गठबन्धनमा माओवादीले लुम्बिनी पाउँछ, मुख्यमन्त्रीमा पार्टीले मलाई पठाउँछः महरा – Nepal Press

गठबन्धनमा माओवादीले लुम्बिनी पाउँछ, मुख्यमन्त्रीमा पार्टीले मलाई पठाउँछः महरा

रूपन्देही ।नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जोखबहादुर महराले सत्ता गठबन्धनको मुख्य घटक माओवादीले भागवण्डामा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री दावी गर्ने र त्यसको लागि पार्टीले आफूलाई अगाडि सारेको बताएका छन् ।

पार्टी अध्यक्ष प्रचण्डको सचिवालयमा काम गरेर अहिले भूगोलमा फर्केका महरा रोल्पा क्षेत्र नं। १ बाट विजयी प्रदेश सभा सदस्य हुन् । महराले पार्टीले आफूलाई नै मुख्यमन्त्री मन्त्रीको रुपमा अगाडि सार्ने तयारी गरेको पनि बताए । ‘लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीको दावी रहन्छ, यसबारे पार्टीमा समेत छलफल भैसकेको छ’उनले भने ।

पार्टी अध्यक्ष प्रचण्ड लगायत अन्य उच्चतहका नेताहरुसँग यसबारे छलफल भएको जानकारी दिँदै महराले संघदेखि प्रदेश सरकारसम्म भागबण्डा हुने र त्यसो हुँदा लुम्बिनीको मुख्यमन्त्री माओवादीले पाउने दावी गरे ।

पार्टीले मुख्यमन्त्रीमा आफूलाई अगाडि सार्ने र त्यसका लागि आफू लुम्बिनी प्रदेशबासीको भावना अनुसार नेतृत्व गर्नसक्ने पनि महराले बताए । लुम्बिनी प्रदेशसभामा विजयी माओवादी प्रदेशसभा सदस्यहरुमा स्थायी समिति सदस्य महरा नै सिनियर हुन् ।

तर लुम्बिनी प्रदेशबाट मुख्यमन्त्रीको दावेदारका रुपमा पाल्पा २ (२) बाट निर्वाचित तुलाराम घर्ती र दाङबाट निर्वाचित इन्द्रजित चौधरी पनि दावेदार रहेको माओवादी श्रोतले बताएको छ ।

यसअघि मुख्यमन्त्रीको रूपमा प्रचार गरिएका पार्टीको लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्वमन्त्री सुदर्शन बराल गुल्मीबाट पराजित भएपछि नैतिकताको आधारमा राजीनामा दिइसकेका छन् ।

को हुन् प्रदेश सभा सदस्य जोखबहादुर महरा

प्रदेश सभा सदस्यमा निर्वाचित जोखबहादुर महरा वि।सं। २०२० सालमा रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ५ साविक गजुल गा।वि।स –२ मा जन्मिएका हुन् । महराले २०३५ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका थिए ।

राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक उत्तीर्ण महराले राजनीतिमा लाग्नु पूर्व र लागेपछि पनि लामो समय प्रावि। र मा।वि। शिक्षकको रुपमा अध्यापन गरेका थिए । अध्यापनसँगै राजनीतिमा पनि सक्रिय बनेका महरा २०४२ सालमा अनेरास्ववियु दाङको सचिव बने ।

त्योसँगै नेकपा मसालको पार्टी सदस्य लिएका उनी २०४३ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य, २०४७ सालमा नेकपा मसालको रोल्पा जिल्ला समिति सदस्य हुँदै २०५० सालदेखि पार्टीमा पूर्णकालीन कार्यकर्ता बनेका थिए ।

२०५१ सालमा नेकपा माओवादी को रोल्पा जिल्ला सेक्रेटरी बनेका उनी २०५४ सालमा क्षेत्रीय व्यूरो सदस्य र २०५६ सालदेखि चार वर्ष पार्टीको अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी सम्हालेका थिए । २०६० सालमा माओवादी केन्द्रीय सदस्य बनेका महरा २०६४ मा समानुपातिक तर्फबाट संविधान सभा सदस्य भएर संसद प्रवेश गरेका थिए ।

संविधानसभा सदस्य बन्नुअघि २०६२ देखि २०६५ सम्म पार्टी अध्यक्ष प्रचण्डको प्रमुख स्वकीय सचिव बनेका उनी २०७३ मा प्रचण्ड प्रधानमन्त्री हुँदा पुनः उनको प्रमुख स्वकीय सचिव बनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर