माओवादीका बागमती प्रदेश अध्यक्ष भन्छन्: सच्चा कम्युनिष्ट हारमा आत्तिदैनन् – Nepal Press

माओवादीका बागमती प्रदेश अध्यक्ष भन्छन्: सच्चा कम्युनिष्ट हारमा आत्तिदैनन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष तथा नवनिर्वाचित बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले सच्चा कम्युनिष्ट हारदेखि नआत्तिने टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट ४६ सीटमा उम्मेदवारी दिएको माओवादी १८ सीटमा खुम्चिएको वेलामा उनले यस्तो तर्क गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘प्रिय ‘कम्युनिष्ट’ कमरेड, अब दुःखको कथा वाचन गरेर सार्वजनिक रूवाबासी गर्दै कम्युनिष्ट कहलिन बन्द गर्नुस् । सार्थक कम्युनिष्टले सबैभन्दा सुखको, सबैभन्दा खुशीको र सबैभन्दा समृद्ध समाज र मानिस निर्माण गर्ने योजनामा काम गर्छन् ।’

कम्युनिष्टहरु मितव्ययीसहित सबैभन्दा सफा, सबैभन्दा स्मार्ट, सबैभन्दा मेहनती र सबैभन्दा कर्तव्यनिष्ठ हुनुपर्ने उनले बताएका छन् ।

‘मैले १० वर्ष पुरानो ज्याकेट लगाएको छु, मैले साबुन जोगाउन लुगा नधोई र ननुहाई बसेको छु, मन्जन जोगाएर दाँत नमाझी बसेको छु जस्ता वाहियात कथा फोहोरीले गर्ने हो’, उनले भनेका छन्, ‘कम्युनिष्टहरु गरिबी बाँड्न होइन । हर गरिबलाई धनी बनाउन संघर्ष गर्छन् । मितब्ययिता सहित सबैभन्दा सफा, सबैभन्दा स्मार्ट, सबैभन्दा मेहनती र सबैभन्दा कर्तव्यनिष्ठ हुनुपर्छ ।’

कम्युनिष्टहरुले मागेर र इतिहासको ब्याज खान नभई हरेक पल नयाँ कामका लागि जिन्दगीभर संघर्ष गर्ने उनको भनाइ छ ।

‘हारमा आत्तिदैनन् जीतमा मात्तिदैनन् । व्यक्तिगत निराशामा होइन सामूहिक ऊर्जामा ऊर्जाशील हुन्छ’, उनले भनेका छन्, ‘हिरोइज्म र च्याप्लुसीमा होइन संस्थागत कर्ममा विश्वास राख्छन् । व्यक्तिगत स्वतन्त्रतालाई सम्मान गर्दै व्यक्तिगत चरित्र र स्वभावमाथि कुरा काटेर बस्दैनन् । उसको उद्देश्यमाथि बहस गर्छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर