विश्वकप फुटबलमा गोल समान भए गोल्डेन बुट विजेता कसरी छनोट गरिन्छ ? – Nepal Press

 विश्वकप फुटबलमा गोल समान भए गोल्डेन बुट विजेता कसरी छनोट गरिन्छ ?

दोहा। कतारमा जारी विश्वकपमा साविक विजेता फ्रान्सका स्टार स्ट्राइकर केलियन एमबाप्पे सर्वाधिक गोल गर्ने खेलाडीलाई दिइने गोल्डेन बुटका लागि बलिया दावेदार बनेका छन्।

प्रतियोगितामा एमबाप्पेले ५ गोल र दुई असिस्ट गरेका छन्।  अर्जेन्टिनाका लियोनल मेस्सीले ३ गोल  र एक असिस्ट गरेका छन्। स्पेनका अल्भारो मोराटाले पनि ३ गोल र एक असिस्ट गरेका छन्। ३ गोल गर्ने अन्य ५ खेलाडी छन् तीमध्ये इक्वेडरका इनर भ्यालेन्सियाको मात्र यात्रा रोकिएको छ।

प्रतियोगिताको फाइनल समापन नभएसम्म गोल्डेन बुट कसले जित्छ भनेर अनुमान लगाउन गाह्रो हुन्छ। विश्वकप फुटबल इतिहासमा एकै खेलमा एकै खेलाडीले ५ गोलसम्म गरेको इतिहास छ। रुसका ओलेग सालेन्कोले सन् १९९४ को विश्वकपमा क्यामरुनविरुद्ध ५ गोल गरेका थिए। अन्य ६ खेलमा एकै खेलाडीले ४ गोलसम्म गरेको इतिहास छ।

विश्वकपको एकै संस्करणमा सर्वाधिक गोल गर्ने फ्रान्सका जस्ट फोन्टाइन हुन्। उनले सन् १९५८ को विश्वकपमा १३ गोल गरेका थिए। सन् १९५४ को विश्वकपमा हंगेरीका सन्दोर कक्सिसले ११ र सन् १९७० को विश्वकपमा तत्कालिन पश्चिम जर्मनीका गर्ड मुलरले १० गोल गरेका थिए। त्यसबाहेक कुनैपनि संस्करणमा एकै खेलाडीले दोहोरो अंकमा गोल गरेको इतिहास छैन।

सन् १९७४ यताका विश्वकपमा एकै खेलाडीले ६ भन्दा बढी गोल गरेको एउटा मात्र संस्करण छ। सन् २००२ को विश्वकपमा ब्राजिलका रोनाल्डोले ८ गोल गरेका थिए। पछिल्ला २ संस्करणमा ६ गोल गरेका खेलाडीले गोल्डेन बुट जितेका छन्। सन् २००६ को विश्वकपमा ५ गोल गरेका जर्मनीका मिरोस्लाभ क्लोस र सन् २०१० मा ५ गोल नै गरेका जर्मनीका थोमस मुलरले गोल्डेन बुट जितेका थिए।

दुवै संस्करणमा जर्मनी सेमिफाइनलसम्म पुगेको थियो। सन् २०१४ मा क्वाटरफाइनलबाटै बाहिरिएको कोलम्बियाका हामेस रोड्रिगुएज ६ गोलसहित गोल्डेन बुट जित्न सफल भएका थिए। चार वर्षअघि सेमिफाइनलसम्म पुगेको इङ्ल्यान्डका हेरी केन ६ गोलसहित गोल्डेन बुट विजेता बनेका थिए।

विश्वकपमा दुई वा सोभन्दा बढी सर्वाधिक गोलकर्ता भए पेनाल्टीबाहेक बढी गोल गर्नेलाई गोल्डेन बुट दिइन्छ। त्यो पनि समान भएको अवस्थामा असिस्ट बढी गर्ने खेलाडीलाई गोल्डेन बुट प्रदान गरिन्छ। असिस्ट पनि समान रहेको अवस्थामा जसले कम समय खेलेको छ उसले गोल्डेट बुट पाउँछ। गोल्डेन बुट अफिसियलरुपमा  सन् १९८२ को विश्वकपबाट वितरण सुरु भएको हो। सन् २०१० अघिसम्म गोल्डेन सुका रुपमा यो अवार्ड वितरण हुने गरेको थियो।

सन् १९९४ को विश्वकपबाट एक जनालाई मात्र गोल्डेन बुट दिनका लागि टाइब्रेकरको नियम ल्याइएको थियो। जसमा समान गोल भए पेनाल्टीबाहेकको गोल जसले बढि गरेको छ त्यसैलाई प्रदान गरिने व्यवस्था थियो। त्यो पनि बराबरी भएको अवस्थामा बढी असिस्ट गर्ने खेलाडीले पाउने नियम बनाइएको थियो। तर यो नियम कार्यान्वयन भएको पहिलो विश्वकपमै दुई जनालाई गोल्डेन बुट प्रदान गर्नुपर्ने अवस्था बन्यो। रुसका ओलेग सालेन्को र बुल्गेरियाका रिस्तो स्टोइचकोभले समान गोल र समान असिस्ट गरेका थिए। दुवैले ६ गोल र एक असिस्ट गरेका थिए।

रुस समूहगत चरणबाटै बाहिरिएपनि सालेन्को गोल्डेन बुट विजेता बने। समूहगत चरणबाटै बाहिरिएका खेलाडीले गोल्डेन बुट जितेको यही एक मात्र घटना हो। गोल्डेन बुट विजेता छुट्याउन सन् २००६ मा अर्को पनि टाइब्रेकर नियम ल्याइयो। असिस्ट पनि बराबरी भएको अवस्थामा जसले कम समय खेलेको छ उसैलाई गोल्डेन बुट दिइने प्रावधान राखियो।

सन् २०१० को विश्वकपमा चार जनाले सर्वाधिक ५ गोल गरेका थिए। बढी असिस्ट गरेको आधारमा मुलरले अवार्ड विजेता बने। उनले ३ असिस्ट गरेका थिए भने अन्यको नाममा एक एक असिस्ट रहेको थियो। स्पेनका डेभिड भिया कम समय खेलेको आधारमा दोस्रो भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *