महाकाली नदीको बहाव फेर्ने संरचना निर्माण रोक्न भारत सहमत – Nepal Press

महाकाली नदीको बहाव फेर्ने संरचना निर्माण रोक्न भारत सहमत

कैलाली । भारतले एकलौटी रूपमा महाकालीको धार परिवर्तन हुने गरी बनाएको संरचनाको काम तत्कालको लागि रोकिएको छ ।

नेपाली पक्षको तीव्र दबाबपछि नदीको बहाव नेपालतर्फ धकेलेर भारतले बनाइरहेको पक्की संरचना निर्माणको काम रोकिएको हो ।

जिल्ला प्रशासन कार्यालय दार्चुलामा दुवै देशका अधिकारीहरूको छलफलमा भारतीय पक्षले हाललाई उक्त काम रोक्न तयार भएको जनाएको हो ।

सोमबार भारत पिथौरागढ प्रशासनका एडीएमसहितका प्रतिनिधि र दार्चुलाका प्रमुख जिल्ला अधिकारीले त्यसबारे छलफल गरेका थिए । छलफलमा दुई देशका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएरमात्रै काम अघि बढाउने सहमति भएको बताइएको छ ।

‘प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा पिथौरागढका एडीएमसहितका अधिकारीहरू आउनुभएको थियो । हामी पनि थियौं’, दार्चुलाका डीएसपी तर्कराज पाण्डेयले भने, ‘त्यो बैठकमा संयन्त्र बनाएरमात्रै काम अघि बढाउने सहमति भएको छ ।’

उनका अनुसार प्राविधिक, स्थानीय राजनीतिक दल र प्रशासनका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएर त्यसका आधारमा निर्माण गर्ने सहमति भएको छ ।

आइतबार भारतीय पक्षले नदीको बहाव नेपालतर्फ सारेर तटबन्ध बनाउन थालेपछि नेपाली पक्षले त्यसको प्रतिकार गरेका थिए । ढुङ्गा हानाहान हुँदा ४ जना बालक घाइते भएका थिए । स्थानीयले झोलुङ्गे पुलको गेटमा तालाबन्दी गरेर आवतजावत बन्द गरेका थिए ।

सहमतिसँगै स्थानीय प्रशासनले पुलको गेट खुलाएको छ । यसअघि पनि पटकपटक भारतीय पक्षबाट महाकाली बहाव नेपालतर्फ धकेल्ने काम हुँदा स्थानीयले विरोध गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *