अन्तरघातको आरोप निराधार भएको एमाले नेता पन्तको भनाइ – Nepal Press

अन्तरघातको आरोप निराधार भएको एमाले नेता पन्तको भनाइ

रुपन्देही । नेकपा एमाले गुल्मीका पूर्वअध्यक्ष तथा छत्रकोट गाउँपालिकाका पूर्वअध्यक्ष मधुकृष्ण पन्तले गुल्मीमा पार्टीका उम्मेदवार जिताउन पार्टीका सबै तहका नेताहरुले योगदान दिएको बताएका छन् ।

क्षेत्र नं १ मा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीकै नेताकार्यकर्ताहरुबाट अन्तरघात भएर केही नेताहरुबाट आफ्नो समेत नाम जोडेर चरित्र हत्या गर्न खोजेको भन्दै नेता पन्तले पार्टीको जिम्मेवारीमा भएको नेताहरुबाट त्यस्तो गतिविधि हुन नसक्ने भन्दै सार्वजनिक भएका विषयहरु गलत भएको बताएका छन् ।

नेता ज्ञवालीको पराजय भएपछि जिल्ला तहका नेताहरुले नै पन्तसहित पूर्वप्रदेश सांसद कमल श्रेष्ठ, छत्रकोट गाउँपालिकाका पूर्वउपाध्यक्ष नर्मदा भण्डारी, रुरु गाउँपालिकाका पूर्वअध्यक्ष निलकण्ठ गौतमलगायतले सहयोग नगरेका कारण एमालेको बलियो मानिएका छत्रकोट र सत्यवती गाउँपालिकाबाट पार्टीका उम्मेदारलाई कम मत आएको सार्वजनिक गरेका थिए ।

ती नेताहरुले सार्वजनिक गरेका विषयहरुलाई जोडेर नेपाल पे्रसमा आएको विश्लेषणलाई स्थानीय नेताहरुले तोडमोड गरेर ती नेताहरुको फोटासहित जोडेर सामाजिक सन्जालमा राखेको विषयमा नेता पन्तले असहमति जनाएका हुन् ।

नेपाल प्रेसमा प्रदेश सभाका आकांक्षी पन्तले उम्मेदारी नपाएका कारण उनको क्षेत्रका धेरै मतदाता असन्तुष्ट बनेकाले ती क्षेत्रमा एमालेको मत कम आएको उल्लेख गरिएको थियो ।

नेता पन्तले नेपाल प्रेससँग कुरा गर्दै राजनीतिक जिम्मेवारीमा रहेका आफूसहित कमल श्रेष्ठ, नर्मदा भण्डारी, निलकण्ठ गौतमबाट कुनै असहयोग नभएको र निर्वाचनमा पूर्णरुपमा लागेपनि नतिजा आफ्नो पक्षमा पार्न नसकेको जनाएका छन् ।

‘जीवनभर बिताएको पार्टीका नेता हराउन लागे भनेर कसैको चरित्रहत्या गरेर कोही नेताकार्यकर्ताको जीत हुनेछैन, कसरी मत कम आयो भन्ने विषयमा अनुसन्धान गर्न पार्टीकै संयन्त्रबाट काम गरिनुपर्दथ्यो तर पार्टीकै जिम्मेवारीमा बसेका नेताहरुले चरित्र हत्या गर्न खोजियो’, उनले भने ।

नेपाल प्रेसमा मंसिर १६ गते गुल्मी १ मा एमाले नेता प्रदीप ज्ञवाली फिक्का हुनुका ११ कारणका विषयमा विश्लेषण सहितको सामग्री प्रकाशन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर