‘आधार इलाका’ मै कसरी कमजोर बन्यो माओवादी ? – Nepal Press

‘आधार इलाका’ मै कसरी कमजोर बन्यो माओवादी ?

रुपन्देही । लुम्बिनी माओवादीले ‘आधार इलाका’ दाबी गरेको प्रदेश हो । तर, हरेक निर्वाचनमा उसको जनमत निरन्तर ओरालो लागेको छ । यो प्रदेशमा माओवादीले सुरु गरेको सशस्त्र युद्धको उद्गमस्थल रोल्पा, रुकुमपूर्वमात्रै होइन दाङ, बर्दिया, बाँके, प्युठान, गुल्मी, कपिलवस्तु, अर्घाखाँचीसहित १२ जिल्ला छन् । माओवादीका धेरै नेताहरु यही प्रदेशका छन् ।

अहिले पनि यो प्रदेशबाट पार्टीमा ४ जना पदाधिकारी, १४ जना स्थायी कमिटी, ४० जना केन्द्रीय सदस्य छन् । तर, यति धेरै नेता भएको प्रदेशमा उसको जनमत निरन्तर ओरालो लागेको लागेयै छ । मंसिर ४ गते भएको निर्वाचनमा पार्टीको शीर्ष तहमै रहेका नेताहरुले गठबन्धनका कारण टिकट पाउन सकेनन् । टिकट पाएकाहरुले पनि जीत निकाल्न सकेनन् ।

लुम्बिनीबाट उपाध्यक्ष कृष्णबहादुर महरा (दाङ), उपमहासचिव वर्षमान पुन (रोल्पा), सचिव चन्द्रप्रकाश खनाल बलदेव (कपिलवस्तु) र सचिव डिलाराम आचार्य (अर्घाखाँची) छन् । त्यस्तै स्थायी कमिटीमा पम्फा भुसाल (अर्घाखाँची), जयपुरी घर्ती (रोल्पा), ओनसरी घर्ती (रोल्पा), पूर्णाकुमारी सुवेदी (बाँके), रेखा शर्मा (दाङ), गणेशमान पुन (रुकुमपूर्व), जोखबहादुर महरा (रोल्पा), कुलप्रसाद केसी (रोल्पा), महेश्वर गहतराज (बाँके) र हकिकुल्लाह खाँ (रुपन्देही) रहेका छन् ।

पाँच दलीय सत्ता गठबन्धनसँगै दल नेसपा र लोसपाको समर्थन हुँदाहुँदै पार्टीका उम्मेदवारहरु पराजित भएपछि अहिले माओवादीभित्र चर्को बहस अघि बढेको छ । नेतृत्वमै गम्भीर समीक्षा हुनुपर्ने विषय बाहिर आएको छ । प्रदेशसभामा पार्टीबाट टिकट नपाएर स्वतन्त्र उठेका तीन जनाले जितेर नेतृत्वलाई खुला हाँक दिएका छन् ।

अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ ७ संघीय सांसद र १४ प्रदेश सांसद जितेको माओवादी अहिले ३ संघीय सांसद र ५ प्रदेश सांसदमा खुम्चिएको छ ।

प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालले पराजयको नैतिक जिम्मेवारी लिएर पदबाट राजीनामा दिएका छन् । उनले नेतृत्वको बेवास्ता र स्थानीय कमिटीसँग सल्लाह नगरी उम्मेदवार चयन गर्दा पार्टी कमजोर भएको उल्लेख गरेका छन् । उनको राजीनामाले पनि माओवादीभित्र गठबन्धनको चुनावी नतिजाले खैलाबैला भएको प्रस्ट पार्छ ।

सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी सचिव चन्द्रप्रकाश खनाल बलदेव यसअघि जितेको कपिलवस्तु १ मा यसपटक फराकिलो मतान्तरले पराजित भए । स्थायी कमिटी सदस्य महेश्वर गहतराज पनि आफैंले जितेको बाँके १ सुरक्षित गर्न सकेनन् । यसअघि लगातार फराकिलो मतान्तरले जित्दै आएको बर्दिया २ पनि माओवादीले गुमायो ।

यसअघि माओवादीले जितेको अर्घाखाँचीमा गठबन्धनका कारण उम्मेदवारी नै पाएन । प्रदेशमा पाए पनि अन्तिममा छोड्नु परेपछि स्थानीय कार्यकर्ता निराश भएका छन् । माओवादीले आफ्नो कोटामा परेको रुपन्देही १ एमाले छाडेका घनश्याम भुसाललाई दियो । तर, भुसाल पनि फराकिलो मतान्तरले पराजित भए ।

प्रदेशतर्फ माओवादीका शीर्ष नेताहरु नै पराजित भएका छन् । गुल्मी १ (१) मा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल पराजित भए । मुख्यमन्त्रीमा दाबीसहित चुनावी प्रचारमा गएका बरालले आफ्नो पराजयपछि नैतिकताको आधारमा राजीनामा दिए । उनले जिल्लामा देखापरेका समस्या र अन्तरविरोधलाई यथासमयमा सम्बोधन गर्न नसकेको स्वीकार गरेका छन् ।

बरालले विविध कारणले लुम्बिनी प्रदेशमा पार्टीको विगतको परिणामलाई कायम राख्न नसकेको र आफू स्वयं उम्मेदवार बनेर पनि परिणाम सफल बनाउन नसकेकाले सबै परिणामको नैतिक जिम्मेवारी लिई अध्यक्षबाट राजीनामा दिएको जानकारी दिए । उनले भने, ‘अविचलित रुपमा पार्टी र आन्दोलनले सुम्पेको जुनसुकै जिम्मेवारी पूरा गर्ने र सहिदहरुको सामु लिएको शपथ कहिल्यै नभुल्ने प्रण गर्छु ।’

पार्टीले पराजय भोग्नुका पछाडि प्रदेशसभा समानुपातिकतर्फको उम्मेदवार सूची तयार गर्दा स्थानीय पार्टी कमिटीको भावना र मर्मलाई न्याय गर्न नसकेको, प्रदेशसभा सदस्य प्रत्यक्षतर्फका सीट बाँडफाँट र कतिपय स्थानमा स्थानीय पार्टीको सिफारिसबमोजिम उम्मेदवारलाई टिकट वितरणमा न्याय गर्न नसकेको, उम्मेदवार मनोनयन दर्ता भइसकेपछि विभिन्न जिल्लामा देखापरेका समस्या र अन्तरविरोधलाई यथासमयमा सम्बोधन गर्न नसकेकोलगायत कारण रहेको बरालले उल्लेख गरेका छन् ।

२०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा माओवादीले एमालेसँगको तालमेलमा प्रत्यक्षमा १४ सीट जितेको थियो । यसपटक नेपाली कांग्रेससहितको सत्ता गठबन्धनमा रहँदा कांग्रेसले ३३, माओवादीले १८, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले एक–एक क्षेत्र भागबन्डा गरेका थिए । तर, माओवादी केन्द्रले ५ सीटमात्रै जितेको छ । गठबन्धनको विरोध गर्दै स्वतन्त्र उम्मेदवारी दिएका पार्टीका नेताहरुले ३ क्षेत्र जितेका छन् ।

माओवादीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका दीपेन्द्र पुन रोल्पा १ (२), सरुल पुन रुकुमपूर्व १ (१) र खड्ग बस्नेत नवलपरासी २ (२) बाट निर्वाचित भए । उनीहरुमध्ये सरुल पुनलाई एमालेले समर्थन गरे पनि अरुले आफ्नै बलमा जीत निकाले ।

माओवादीबाट जोखबहादुर महरा रोल्पा १ (१), इन्द्रजीत थारु दाङ १ (१), कृष्णा केसी–बाँंके १ (१), तुलाराम घर्ती पाल्पा २ (२) र धनबहादुर मास्की दाङ ३ (२) मात्रै निर्वाचित भएका छन् ।

प्रतिनिधिसभामा माओवादी केन्द्रबाट रोल्पाबाट वर्षमान पुन, रुकुमपूर्वबाट पूर्णबहादुर घर्ती र दाङ २ बाट रेखा शर्मा विजयी भए ।

प्रत्यक्षतर्फ तेस्रो स्थानमा पुगेको माओवादी आफैंले आधार इलाका मानेको लुम्बिनीमा समानुपातिकतर्फ पनि तेस्रो स्थानमै चित्त बुझाउनुपरेको छ । यहाँ एमाले पहिलो र कांग्रेस दोस्रो भएका छन् ।

माओवादीका केन्द्रीय सदस्य विनोद पहाडीले पार्टीमा नेताहरु धेरै हुनु, जिम्मेवारी व्यवस्थापन समयमा नहुनु र उम्मेदवार समयमा टुंग्याउन नसक्नु नै पार्टी पराजयका कारण भएको बताए । उनी पटक–पटक उम्मेदवारका क्षेत्र फरक पारिनु, गठबन्धनको रणनीतिक योजना बनाउन नसक्नु र कतिपय क्षेत्रमा उम्मेदार टुंगो लगाउँदा स्थानीय कमिटीसँग परामर्शसमेत नगरिएका कारण पार्टी कमजोर भएको स्वीकार गर्छन् ।

‘म पनि प्रदेशसभाको सदस्य थिएँ, मेरो उम्मेदवारी पनि समयमा टुंगो लागेन, उम्मेदवारी समयमा नटुंगिँदा तयारी गर्न पुगेन र मतदातासँग पुग्नै सकिएन, म जस्तै धेरै उम्मेदवार साथीहरुले समयमै तयारी गर्नसक्नुभएन’, उनले भने, ‘अर्कोतर्फ गठबन्धन घोषणा भयो, इमानदार कार्यकर्ता लागे । अवसरवादी नेता कार्यकर्ताहरु शक्तिको पछाडि लागे । तर, गठबन्धनबाट त्यो रोक्ने कुनै समन्वय भएन र अहिलेको नतिजा आएको हो ।’

के गर्छन् माओवादी छाडेर स्वतन्त्र जितेका तीन जना ?

माओवादीबाट बागी उम्मेदवारी दिएका ३ जना प्रदेशसभा सांसद तत्काल पार्टीमा नफर्किने भएका छन् । पार्टी र सत्ता गठबन्धनमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका तीनै जनाले स्वतन्त्र सांसदको रुपमा रहने बताएका हुन् ।

रोल्पा प्रदेशसभा २ बाट निर्वाचित दीपेन्द्र पुनले देशैभर स्वतन्त्र रुपमा निर्वाचित प्रदेशसभा सदस्यहरुसँग कुरा भइरहेको बताए । सबै स्वतन्त्र जितेका सांसदहरु र मतदातासँग सल्लाह गरेर पार्टीमा फर्किने/नफर्किने निर्णय गर्ने पुनले बताए ।

अहिलेकै अवस्थामा माओवादीमा फर्किने अवस्था नरहेको उनको भनाइ छ । माओवादीले आफूलाई पार्टीमा भित्र्याउन कुनै पहल नगरेको पुनले बताए ।

आफ्नो पुरानो पार्टीसहित सबै मतदाताले भोट दिएकाले तत्काल पार्टीमा नफर्किने नवलपरासी २ प्रदेशसभा १ बाट निर्वाचित खड्ग बस्नेतले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर