विश्वकपः साविक विजेता फ्रान्स क्वार्टरफाइनलमा – Nepal Press

विश्वकपः साविक विजेता फ्रान्स क्वार्टरफाइनलमा

काठमाडौं । किलियान एम्बाप्पेको दुई गोल प्रेरित पोल्यान्डलाई ३–१ गाेलकाे नतिजमा हराउँदै साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ ।

अल थुमामा रंगशालामा सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलमा फ्रान्सलाई जित दिलाउन एम्बाप्पेले दुई र ओलिभर जिरुडले एक गोल गरे ।
खेलको ४४औं मिनेटमा जिरुडले कीर्तिमानी गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

जिरुड थिएरी अनरीको ५१ गोलको रेकर्ड तोड्दै फ्रान्सका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बने । उनले १ सय १६ खेल खेल्दै ५२ गोल गरेका छन् ।


पहिलो हाफमा जेरुडको कीर्तिमानी गोलसँगै १–० गोलको अग्रता बनाएको फ्रान्सको ७४औं मिनेटमा एम्बाप्पेले अग्रता दोब्बर पारे ।

एम्बाप्पेले खेलको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सका लागि तेस्रो गोल गरे । उनले यस विश्वकपमा अहिले सम्म ४ खेलबाट सबैभन्दा धेरै ५ गोल गरेका छन् । पाँच गोलसँगै एम्बाप्पे गोल्डेन बुट दौडमा अगाडी बढेका छन् ।

इन्जुरी समयमै रोवर्ट लेवान्ड्वस्कीले पेनाल्टिमार्फत पोल्यान्डका लागि पहिलो गोल गरे । पोल्यान्ड सन् १९८६ देखि पहिलो पटक विश्वकपको नकआउट चरण पुगेको हो ।

जितसँगै फ्रान्सले क्वार्टरफाइनलमा इङल्यान्ड र सेनेगलबीचको विजेतासँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *