आरोपीलाई सफाइ दिएपछि ३ मुद्दामा विशेष अदालतविरुद्ध सर्वोच्च पुग्यो अख्तियार – Nepal Press

आरोपीलाई सफाइ दिएपछि ३ मुद्दामा विशेष अदालतविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

काठमाडौं । आफूद्वारा दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाउपर चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन वटा मुद्दा पुनरावेदन गरेको छ ।

घुस लिई भ्रष्टाचार गरेका तीनवटा मुद्दाका प्रतिवादीलाई सफाइ दिएकोले सोमबार ती मुद्दाहरू सर्वोच्च अदालतमा पुनरावेदन गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

अख्तियारद्वारा जारी विज्ञप्तिअनुसार भ्रष्टाचार कसूरमा हुकुमबहादुर ओलीविरुद्ध ९६ हजार ३ सय, शिवशंकर महतोविरुद्ध १० हजार र हरिचन्दर ठाकुर साथै अरूणकुमार यादवविरुद्ध बराबर १५ हजार बिगो मागदाबीसहित मुद्दा चलाइएकोमा विशेष अदालतले प्रतिवादीलाई सफाइ दिएको छ ।

विशेष अदालतले सफाइ दिँदा प्रतिवादीले अनुसन्धान तथा अदालतमा बयान गर्दा आरोपित कसूरमा इन्कारी बयान दिएको, बरामद गरिएको रकम आयोगबाट उपलब्ध सरकारी कोषको रकम प्रयोग गरिएबाट बरामदी नै प्रमाणयोग्य नदेखिएको र बरामदी रकमको अभावमा घुस/ रिसवतको कसूर कायम हुन सक्ने नदेखिएको आधारहरू उल्लेख गरेको छ ।

एक महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूले दर्ता गरेका भ्रष्टाचार मुद्दामा असफलता बढ्नुमा विशेष अदालतलाई दोष देखाएको थियो । मुद्दाको सुनुवाइमा विशेष अदालत संवेदनशील नभएको, दोषी उम्किनेक्रम बढेको भन्दै लापरबाही देखिएको अख्तियारको गुनासो थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर