कतारका नेपाली कामदार, जो आफैंले बनाएको रंगशालामा हेरिरहेका छन् विश्वकप (भिडिओ) – Nepal Press

कतारका नेपाली कामदार, जो आफैंले बनाएको रंगशालामा हेरिरहेका छन् विश्वकप (भिडिओ)

काठमाडौं । १५ वर्षदेखि कतारमा पसिना बगाइरहेका रुद्र शर्माले नेपालबाट उड्नुअघि सोचेकै थिएनन्, ‘विश्वकप फुटबल रंगशालामै गएर हेर्न पाउनेछु ।’ सन् २००७ मा श्रम गर्न कतार पुगेका शर्माले ३ वर्षपछि थाहा पाए, ‘कतारले विश्वकप आयोजनाको अधिकार पायो ।’

फुटबलका पारखी शर्माले त्यसैवेलादेखि बुनिरहेको सपनाले १२ वर्षपछि मूर्तता पायो । उनले जारी विश्वकपमा दुईवटा खेल रंगशाला पुगेर हेरे ।

अल जनौव स्टेडियममा स्वीट्जरल्याण्ड र क्यामरुनको खेल हेरे उनले । तीन दिनपछि जर्मनी र कोस्टारिकाको अल बयात स्टेडियममा खेल हेरे । शर्माले फुटबलको महाकुम्भमा शक्तिशाली टीमहरुबीचको खेल हेर्दा जति मजा लिए, त्यति नै आनन्द लिए स्टेडियममा ओइरिएका संसारभरका दर्शकहरुसँग गोल सेलिब्रेसन गर्दा ।

खेल सुरु हुनुअघि शर्मा पुग्दा अल बयात स्टेडियममा सांस्कृतिक कार्यक्रम भइरहेको थियो । स्टेडियमका केही भित्ताहरु कामदारहरुको पासपोर्ट साइजको फोटोहरुले सजिएका थिए । जहाँ झण्डै आधाजसो त नेपाली कामदारहरुको मात्रै थियो ।

रंगशाला निर्माणमा पसिना बगाएर संसारभरका स्टार खेलाडीहरुलाई मैदान बनाइदिएका कामदारको सम्मानस्वरुप टाँसिएका थिए फोटाहरु । उक्त दृश्य देख्दा शर्मा एकैछिन नतमस्तक पनि भए । उनले सोचेकै थिएनन्, फोटो टाँसेरै सही, पसिना बगाउने आफूहरुको पनि यस कुम्भमेलामा उपस्थिति हुन्छ भनेर !

शर्मा स्वयंको डेढ वर्षको पसिना लुसेल स्टेडियममा बगेको छ । उनले श्रम गरेको उक्त रंगशालामा विश्वकप खेल हेर्न त पाएनन् । तर, उनलाई थाहा छ, कतारका आठै स्टेडियममा उनको झैं धेरै नेपालीको पसिना बगेको छ ।

लुसेलमा एचआर कोअर्डिनेटरको भूमिकामा काम गरेका शर्मा सुनाउँछन्, ‘रंगशालामा भेटिएका युरोपका दर्शकले युरोपमा भन्दा कतारमा राम्रो स्टेडियम बनेको मलाई बताउँदा गर्व महसुस पनि भयो । सोचेँ, हो त नि हामीले पो बनाएको हो ! नेपालीले पनि यस्तो भव्य संरचना बनाउन सक्दो रहेछ भन्ने लाग्यो । हामीले बनाएको ठाउँमा पनि यस्तो खेल खेलिँदो रहेछ भन्ने भयो । अहिले म अर्को खेलको टिकट किन्ने लाइनमा उभिएको छु ।’

झण्डै एक दशकदेखि कतारमा रहेका लेख कार्कीका लागि पनि यसपटकको विश्वकप अविस्मरणीय बन्यो । उनले प्रत्यक्ष खेल हेरे स्टेडियम ९७४ मा फ्रान्स र डेनमार्कको ।

‘टीभी र ग्राउण्डमा फुटबल हेर्नुको मज्जै अर्को ! टीभीमा सर्लक्क खेलाडीहरुमात्रै देखिन्छन् । जितेको खण्डमा मात्रै समर्थकलाई झलाकझुलुक स्क्रिनमा देखाइन्छ । तर, त्यहाँ त मन परेको खेलाडीलाई आँखा जुधाएर हेरिरहनुको आनन्दै अर्को’, कार्कीले नेपालप्रेससँग भने ।

कार्की फ्रान्सका स्ट्राइकर एम्बापेका फ्यान हुन् । उनले खेल अवधिभर एम्बापेलाई पछ्याइरहे । ग्रिजम्यानलाई पनि पछ्याइरहे । बेन्चमा बसेका खेलाडीहरुसमेत परिवर्तन हुन्छ कि हुँदैन भनेर हेरिरहे । ‘म त विश्वकप हेर्दैछु’ भनेर सोच्नासाथ छुट्टै ऊर्जा आएको बताउँछन् कार्की ।

१० वर्षदेखि कतारमा बसिरहेका मणि पौडेलले पनि फ्रान्स र डेनमार्ककै खेल हेरे । दुवै पक्षका समर्थकको बीचमा बसेर खेले हेरे । विश्वभरिका मान्छे एकै रंगशालामा बसेर खेल हेर्दा अनौठो अनुभूति भएको बताउँछन् पौडेल । पौडेल सुनाउँछन्, ‘हामी एसियनहरु को छिटो पुग्ने भनेर दौडन्छौं । तर, उनीहरु धैर्यताका साथ हिँड्ने रहेछन् । धैर्यसहित हेर्ने रहेछन् । आफ्नाले गोल गर्दा पनि उच्चट खुशी नहुने र अर्कोले गोल गर्दा पनि अनावश्यक दुःखी नहुने स्वभाव उनीहरुको रहेछ ।’

अर्कातिर उक्त रंंगशाला निर्माणमा नेपालीहरु खटिएको सम्झनाले गर्दा रंगशालाप्रति नै अपनत्व महसुस भएको बताउँछन् पौडेल । ‘यहाँ त हाम्रो पनि रगत पसिना छ’, उनले भने ।

दर्शकमा युरोपका बढी

जर्मनीको समर्थक भएर रंगशाला पुगेका शर्माले नेपाली झण्डा पनि बोकेर गएका थिए । त्यहाँ उनले जर्मनीका समर्थकहरुसँगै बसेर खेल हेरे । झण्डा साटासाट गरेर फोटो लिए । दुई देशका नागरिकले दुवै देशका झण्डालाई बाँधेर जर्मनीको सर्मथन गरिरहेको दृश्य टीभीमा पनि आएको थियो ।

पौडेलले पनि महसुस गरे, ‘विश्वकपमा युरोपबाट धेरै दर्शकहरु आउँदा रहेछन् । एसियाबाट चाहिँ अलि कम आउँदा रहेछन् । युरोपेलीहरुमा फुटबलको ठूलो क्रेजमात्रै होइन, गोलको सेलिब्रेसन पनि गज्जबले गर्दा रहेछन् । बाजागाजा बजाएर रंगशााला छिर्दा रहेछन् ।’

कार्कीलाई पनि युरोपेलीमा फुटबलको क्रेज नै अर्कै रहेछ भन्ने बुझ्न रंगशाला नै पुग्नुपर्‍यो । रंगशाला जाँदा फरक फरक देशका समर्थकहरु एकै बसमा बसेर, कुरा गर्दै जाने दृश्यले पनि आनन्द दियो उनलाई । उनी सुनाउँछन्, ‘हाम्रोमा आशीर्वाद दिँदा ठूलो मान्छे बन्नु, सीडीओ हुनु भनिन्छ । त्यहाँ त फुटबलर हुनु भनिन्छ रे ! त्यसैको असर पनि होला । उनीहरु जुनसुकै देशको भए पनि राम्रो फुटबल खेल्ने खेलाडीलाई सम्मान गर्दा रहेछन् ।’

हजारौं कामदारको पसिनाले निर्मित रंगशाला

कतारले सन् २०१० मा जापान, अमेरिका, दक्षिण कोरिया र अस्ट्रेलियालाई पछि पार्दै विश्वकप आयोजनाको अधिकार पाएको थियो । त्यसपछि रंगशाला निर्माण गर्दा १२ वर्षे अवधिमा ६ हजार पाँच सय ज्यादा विदेशी कामदारले ज्यान गुमाएको रिपोर्टहरुले देखाउँछ । विश्वकपको आयोजना गरेर अन्तर्राष्ट्रिय रुपमा आफ्नो छवि प्रस्तुत गर्न र शक्ति प्रदर्शन गर्नमात्रै कतारले सवा दुई सय बिलियन अमेरिकी डलर खर्चेको छ ।

आठ वटा विशाल रंगशाला र अन्य पूर्वाधार निर्माणमा साढे ६ हजार मजदुरको ज्यान गएको छ । जो न्यूनतम पारिश्रमिकमा ५५ डिग्रीमाथिको गर्मीमा काम गर्न बाध्य भएका थिए । १८ देखि ४० वर्षका उत्पादनशील ती युवामध्ये १६ देखि २८ सय हाराहारीमा नेपाली युवाको ज्यान गएको विभिन्न अन्तर्राष्ट्रिय रिपोर्ट र मजदुरहरुको अधिकारमा सक्रिय रहेका संस्थाहरुको दाबी छ ।

अहिले पनि कतारमा नेपालबाट ४ लाख युवा श्रम गरिरहेका छन् । बंगलादेशका ४ लाख र भारतका ८ लाख युवा छन् । तिनै मजदुरको पसिनामा निर्माण भएको रंगशालामा संसारभरका समर्थक झुम्मिएका छन् । संसारभरका स्टार खेलाडीहरुले गोल गरिरहेका छन्, गोल छेकिरहेका छन् ।

तर, कामदारमाथिको ज्यादती कतार र फिफाले चाहिँ नगरेको शर्माको अनुमान छ । आफैं पनि श्रमिकको रुपमा लुसेल रंगाशाला निर्माणमा खटिएका शर्मा भन्छन्, ‘यहाँ काम गरेबमोजिम नै दिएको छ पारिश्रमिक । तर, कामदारहरुलाई सप्लाइ गर्ने हजारौं कम्पनीहरु छन् । उनीहरु कामदार सप्लायर हुन् । जसले मजदुरलाई आफूले काम गरिरहेको कम्पनीसँग सीधै सम्पर्क गर्न दिँदैन । त्यही कारण कामदारहरु मारमा परेका हुन् ।’

नेपालीले नै बनाएको रंगशालामा फुटबल हेर्न जाँदै गर्दा कामदारमाथिका अन्यायले कताकता दुखाएजस्तो भएको थियो कार्कीलाई । तर, कार्की पनि कामदार सप्लायरका कारण अन्याय हुने गरेको कुरामा विश्वस्त छन् । भन्छन्, ‘हामीले गरेर केही हुने होइन, सम्बन्धित निकायको ध्यान जानुपर्‍यो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *