । लोसपाले भने सत्ता गठबन्धनसँग सहकार्य गरेर निर्वाचनमा भाग लिएको थियो ।

राप्रपाले बढायो ६ सीट

२०७४ सालमा प्रत्यक्षतर्फ १ सीटमात्रै जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यस पटक ७ क्षेत्र जितेको छ । राप्रपाले जसपा र रास्वपा बराबर सीट ल्याएको हो । २०७४ को निर्वाचनमा ६ वटा क्षेत्रमा मात्रै उम्मेदवारी दिएको राप्रपाले यस पटक १४० क्षेत्रमा उम्मेदवारी दिएको थियो ।

बढेन जनमोर्चा र नेमकिपाका सांसद

२०७४ सालमा ८९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएर प्रत्यक्षतर्फ एक सीट जितेको राष्ट्रिय जनमोर्चाले यस पटक सत्ता गठबन्धनसँग मिलेर २ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो । जसमा एक क्षेत्रमा मात्रै जितेको छ ।

त्यस्तै १०९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको नेपाल मजदुर किसान पार्टीले यसपटक पनि एक सीटमा मात्रै जितेको छ ।

संसदमा जनमतको इन्ट्री

यसपटक संघीय संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्तिपछि जनमत पार्टीले इन्ट्री गरेको छ । जनमतले प्रत्यक्षतर्फ एक सीट जित्नुका साथै समानुपातिकतर्फ थ्रेस होल्ड कटाएको छ ।

राष्ट्रिय पार्टीको मान्यता पाएको जनमतले समानुपातिकबाट चारजनासम्म सांसद पाउनेछ । यस आधारमा संसदमा जनमत नागरिक उन्मुक्तिभन्दा अगाडि बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर