विश्वकप: इङ्ल्यान्डविरुद्ध किन निडर छ सेनेगल ? – Nepal Press

विश्वकप: इङ्ल्यान्डविरुद्ध किन निडर छ सेनेगल ?

काठमाडौं । कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाउन आइतबार राति अफ्रिकन च्याम्पियन सेनेगल र इङल्यान्डसँग प्रतिस्पर्धा गर्दैछन् ।

सेनेगलसँग प्रतिभावान् खेलाडी छन् । तर, बलियो इङ्लिस टिमविरुद्ध सेनेगलको प्रमुख हतिबार उच्च मानसिकता हुनेछ ।

अलियु सिसेको सेनेगलले यही वर्ष दुई ठूला सफलता हात पारेको छ । गत फेब्रुअरीमा आफ्नो महाद्वीपको च्याम्पियन बनेको सेनेगलले प्लेअफमा इजिप्टलाई पराजित गर्दै विश्वकपमा स्थान बनाएको थियो ।

अफ्रिका कप अफ नेसन्सको फाइनलमा उत्तर अफ्रिकी टिम इजिप्टलाई पराजित गरेको सेनेगलले उही इजिप्टलाई स्तब्ध पार्दै कतारको टिकट काटेको थियो ।

यी दुई सफलताकै आधारमा आइतबार राति विश्वकपको अन्तिम १६ मा इङ्ल्यान्डलाई सेनगलले बलियो चुनौती दिनेमा प्रशिक्षक सिसे विश्वस्त छन् ।

सन् २००२ पछि दोस्रो पटक विश्वकप खेलिरहेको सेनेगल चार वर्षअघि समूह चरणबाटै बाहिरिएको थियो । सन् २००२ मा जापान–कोरियामा भएको विश्वकपपछि पहिलो पटक नकआउटमा पुगेको सेनेगलका लागि यो नै ठूलो सफलता हो । तर, उच्च मनोबल र आत्मविश्वास बोकेको सिसेको टिम यतीमै चित्त बुझाउन तयार छैन ।

क्वार्टरफाइनल प्रवेशका लागि इङ्ल्यान्डविरुद्ध सेनेगल निडर भएर अल बायट रंगशालामा उत्रिने छ । इङल्यान्डलाई हराउन सके २० वर्षपछि क्वार्टरफाइनलमा पुग्ने सेनेगललाई हारे पनि केही गुमाउने डर छैन । विश्वकपको क्वार्टरफाइनमा पुग्ने पछिल्लो अफ्रिकी टिम घाना हो । सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा घाना क्वार्टरफाइनसम्म पुगेर उरुग्वेसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।

आज राति ग्यारेथ साउथगेटको टिमलाई पराजित गर्नसके सिसेको टिम पछिल्ला तीन विश्वकप क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिकी मुलुक बन्ने छ ।

विश्वकपमा छनोट हुँदा र अफ्रिकी च्याम्पियन बन्दाका मुख्य खेलाडी सडियो माने चोटका कारण टिममा छैनन् । उनको उपस्थितिले सिसेको टिम अझै बलियो हुने थियो । माने बिनाको‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍ सेनेगल विश्वकपको समूह चरणमा आयोजक कतार र इक्वेडरलाई हराउँदै समूह उपविजेताको हैसियतले अन्तिम १६ पुगेको थियो । नेदरल्यान्ड्ससँग् २–० को नतिजामा परातिज भएको सेनेगलको बास्तविक परीक्षा अल बायट रंगशालामा हुनेछ ।

अर्कातिर गत वर्ष युरो २०२० को फाइनलमा पुगेर इटालीसँग पेनाल्टी सुटआउटमा पराजित भएको इङ्ल्यान्ड सेनेगलविरुद्ध दबाबमा हुनेछ । जारी विश्वकपमा समूह ‘बी’को विजेता बन्दै अन्तिम १६ मा आइपुगेको साउथगेटको टिमको पराजय मुख्य प्रशिक्षकको अन्तिम खेल हुने करिब निश्चित छ ।

इङल्यान्डले पहिलो खेलमा इरानलाई ६–२ गोलको नतिजामा हराएको थियो । अमेरिकासँग गोलरहित बराबरी खेलेको इङल्यान्डले वेल्सलाई ३–० को नतिजामा पराजित गर्दै अन्तिम १६ यात्रा तय गरेको थियो ।

कुनै पनि प्रतियोगितामा यी दुई टिम पहिलो पटक आमनेसामने हुन लागेका हुन् । सेनेगलसँग उच्च मनोबल छ भने इङ्ल्यान्डको पक्षमा विगत छ । सन् १९६६ मा विश्वकप विजेता बनेको इङ्ल्यान्ड पछिल्ला सात खेलमा अफ्रिकी मुलुकसँग पराजित भएको छैन ।

अल बायट रंगशालामा नेपाली समयअनुसार १२: ४५ बजे सुरु हुने यो खेलको विजेताले फ्रान्स र पोल्यान्डबीचको विजेतासँग खेल्ने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *