समानुपातिकतर्फ प्रदेशमा कसको कति सीट ? (सूचीसहित) – Nepal Press

समानुपातिकतर्फ प्रदेशमा कसको कति सीट ? (सूचीसहित)

काठमाडौ । मंसिर ४ गते सम्पन्न आमनिर्वाचनको समानुपातिकतर्फको मत गणना अन्तिम चरणमा पुगेको छ । बाजुरा, दोलखा र स्याङजा क्षेत्र नम्बर २ को बाहेक सबै क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको मत परिणाम अन्तिमतिर पुग्दै गर्दा कुन दलले कति सीट प्राप्त गर्ला भन्नेमा सबैको चासो छ ।

प्रदेश १ मा ६ दलले कटाए थ्रेस होल्ड

प्रदेश १ मा समानुपातिकतर्फ १८ लाख ९९ हजार १४४ मत सदर भएको छ । सदर मतको १.५ प्रतिशत (थ्रेस होल्ड) कटाउने दलले मात्रै प्रदेशसभाको समानुपातिकतर्फको सीट प्राप्त गर्छ । यहाँ २८ हजार ४८८ मत प्राप्त गर्ने दलले समानुपातिकतर्फ सीट पाउनेछ ।

प्रदेश १ मा समानुपातिकतर्फ ३७ दलले मत प्राप्त गरे पनि ६ दलले मात्रै थ्रेस होल्ड कटाएका छन् । नेकपा एकीकृत समाजवादी थ्रेस होल्ड कटाउने छैटौं दल रहेको छ । उसले करिब ३ प्रतिशत (५५ हजार ९५७) मत पाएको छ । प्रदेश १ सभाको समानुपातिकतर्फको ३७ सीट थ्रेस होल्ड कटाउने ६ दललाई भाग हाल्दा नेकपा एसले १ सीटमात्रै पाउनेछ ।

यहाँ सबैभन्दा बढी नेकपा एमालेले ३५ प्रतिशत (६ लाख ६५ हजार ४६०) मत पाएको छ । उसले समानुपातिकतर्फ सबैभन्दा बढी १४ देखि १५ सीट पाउनेछ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २९ प्रतिशत (५ लाख ६२ हजार ९५६) मत पाएको छ । उसले १२ सीट पाउने देखिन्छ ।

तेस्रो स्थानमा रहेको राप्रपाले १० प्रतिशत (१ लाख ९८ हजार ५११) मत पाएको छ । यसअनुसार उसले ४ सीट पाउनेछ । चौथोमा नेकपा माओवादी केन्द्रले ९ प्रतिशत (१ लाख ८१ हजार २४५) मत) पाएको छ । यसअनुसार ४ सीट माओवादीले थप्नेछ ।

पाँचौंमा ३ प्रतिशत (६१ हजार ७२३) मत पाएको जनता समाजवादी पार्टीले २ सीटसम्म पाउनेछ ।

मधेसमा १० दलले पाउनेछन् समानुपातिक सीट

मधेस प्रदेशमा ३६ दलमध्ये १० वटाले समानुपातिकतर्फ थ्रेस होल्ड कटाएका छन् । यहाँ थ्रेस होल्ड कटाउने अन्तिम पार्टी नागरिक उन्मुक्ति रहेको छ । मधेसका ६४ वटा निर्वाचन क्षेत्रबाट प्राप्त मतमध्ये २० लाख ८६ हजार २९८ मत सदर भएको छ । जसको १.५ प्रतिशत ३१ हजार २९५ मत हुन्छ । यहाँ समानुपातिकबाट ४३ जना सांसद प्रदेशसभामा सहभागी हुनेछन् ।

मधेसमा सबैभन्दा बढी नेपाली कांग्रेसले सदर मतको १९ प्रतिशत (४ लाख १४४) मत पाएको छ । यसअनुसार उसले सबैभन्दा बढी ८ देखि ९ सीट पाउनेछ ।

दोस्रोमा नेकपा एमालेले १७ प्रतिशत (३ लाख ५१ हजार ७६८) मत पाएको छ । यस आधारमा उसले ७ देखि ८ सीटसम्म पाउनेछ । तेस्रो स्थानमा रहेको जनमत पार्टीले १५ प्रतिशत (३ लाख २९ हजार १७७) मत पाएको छ । जनमतले समानुपातिकबाट थप ७ जना सांसदलाई प्रदेशसभा सहभागी गराउनेछ ।

१४ प्रतिशत (२ लाख ९८ हजार ७७४) मत पाएको जनता समाजवादी पार्टीले ६ सीटसम्म पाउनेछ । नेकपा माओवादी केन्द्रले ८ प्रतिशत (१ लाख ८० हजार ८६०) मत पाएर ४ सीटसम्म भाग पाउनेछ ।

नेकपा एकीकृत समाजवादीले ५ प्रतिशत (१ लाख १३ हजार ३६४) मत पाएको छ । यस आधारमा उसले २ सीट पाउनेछ । लोकतान्त्रिक समाजवादी पार्टीले पनि ५ प्रतिशत (१ लाख १३ हजार ३६४) मत पाएको छ । यसअनुसार लोसपाले २ सीट नै पाउनेछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ प्रतिशत (६५ हजार ५४) मत पाएको छ । उसले एक सीट भाग पाउनेछ । नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी २ प्रतिशत मत पाएकाले समानुपातिकतर्फ एक-एक सीट पाउनेछन् ।

बागमतीमा लौरो अभियानले कटायो थ्रेसहोल्ड

बागमतीमा ४४ दलले समानुपातिकतर्फ भाग लिएका थिए । यहाँ १८ लाख ५७ हजार ९६६ मत सदर भएको छ । जसअनुसार २७ हजार ८७० मत १.५ प्रतिशतको थ्रेसहोल्ड हो । जुन थ्रेस होल्ड कटाएका ७ वटा दलले १७ लाख ५७ हजार ४७२ मत पाएका छन् । यी सात दलले पाएको मतलाई ४४ सीटमा भाग लगाइन्छ ।

जसअनुसार सबैभन्दा धेरै ३० प्रतिशत (५ लाख ६२ हजार ६७५) मत पाएको नेकपा एमालेले १४ सीटसम्म पाउनेछ । दोस्रोमा नेपाली कांग्रेसले २५ प्रतिशत (४ लाख ७१ हजार ९६१) मत पाएको छ । कांग्रेसले १२ सीट पाउनेछ ।

करिब १५ प्रतिशत (२ लाख ७२ हजार ८९) मत पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकामा ७ सीटसम्म पाउनेछ । नेकपा माओवादी केन्द्रले पनि ७ सीटसम्म पाउनेछ । उसले करिब १५ प्रतिशत (२ लाख ७० हजार ३७३) मत पाएको छ ।

साढे ३ प्रतिशत (६८ हजार ६५४) मत पाएको नेपाल मजदुर किसान पार्टीले बागमतीमा समानुपातिकतर्फ २ सीटसम्म पाउनेछ । ३ प्रतिशत (६४ हजार १०८) मत पाएको नेकपा एकीकृत समाजवादीले पनि २ सीटसम्म पाउनेछ ।

लौरो अभियान चलाएको हाम्रो नेपाली पार्टीले बागमतीमा समानुपातिकतर्फ एकसीट पाउने देखिएको छ । प्रत्यक्षतर्फ समेत एक सीट जितेको लौरो अभियानले बागमतीमा साढे २ प्रतिशत (४७ हजार ६१३) मत पाएको छ ।

गण्डकीमा ७ दलले पाउनेछन् समानुपातिक सीट

गण्डकी प्रदेशमा ३१ दलले पाएको ९ लाख ८५ हजार ८०२ मत सदर भएको छ । जसमा १४ हजार ७८७ मत (१.५ प्रतिशत थ्रेसहोल्ड) कटाएका ७ दलले ९ लाख ४२ हजार ७९८ मत पाएका छन् । यी सात दलले पाएको मतलाई २४ सीटमा भाग लगाउँदा सबैभन्दा धेरै ३७ प्रतिशत (३ लाख ६७ हजार ९८९) मत प्राप्त गरेको नेकपा एमालेले ९ सीट पाउनेछ ।

दोस्रोमा नेपाली कांग्रेसले ३५ प्रतिशत (३ लाख ४९ हजार ६२८) मत पाएको छ । यसअनुसार कांग्रेसले ८ देखि ९ सीट नै पाउनेछ । करिब १२ प्रतिशत (१ लाख १६ हजार ९४५) मत ल्याएको नेकपा माओवादी केन्द्रले २ देखि ३ सीट पाउनेछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ प्रतिशत (५९ हजार ४८३) मत ल्याएको छ । उसले एकदेखि २ सीटसम्म पाउनेछ ।

हाम्रो नेपाली पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले थ्रेसहोल्ड कटाएर समानुपातिकतर्फ एक÷एक सीट पाउने सम्भावना छ । हाम्रो नेपाली पार्टीले करिव २ प्रतिशत (१८ हजार ७३७) मत पाउँदा नेकपा एसले १.५२ प्रतिशत (१५ हजार ७६) मात्रै मत पाएको छ । जनमोर्चाले भने १.५१ प्रतिशत (१४ हजार ९४०) मत पाएको छ ।

लुम्बिनीमा १० दलले कटाए थ्रेस होल्ड

लुम्बिनी प्रदेशमा ३२ दलले प्राप्त गरेको १८ लाख ८७ हजार ७८ मत सदर भएको छ । जसमा १० वटा दलले २८ हजार ३०६ मत (१.५ प्रतिशत थ्रेसहोल्ड) कटाएका छन् । १० दलले पाएको १७ लाख ७७ हजार ७२० मतलाई ३५ सीटमा भाग लगाउँदा सबैभन्दा धेरै ३० प्रतिशत (५ लाख ७० हजार ९२१) मत पाएको नेकपा एमालेले ११ सीटसम्म भाग पाउनेछ ।

दोस्रोमा नेपाली कांग्रेसले २६ प्रतिशत (४ लाख ९९ हजार ९८६) मत ल्याएको छ छ । उसले ९ देखि १० सीटसम्म भाग पाउनेछ । १० प्रतिशत (१ लाख ९८ हजार ४५०) मत पाएको नेकपा माओवादी केन्द्रले ५ वटासम्म सीट पाउनेछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ प्रतिशत (१ लाख २७ हजार ४५२) मत ल्याएर २ सीट पाउनेछ । ६ प्रतिशत (१ लाख २५ हजार ५२१) मत प्राप्त गरेको नागरिक उन्मुक्ति पार्टीले पनि २ सीट पाउनेछ । ४ प्रतिशत (८१ हजार ६०५) मत पाएको जनमत पार्टीले एक सीट पाउँदा ३ प्रतिशत (६० हजार ८८६) मत ल्याएको जनता समाजवादी पार्टीले पनि एक सीट नै पाउनेछ ।

यहाँ थ्रेस होल्ड कटाएका नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले एक÷एक सीट पाउनेछन् ।

कर्णालीमा ६ दलले पाउनेछन् समानुपातिकमा भाग

कर्णाली प्रदेशमा २८ दलले पाएको ५ लाख ७७ हजार ८२९ मत सदर भएको छ । जसमा ८ हजार ६६८ मत (१.५ प्रतिशत थ्रेसहोल्ड) कटाउने ६ दलले ५ लाख ६२ हजार ३४० मत पाएका छन् । ६ दलले पाएको मतलाई १६ सीटमा भाग लगाउँदा सबैभन्दा धेरै करिब ३२ प्रतिशत (१ लाख ८३ हजार ९५०) मत पाएको नेकपा एमालेले ५ सीटसम्म भाग पाउनेछ ।

दोस्रोमा नेपाली कांग्रेसले २९ प्रतिशत (१ लाख ७० हजार ७५६) मत पाएको छ । जसअनुसार कांग्रेसले ४ ५ सीटसम्म समानुपातिक सांसद पाउनेछन् । करिव २४ प्रतिशत (१ लाख ३७ हजार ६२९) मत पाएको नेकपा माओवादी केन्द्रले ३ देखि ४ सीट पाउनेछ ।

६ प्रतिशत (३५ हजार ८२६) मत पाएको नेकपा एकीकृत समाजवादीले एक सीट पाउनेछ । ४ प्रतिशत (२५ हजार १८६) मत पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी र साढे १ प्रतिशत (८ हजार ९९३) मत पाएको नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फ एक-एक सीट भाग पाउनेछन् ।

सुदूरपश्चिममा पनि ६ दलले कटाए थ्रेस होल्ड

सुदूरपश्चिम प्रदेशमा ३४ दलले पाएको ८ लाख ३८ हजार ८९४ मत सदर भएको छ । जसमा १२ हजार ५८३ मत (१.५ प्रतिशत थ्रेसहोल्ड) ६ दलले मात्रै कटाएका छन् । यी दलले पाएको ७ लाख ९४ हजार ९८३ मतलाई २१ सीटमा भाग लगाउँदा सबैभन्दा धेरै करिब ३० प्रतिशत (२ लाख ४८ हजार ८४०) मत पाएको नेकपा एमालेले ७ सीट पाउनेछ ।

दोस्रोमा नेपाली कांग्रेसले करिब २९ प्रतिशत (२ लाख ४३ हजार ३९) मत पाएको छ । जसअनुसार कांग्रेसले ६ सीटसम्म पाउनेछ । १४ प्रतिशत (१ लाख १८ हजार ९०३) मत ल्याएको माओवादी केन्द्रले ३ देखि ४ सीट हात पार्नेछ ।

११ प्रतिशत (९८ हजार ५५४) मत पाएको नागरिक उन्मुक्ति पार्टीले २ सीट पाउनेछ । ५ प्रतिशत (४३ हजार ८०८) मत ल्याएको राप्रपा र करिब ५ प्रतिशत (४१ हजार ८३९) मत पाएको नेकपा एकीकृत समाजवादीले एक-एक सीट पाउनेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर