जोखिमबाट उत्रिन भन्दै नौ वटा सहकारीले गरे ‘गुपचुप’ एकीकरण – Nepal Press

जोखिमबाट उत्रिन भन्दै नौ वटा सहकारीले गरे ‘गुपचुप’ एकीकरण

रुपन्देही । रुपन्देहीमा आन्तरिक संकट देखिएको सहकारीहरुको संख्या घटेको छैन । क्षेत्राधिकार बाहिर गएर काम गर्ने संस्थाहरुलाई नियामक निकाय सहकारी संघले सजग गराए पनि सुध्रिएका छैनन् । संकटमा परेका केही सहकारीहरु संघकै सहारामा एकीकरणतर्फ जान बाध्य भएका छन् ।

रुपन्देहीलाई कार्य क्षेत्र बनाएको एउटा बचत तथा ८ बहुउद्देश्यीय सहकारी एकीकरणमा गएका हुन् । शनिबार गरिएको एकीकरणमा नौ वटा सहकारीका सबै सञ्चालक भने सहभागी थिएनन् । तिनीहरुको एकीकरणमा सहकारी संघ, सहकारी विकास बैंक, सहकारी विकास बोर्डले समन्वय गरेका थिए ।

फरक उद्देश्य भए पनि कार्य क्षेत्र एकै भएको र केही सहकारीमा बढ्दै गएको संकट समाधान गर्न एकीकरण गराइएको राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सन्दीप सापकोटाले बताए । संकटमा परेका सहकारीहरुलाई निकास दिन यसखालको विकल्प निकालिएको उनको भनाइ छ ।

‘सहकारीले आफ्नो जिम्मेवारी बिर्सेर यस्तो भएको हो, धेरै सहकारी खोलेर अब समस्या बढ्दैछ । अब मर्जपछि पुराना गल्ती गर्ने छुट सञ्चालकलाई हुनेछै्रन, सहकारीको मर्मलाई जोगाउन यसखालको निकास खोजेका हौं’, सापकोटाले भने ।

बुटवलमा रहेको आगन्तुक बचत तथा भैरहवामा रहेको सार्थक र जनप्रिय, बुटवलमा रहेको शाइन, उपदेश, उपकार र वरदान, कपिलवस्तुको चन्द्रौटामा रहेको शुभसन्देश, नवलपरासी सुनवलमा रहेको शुभश्री गरी ८ बहुउद्देश्यीय सहकारी संस्थाहरुले एकीकरण गरेर सिद्धबाबा बहुउद्देश्यीय सहकारी बनाएका हुन् ।

समस्यामा पर्दै गएको भन्दै ती सहकारीहरुलाई सम्बद्ध संस्थाहरुले निरन्तर निगरानी गरिरहेका थिए । मर्जर गरिएको आगन्तुक सहकारीका अध्यक्ष राजु घर्तीले ४ वर्षअघि सुरु गरेको सहकारीले काम गर्ने चरणमा भएका केही कमजोरीले समस्यामा परेको स्वीकार गर्दै आगामी दिनमा विगतका गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाए ।

सहकारीप्रतिको जनगुनासो बढेको भन्दै जोखिम न्यूनीकरण गर्न एकीकरण एउटा उत्तम विकल्प भएकाले सबैले स्वीकार गरेको उनले बताए ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केपी उप्रेतीले केही सहकारीमा अहिले सृजना भएको समस्या समाधानको उत्तम विकल्प नै यही भएको बताउँदै स्थानीय क्षेत्रमा सहकारी बैंकका कार्यालयले गरेको सूक्ष्म निगरानीबाट अहिलेको समाधान भेटिएको बताए ।

‘देशकै आर्थिक अवस्था कोभिड १९ संक्रमणभन्दा पनि जटिलता रुपमा देखिएको छ । देशका ठूला बैंक तथा वित्तीय संस्थाहरुमा समेत समस्या उत्पन्न भएको छ, अब आधारभूत तरिकाले नै यसको समाधान खोजिनुपर्दछ’, उप्रेतीले भने, ‘अब यो मर्जर अभियानबाट यहाँका ९ वटा सहकारीको समस्या धेरै समाधान हुनेछ । यसबाट धेरैले पाठ सिक्नुपर्दछ, समस्या के हो भन्ने पहिचान गर्नुपर्दछ ।’

एकै प्रकृतिका कारोबार सञ्चालन गर्ने संस्थाको संख्या बढी हँुदा त्यसले नकारात्मक प्रभाव पारेको हो र सहकारी संस्थाहरुमा आर्थिक समस्या उत्पन्न हुन थालेको शाइन सहकारीका अध्यक्ष प्रकाश खनालले बताए । उनले एकीकरणपछि सबै सहकारीको प्रशासनिक, व्यवस्थापन खर्च वार्षिक ३ करोड बच्ने बताए ।

राष्ट्रिय सहकारी संघका सञ्चालक तथा जिल्ला सहकारी संघका अध्यक्ष भीम तुलाचनले संकटमा परेका सहकारीको एकीकरणले समस्या समाधानसँगै आफैंमा नयाँ ऊर्जा थप्ने बताए ।

राष्ट्रिय सहकारी बैकमा सञ्चालक माधवलाल देवकोटाले सहकारीको आधारभूत मूल्य र मान्यतालाई समेत कार्यान्वयन नगर्दा सहकारी डुब्नेसम्मको अवस्था आएको बताए ।

‘बचत र शेयरको अनुपात मिलाउन नसक्दा सहकारीमा समस्या भएको हो, सहकारीहरुमा सञ्चालकहरुको मनोमानी, शेयर सदस्यहरुमा बढी ब्याजको लागि बचत गर्नेजस्ता थप कारण कठिनाइ उत्पन्न भएको हो’, उनले भने, ‘अहिले देखिएको संकटबाट अरुले पाठ नसिके अझै ठूलो समस्या आउनसक्छ ।’

रुपन्देहीमा ७०० सहकारी छन् । तर, बाहिर प्रधान कार्यालय भएका धेरै सहकारीले यहाँ कार्यालय राखेर काम गर्दै आएका छन् । सदस्य केन्द्रित, ग्राहक केन्द्रित र कम्पनी केन्द्रत तीन तरिकाले सञ्चालन भएका सहकारीमध्ये सदस्य केन्द्रितमा कुनै समस्या छैन भने ग्राहक र कम्पनी केन्द्रित सहकारीमा समस्या आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर