गठबन्धन सग्लो रहे संघ–प्रदेशका सबै सरकारबाट बढारिन सक्छ एमाले, यस्तो छ जोडघटाउ – Nepal Press

गठबन्धन सग्लो रहे संघ–प्रदेशका सबै सरकारबाट बढारिन सक्छ एमाले, यस्तो छ जोडघटाउ

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभाको नतिजा आइसकेको छ । निर्वाचनको परिणाम आएसँगै दलहरूले संघदेखि प्रदेशसम्म सरकार निर्माणको गृहकार्य बढाएका छन् ।

सत्ता गठबन्धनमा आबद्ध दलसहित नेकपा एमाले तथा यही निर्वाचनबाट उदाएका राजनीतिक दलसमेत सत्ताको जोडघटाउमा लागेका हुन् । प्रत्यक्षतर्फ कांग्रेसले ५७, एमालेले ४४, माओवादीले १८, नेकपा एसले १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपाले ७/७, लोसपाले ४, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेमकिपाले १/१ तथा स्वतन्त्रले ५ सीट जितेका छन् ।

समानुपातिकतर्फको दोलखा, बाजुरासहित केही मत मात्रै गन्न बाँकी छ । पछिल्लो मतपरिणामअनुसार एमालेले ३४ र कांग्रेसले ३२ सिट सुरक्षित गरेका छन् भने माओवादी र रास्वपाले बराबर १४ सिट ल्याउने आङ्कलन छ । यस्तै राप्रपाले ७, जसपाले ५ र जनमत पार्टीले ४ सीट ल्याउन सक्छन् । तर, अन्तिम हिसाब आउन बाँकी नै छ ।

नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सरकारको बागडोर सम्हाल्न आतुर छन् । तर, कांग्रेस नेतृत्वको सत्ता गठबन्धन बहुमत नजिक देखिएको छ । गठबन्धनका कांग्रेस, माओवादी, समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाको प्रत्यक्षमा ९० सीट पुग्छ । समानुपातिकमा कांग्रेस र माओवादीले ४६ सिट निश्चित गरेका छन् । गठबन्धनका अन्य दलले समानुपातिकको थ्रेसहोल्ड कटाउन सकेनन् ।

२७५ जनाको सदनमा सरकार निर्माणका लागि १३८ सांसद चाहिन्छ । गठबन्धनसँग मात्रै १३६ सीट छ । अब दुई सिट मात्रै थपे पुग्ने भएकाले सरकारको नेतृत्वमा गठबन्धनकै दाबेदारी बलियो बनेको हो ।

गठबन्धनसँग गठजोड गरेर सरकारमा जान डा. सिके राउत नेतृत्वको जनमत पार्टी लालायित देखिएको छ । यस्तै रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी तथा प्रभु साहलगायतका स्वतन्त्र सांसदहरू पनि च्याँखे थाप्न खोजिरहेका छन् । यता, निर्वाचनको मुखमा गठबन्धन छाडेर एमालेसँग जोडिएको जसपा पनि चुनाव परिणामसँगै गठबन्धनमै फर्किने कसरतमा छ । सरकारमा भाग पाउने अभिलाषाका साथ जसपाले एमालेसँगको सहकार्य टुंगिएको घोषणा गरिसकेको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले आइतबार विराटनगर पुगेर भने, ‘हामीले एमालेसँग तत्कालका लागि केही सिटमा तालमेल गरेका हौँ । हाम्रो मोर्चाबन्दी र गठबन्धन होइन । त्यो चुनावसँगै सकियो । अब नयाँ धरातलमा नयाँ ढंगले कसरी जाने भन्ने विषयमा छलफल हुन्छ ।’

अध्यक्ष यादवको अभिव्यक्तिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विपक्षी मोर्चाबन्दीका लागि समस्या परेको कतिपयको बुझाइ छ । ओलीले विपक्षी कित्तामा रहेका राप्रपा र जसपाको साथमा गठबन्धन फुटाएर आफ्नै नेतृत्वको सरकार बनाउने गृहकार्य गरिरहेका छन् ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पनि अब बन्ने सरकार गठबन्धनकै हुने दाबी गरे। नेतृत्वको विषयमा गठबन्धन दलमा छलफलपछि टुंगिने उनी बताउँछन् ।

यदि सरकार निर्माणका विषयमा गठबन्धन एकजुट भयो भने संघमा मात्रै नभएर प्रदेशहरूमा पनि सरकार निर्माणको लागि बहुमत पुग्ने स्थिति छ । त्यसो भएमा दोस्रो ठूलो दल एमाले सबैतिरबाट बढारिने छ । हेरौँ, कुन प्रदेशको गणित के छ ?

प्रदेश १ मा कडा टक्कर

प्रत्यक्ष र समानुपातिक गरेर यहाँ ९३ सांसद रहन्छन् । यहाँ एमाले पहिलो पार्टी हो । तर, गठबन्धन एकजुट भए एमालेलाई सरकार गठनका लागि संख्या पुग्दैन ।

यस प्रदेशमा एमालेले ४० (प्रत्यक्ष २५, समानुपातिक १५), कांग्रेसले २९ (प्रत्यक्ष १७, समानुपातिक १२), माओवादीले १३ (प्रत्यक्ष ९, समानुपातिक ४), नेकपा एसले ४ (प्रत्यक्ष ३, समानुपातिक १), राप्रपाले ६ (प्रत्यक्षमा २, समानुपातिक ४) र जसपाले समानुपातिकमा १ सीट जित्दैछन् । सरकार गठनका लागि ४७ सांसद चाहिन्छ । एमालेलाई सरकार गठनका लागि ७ जना अपुग हुँदा गठबन्धनलाई १ सांसद मात्रै अपुग हुन्छ । त्यो अवस्थामा जसपाका एक सांसद थपेर गठबन्धनले सरकार बनाउन सक्छ ।

यता, एमालेलाई भने राप्रपाको साथले मात्रै पुग्दैन । जसपालाई पनि ल्याउनुपर्छ । त्यस्तो अवस्थामा १ सीट रहेको जसपाले जता फर्क्यो त्यतै झिनो बहुमतको सरकार बन्न सक्ने देखिन्छ ।

मधेशमा जसपा र जनमत निर्णायक

मधेश प्रदेशमा १०७ सांसद रहेका छन् । प्रदेशगत रूपमा एमाले पहिलो दल बने पनि सरकार गठनको लागि पुग्ने संख्या यहाँ पनि एमालेसँग छैन । सरकार गठनका लागि यस प्रदेशमा ५४ सांसद चाहिन्छ ।

एमालेले २३ (प्रत्यक्ष १५, समानुपातिक ८), कांग्रेसले २२ (प्रत्यक्ष १३, समानुपातिक ९) जसपाले १६ (प्रत्यक्षमा ९, समानुपातिक ७), लोसपाले ९ (प्रत्यक्ष ७, समानुपातिक २), जनमतले १३ (प्रत्यक्ष ६, समानुपातिक) माओवादीले ८ (प्रत्यक्ष ४, समानुपातिक ४), नेकपा एसले ७ (प्रत्यक्ष ४, समानुपातिक ३) र ६ जना स्वतन्त्रले जितेका छन् ।

यहाँ गठबन्धनको ४६ सांसद हुने देखिन्छ । सरकार बनाउन ८ सांसद अपुग हुने भएकाले जसपा र जनमत पार्टी निर्णायक हुन्छ । यी दुवै दल केन्द्रमा सत्ता गठबन्धनसँग मिल्न लालायित छन् । तर, एकै साथ सरकारमा आउँछन् आउँदैनन् हेर्न बाँकी छ ।

बागमतीमा गठबन्धनलाई ढुक्क

बागमती प्रदेशमा ११० सांसद रहेका छन् । यहाँ सरकार गठनका लागि ५६ सांसद चाहिन्छ ।

कांग्रेसले ३६ (प्रत्यक्ष २५, समानुपातिक ११), माओवादीले २१ (प्रत्यक्ष १४, समानुपातिक ७), एमालेले २७ (प्रत्यक्ष १३, समानुपातिक १४), राप्रपाले १४ (प्रत्यक्ष ७, समानुपातिक ७), नेकपा एसले ७ (प्रत्यक्ष ५, समानुपातिक २), नेमकिपा ३ (प्रत्यक्ष १, समानुपातिक २) र हाम्रो नेपाल पार्टीले २ (प्रत्यक्ष १, समानुपातिक १) सीट जितेका छन् । यहाँ गठबन्धन दलहरूसँग ६४ सिट रहेकाले सरकार गठनका लागि आवश्यक संख्या आरामसँग पुग्छ ।

गण्डकीमा गठबन्धन नै हाबी

गण्डकीमा जम्मा ६० सांसद रहेका छन् । सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ ।

यहाँ कांग्रेसले २६ (प्रत्यक्ष १८, समानुपातिक ८) एमालेले २१ (प्रत्यक्ष १२, समानुपातिक ९), माओवादीले ८ (प्रत्यक्ष ५, समानुपातिक ४) सिट जितेका छन् । समानुपातिकतर्फ नेकपा एसले १, राप्रपाले २, हाम्रो नेपालीले १ सीट जित्ने देखिन्छ । यहाँ पनि गठबन्धनलाई सरकार बनाउन आवश्यक संख्या ढुक्कसँग पुग्ने अवस्था छ ।

लुम्बिनीमा साना दलको हातमा चाबी

लुम्बिनी प्रदेशमा ८७ सांसद रहेका छन् । यहाँ सरकार गठनका लागि ४४ सांसद आवश्यक पर्छन् ।

एमालेले ३० (प्रत्यक्ष १८, समानुपातिक १२), कांग्रेसले २७ (प्रत्यक्ष १७, समानुपातिक १०), माओवादीले ९ (प्रत्यक्ष ५, समानुपातिक ४) सीट ल्याउने देखिएको छ ।

यस्तै, जसपाले ३ (प्रत्यक्ष २, समानुपातिक १), नागरिक उन्मुक्ति पार्टीले ५ (प्रत्यक्ष २, समानुपातिक ३), लोसपाले ३ (प्रत्यक्ष २, समानुपातिक १), जनमतले ३ (प्रत्यक्ष १, समानुपातिक २) जितेका छन् ।

यस प्रदेशमा गठबन्धनको ३९ सांसद मात्रै हुने सम्भावना छ । सरकार गठनका लागि गठबन्धनले साना दल र स्वतन्त्र जितेका ३ सांसदको साथ लिनुपर्ने हुन्छ ।

कर्णालीमा गठबन्धनलाई छैन डर

कर्णाली प्रदेशमा ४० सांसद छन् । सरकार गठनका लागि २१ सांसद चाहिन्छ।

कांग्रेसले १४ (प्रत्यक्ष ९, समानुपातिक ५), माओवादीले १३ (प्रत्यक्ष ९, समानुपातिक ४) एमालेले १० (प्रत्यक्ष ५, समानुपातिक ५) र एक स्वतन्त्र तथा समानुपातिकतर्फ नेकपा एस, राप्रपा र नेमकिपाले एक सीट ल्याउन सक्ने आङ्कलन गरिएको छ । यहाँ पनि सरकार गठनका लागि गठबन्धनको स्पष्ट बहुमत छ ।

सुदूरपश्चिममा सुरक्षित

सुदूरपश्चिम प्रदेशमा ५३ सांसद छन् । यहाँ सरकार गठनका लागि २७ सांसद आवश्यक हुन्छ ।

यस प्रदेशमा एमाले कमजोर देखिएको कारणले सरकार गठनमा गठबन्धन हाबी हुने देखिएको छ । कांग्रेसले १८ (प्रत्यक्ष १२, समानुपातिक ६), माओवादीले १२ (प्रत्यक्ष ८, समानुपातिक ४), नागरिक उन्मुक्ति पार्टीले ७ (प्रत्यक्ष ५, समानुपातिक २) एमाले १० (प्रत्यक्ष ३, समानुपातिक ७) र नेकपा एसले ४ (प्रत्यक्ष ३, समानुपातिक १) जितेका छन्।

यस्तै, १ स्वतन्त्रले जितेका छन् भने समानुपातिकमा राप्रपाले एक सीट ल्याउने देखिन्छ । यहाँ पनि सरका गठनको लागि आवश्यक सीट गठबन्धनसँग सुरक्षित छ।


प्रतिक्रिया

One thought on “गठबन्धन सग्लो रहे संघ–प्रदेशका सबै सरकारबाट बढारिन सक्छ एमाले, यस्तो छ जोडघटाउ

  1. यस्ता लुटेराहरूसँग मिलेर एमालेले सरकार बनाउन नै हुँदैन । कतै पनि सरकार बनाउन आवश्यक छैन । तर यी लुटेराहरूलाई पाईलैपिच्छे निगरानी राखेर देशलाई लुटनबाट बचाउनुपर्छ । एमाले अझ कडारूपमा प्रस्तुत हुनुपर्छ । मध्यावधी अवश्यमभावी छ । त्यसको तयारी पनि गर्दै जानुपर्छ । यी भारतीय दलालहरूलाई ठिक पार्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर