जर्मनी र स्पेनलाई हराएर साविक उपविजेता क्रोएसियासँग भिड्न लागेको जापान – Nepal Press

जर्मनी र स्पेनलाई हराएर साविक उपविजेता क्रोएसियासँग भिड्न लागेको जापान

दोहा। कतारमा जारी विश्वकपको प्रिक्वाटरफाइनलमा सोमबार राती एसियाली पावर हाउस जापानले साविक उपविजेता क्रोएसियासँग खेल्दै छ।

नेपालीसमयअनुसार राती पौने ९ बजे सुरु हुने खेलमा जित हात पारे जापान पहिलोपटक विश्वकपको क्वाटरफाइनल पुग्ने छ। यसअघि समूहगत चरणमा दुई पूर्व विश्व च्याम्पियन स्पेन र जर्मनीलाई पराजित गरेर जापानले आफुलाई जायन्ट किलरका रुपमा प्रस्तुत गरिसकेको छ।

समूहगत चरणमा एक जित र दुई बराबरी खेल्दै अपराजित रहेको क्रोएसिया लगातार क्वाटरफाइनल पुग्ने प्रयाशमा छ। जारी विश्वकपमा अब दुई एसियाली टोली मात्र अगाडि बढ्ने दौडमा छन्। जापानबाहेक दक्षिण कोरियाले सोमबार राती नै ब्राजिलसँग खेल्दै छ।

जारी प्रतियोगितामा जापानले उत्कृष्ट पुनरागमनको नमुना देखाइरहेको छ। पहिलो खेलमा जर्मनीसँग पहिलो हाफमा १-० गोलले पछाडि परेको जापानले दोस्रो हाफमा दुई गोल गरेर जित हात पारेको थियो।

दोस्रो खेलमा कोस्टारिकासँग पराजित भएको जापानी टोली तेस्रो खेलमा स्पेनसँग पनि पहिलो हाफमा १-० गोलले पछाडि थियो तर दोस्रो हाफमा दुई गोल गरेर अघिल्लो चरणको यात्रा तय गरेको हो।

यसअघि सन् १९३८ मा ब्राजिल र सन् १९७० मा तत्कालिन पश्चिम जर्मनीले मात्र दुई खेलमा पहिलो हाफमा पछाडि परेर दोस्रो हाफमा उत्कृष्ट पुनरागमनम गरेर खेल जितेका थिए। त्यतिबेला दुवै टोली सेमिफाइनलसम्म पुगेका थिए।

प्रतियोगितामा जापानका लागि वैकल्पिक खेलाडीका रुपमा उत्रिएका खेलाडीहरुले शानदार प्रदर्शन गरिरहेका छन्। उनिहरुले ३ गोल र एक असिस्ट गरेका छन्। जापानले जर्मनी र स्पेनविरुद्ध समान २-१ गोलको नतिजा निकालेको थियो भने कोस्टारिकासँग १-० गोलले पराजय ब्यहोरेको थियो। जारी प्रतियोगितामा क्रोएसियाले गोल गर्न सजिलो भइरहेको छैन। उसले मोरक्को र बेल्जियमसँग गोलरहित बराबरी खेलेको थियो भने क्यानडालाई ४-१ गोलले हराएको थियो।

जापान र क्रोएसिया अन्तर्राष्ट्रिय फुटबलमा तेस्रोपटक भिड्न लागेका हुन्। पछिल्ला द्ई खेलयता जापानले हराउन सकेको छैन। सन् १९९७ मा भएको भिडन्तमा जापान ४-३ गोलले विजयी भएको थियो। अन्तिमपटक सन् २००६ को विश्वकपमा यी दुई टोली समूहगत चरणमा भिडेकामा गोलरहित बराबरीमा खेल सकिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर