‘कांग्रेससँग माओवादीले बार्गेनिङ गर्न खोज्यो, हतारको निर्णयले फाइदा गर्दैन’ – Nepal Press
नेपाल टक

‘कांग्रेससँग माओवादीले बार्गेनिङ गर्न खोज्यो, हतारको निर्णयले फाइदा गर्दैन’

कांग्रेस केन्द्रीय सदस्य विश्वकर्मा भन्छन्- संसदीय दलको नेता हुन देउवाजीले नचाहे उहाँले रूचाएको व्यक्ति हुन्छ

काठमाडौं । सत्ता गठबन्धनको दोस्रो ठूलो घटक हो माओवादी केन्द्र । मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले गठबन्धनबाट सोचेजस्तो नतिजा प्राप्त गर्न सकेन । तर, संसदको तेस्रो र निर्णायक शक्तिको रुपमा अझै कायम छ ।

चुनावको नतिजा अन्तिम चरणमा पुगेपछि दलको ध्यान सरकार गठनतर्फ केन्द्रित छ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र आआफ्नो नेतृत्वको सरकार गठन गर्ने कसरतमा छन् । भलै कांग्रेस र माओवादी दुवै गठबन्धनभित्रै छ । गठबन्धन दलका अधिकांश नेताहरुले आगामी सरकार पनि गठबन्धनकै बन्ने दाबी गर्दै आइरहेका छन् । तर, नेतृत्व कसले गर्ने टुंगो लागेको छैन ।

गठबन्धन दलभित्र पावर शेयरिङको विषयमा चर्को रस्साकस्सी चलिरहेको वेलामा शनिबार माओवादी केन्द्रले सरकार गठन गर्न सबै दलसँग खुला रहेको निर्णय गर्‍यो । त्यस निर्णयले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने योजनामा रहेका कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि झस्काएको छ।

कांग्रेसबाट देउवादेखि महामन्त्री गगन थापासम्म गरी ६ जना प्रधानमन्त्रीका आकांक्षी छन् । गठबन्धन दलमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि आकांक्षा व्यक्त गरिरहेका छन् ।

गठबन्धन दलभित्रको रस्साकस्सीबीच माओवादीले गरेको निर्णयबारे कांग्रेसको बुझाइबारे देउवा निकट कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मासँग नेपाल प्रेसले गरेको संक्षिप्त कुराकानीः

– माओवादीको सरकार गठनको विकल्प खुला राख्ने निर्णयलाई कांग्रेसले कसरी बुझेको छ ?

गठबन्धनबाट चुनाव लडेका कुनै पनि राजनीतिक दलले सरकार गठनका लागि हामी खुला छौं भन्ने अवस्था छैन । उहाँहरु गठबन्धनलाई नै बहुमत जुटाउन लाग्नुपर्ने हो । उहाँहरुको निर्णयले गठबन्धनप्रतिको विश्वासनियतामा नै प्रश्न उठाएको छ । उहाँहरुले अभिव्यक्ति सार्वजनिक गर्न हतार गर्नुभयो ।

– गठबन्धनबाट चुनावमा जाँदा साचेजस्तो नजिता नआएपछि माओवादीले प्रधानमन्त्रीको बार्गेनिङ गरेको तपाईंहरुको बुझाइ हो ?

अब चुनावी परिणाम जस्तो आए पनि स्वीकार गर्दै अघि बढेर समीक्षा गर्दै जाउँला । त्यसमा कुनै द्विविधा रहेन । तर, हामीले सीधै प्रधानमन्त्रीको भन्दा पनि उहाँहरुले रणनीतिक म्यासेजको रुपमा बाहिर ल्याउनुभएको होला ।

कांग्रेसबाट सम्मानजनक पद नपाए हामी खुला छौं भन्न खोज्नुभएको होला । त्यसले उहाँहरुलाई फाइदा हुँदैन । नोक्सान गर्ने हामीले देखेका छौं ।

– माओवादीले एमालेसँग मिलेर सरकार बनाउनसक्ने विकल्पमा कांग्रेस कतिको चनाखो छ ?

राजनीति हो सम्भावना सर्वत्र नै छ । गठबन्धनकै दलमा सरकार बनाउन बहुमत पुग्ने अवस्था पनि देखिन्छ । कुनै दललाई गठबन्धनमा बस्दिनँ भन्न छुट पनि छ । माओवादी गठबन्धनमा नरहे विकल्पमा अरु सरकार पनि बन्नसक्छ । त्यसका लागि कांग्रेस र एमाले मिल्न पनि सक्छ ।

माओवादी र एमाले, एमाले गठबन्धनको नेतृत्व वा बाहिरका केही दल मिलेर सरकार बन्न पनि सक्छ । तर, गठबन्धनमा आबद्ध दलको सदस्य भएकाले अहिले गठबन्धन नेतृत्वकै सरकार बनाउन प्रयास गर्ने हो । माओवादीले जसरी स्वतन्त्र अभिव्यक्ति दिनु हतार हुन्छ ।

– त्यसो भए कांग्रेसले कसलाई नेतृत्वमा अगाडि सार्छ ?

अब कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्छ । त्यसले दलका नेता छान्छ । अहिले सभापतिले इच्छा जाहेर गर्नुभयो भने अरुको कुनै सम्भावना छैन ।

तर, उहाँले आफ्नो ठाउँमा कोही ल्याउँछु भनेर लाग्नुभयो भनेमात्रै कांग्रेसबाट विकल्प खुला हुनसक्छ । अब दलको नेता बन्ने व्यक्ति नै कांग्रेस नेतृत्वको सरकार बन्दा प्रधानमन्त्री हुने हो ।

– पार्टीभित्र त महामन्त्री गगन थापाले तयारी थालिसक्नुभयो नि ?

उहाँलाई मेरो शुभकामना छ । राम्रो गर्नुस् भन्न चाहन्छु । कांग्रेसका निर्वाचित सांसदहरुमध्ये जसले बहुमत प्राप्त गर्छ । त्यही संसदीय दलको नेता हुने हुनाले उहाँ (गगन)ले बहुमतका लागि कोसिस गरिराख्नुभएको छ ।

त्यो सकारात्मक नै हो । तर, को प्रधानमन्त्री बन्ने भन्ने अहिले नै भन्न सक्ने अवस्था छैन । अहिले पनि सभापतिकै पहुँच पार्टीमा बलियो भएकाले उहाँले रुचाएको व्यक्ति नै बन्ने हो ।


प्रतिक्रिया

One thought on “‘कांग्रेससँग माओवादीले बार्गेनिङ गर्न खोज्यो, हतारको निर्णयले फाइदा गर्दैन’

  1. पिरै गर्नु पर्दैन । लुरूक्क परेर आउँछन। मन्त्री विना बाँच्नै नसक्ने भएका छन् तिनका नेता ।प्रचण्डको घुर्की हो । धेरै र मालदार मन्त्री बनाएर पैसा कमाउने र विदेश लैजाने उनको मुख्य उद्देश्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर