७४ मा १५ हजार मतान्तरले जित्ने १९ जना- अहिले केहीले साख जोगाए, केही पराजित भए – Nepal Press

७४ मा १५ हजार मतान्तरले जित्ने १९ जना- अहिले केहीले साख जोगाए, केही पराजित भए

कैलाली । दोलखाबाहेकका १६४ निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ । अघिल्लोपटक प्रतिनिधिसभामा १५ हजारभन्दा बढी मतान्तरले विजयी भएकामध्ये यसपटक केहीले साख जोगाएका छन् । केहीलाई पार्टीले टिकट दिएन भने  केही पाएर पनि पराजित भए ।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा पार्वत गुरुङ, केपी ओली जयकुमार राई रेशम चौधरी , भूमिप्रसाद त्रिपाठी, विष्णु पौडेल, शरतसिंह भण्डारी, लालप्रसाद साँवा (एलपी साँवा), दुर्गा पौडेल, महेश बस्नेत, टोपबहादुर रायमाझी, झलनाथ खनाल, महन्थ ठाकुर, गोकुल बाँस्कोटा, कृष्णभक्त पोखरेल, बिना मगर, वर्षमान पुन , जनार्दन शर्मा र प्रेम सुवालले १५ हजार बढी मतान्तरले विजयी भएका थिए ।

यस पटक कस्तो रह्यो ती ठूलो मतान्तरले विजयी हुने नेताहरूको अवस्था

पार्वत गुरुङ

अघिल्लो पटक दोलखाका पार्वत गुरुङले ३० हजार ६४४ मतान्तरले जित निकाल्दै प्रतिनिधिसभा सर्वाधिक फराकिलो मतान्तरले विजयी हुने नेता बने । वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एमाले नेता गुरुङले ५५ हजार ४५७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्र खड्काले २४ हजार ८१३ मत पाएका थिए ।

यस पटक पार्वत गुरुङले त्यहाँ टिकट पाएनन् । २०७४ मा गुरुङ विजयी हुँदा आनन्द पोख्रेलको पनि दाबी थियो । अहिले पनि दुवैले दाबी गरे । तर, अन्तिममा बालकृष्ण शिवाकोटीले यहाँ टिकट पाए । मङ्सिर ४ को चुनावमा गठबन्धनले बुथ कब्जा गरेका कारण आयोगले १५ गते निर्वाचन सम्पन्न गराएर अहिले मत गणना जारी छ । पछिल्लो अपडेटअनुसार शिवाकोटीले करिब २ हजार मतले लिड गरेका छन् ।

केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७४ सालमा सबैभन्दा धेरै भोट ल्याएर प्रतिनिधिसभा सदस्य बन्ने मौका पाएका थिए। उनी मतान्तरमा अघिल्लो पटक दोस्रो भए । ओलीको मतान्तर २८ हजार ८४२ थियो ।

अघिल्लो पटक भन्दा यस पटक उनको मत ६ हजार कम भयो । झापा ५ बाट ओली ५१ हजार ६१९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार २३१ मत पाएका थिए । अघिल्लो पटक जस्तै यस पटक पनि ओलीले सर्वाधिक मत ल्याएका हुन् ।

अघिल्लो पटक ओलीले ५७ हजार १ सय ३९ मत पाएका थिए ।

भूमिप्रसाद त्रिपाठी

अघिल्लो पटक धादिङ क्षेत्र नम्बर १ बाट २७ हजार १५३ मतान्तरले विजयी भएका भूमिप्रसाद त्रिपाठीलाई यस पटक जनताले पत्ताएनन् । यहाँबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डे ३५ हजार नौ सय ३४ मत पाउँदै विजयी भए ।

त्रिपाटी यस पटक पनि उम्मेदवार भएका थिए । उनले २७ हजार नौ सय ५३ मत प्राप्त गरे । यस पटक २७ हजार नौ सय ५३ मत पाएका त्रिपाटीले अघिल्लो पटक ४९ हजार १ सय २१ मत प्राप्त गरेका थिए ।

जयकुमार राई

अघिल्लो पटक सुनसरी क्षेत्र नम्बर १ बाट ४४ हजार ५ सय २८ मत पाएर विजयी भएका जयकुमार राईलाई यस पटक एमालेले पत्ताएन । उनको क्षेत्रमा अघिल्लो पटक राई सँगै हारेका अशोक राईलाई एमालेले समर्थन ग¥यो र जितायो ।

एमालेकै सहयोगमा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष राईले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ४५३ मतान्तरले पराजित गर्दै निर्वाचित भए ।

यस पटक ४५३ मतले जितेका राई अघिल्लो पटक एमालेका जयकुमार राईसँग २२ हजार ४ सय ५ मत अन्तरले पराजित भएका थिए ।

विष्णु पौडेल

रुपन्देही २ मा अघिल्लो पटक २२ हजार ६३ मतान्तरले विजयी भएका एमालेका उपाध्यक्ष विष्णु पौडेललाई अहिले जित निकाल्नै सकस भयो । अन्तिममा पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई १३ सय ६६ मतले पराजित गरे ।

पौडेलले २७ हजार एक सय ४८ मत प्राप्त गर्दा स्वतन्त्र पार्टीका उम्मेदवार पौडेलले २५ हजार सात सय ८२ मत प्राप्त गरेका थिए ।

अघिल्लो पटक ४४ हजार ९ मत पाएका एमाले उपाध्यक्ष पौडेलले यस पटक १७ हजार मत कम पाए ।

रेशम चौधरी

वारेसनामामार्फत उम्मेदवारी दिएका रेशमलाल चौधरीले टीकापुर १ मा २० हजार ९३४ मतान्तरले विजयी भएका थिए । अहिले उनी डिल्लीबजार कारागारमा छन् ।

यस पटक उनकी पत्नी रन्जिता श्रेष्ठ सोही क्षेत्रमा १२ हजार ३२३ मतान्तरले विजयी भइन् ।३० हजार ४०४ मत ल्याउँदै उनी विजयी हुँदा नेपाली कांग्रेसका राम जनम चौधरीले १८ हजार ८१ मत पाए ।

वर्षमान पुन

अधिकांश नेताहरूले अघिल्लो पटक भन्दा मतान्तर कम गरिरहेका बेला रोल्पामा नेकपा माओवादीका नेता वर्षमान पुनको मतान्तर यस पटक अझै बढ्यो ।

२० हजार ७४७ मतान्तरका साथ कांग्रेसका उम्मेदवार अमरसिंह पुनलाई पराजित गरेका वर्षमानले यस पटक २५ हजार २२९ मतान्तरले एमालेका पूर्णबहादुर बुढामगरलाई पराजित गरे ।

अघिल्लो पटक वर्षमानले ४० हजार ६ सय ४७ मत प्राप्त गर्दा कांग्रेसका अमरले १९ हजार ९ सय ६ मत ल्याएका थिए । यस पटक वर्षमानले ४१ हजार ७१४ले प्राप्त गर्दा एमालेका पूर्णबहादुरले १६ हजार ४८५ मत पाए ।

विना मगर

कञ्चनपुर १ बाट अघिल्लो पटक १९ हजार ५ सय ८४ मतान्तरले विजयी भएकी विना मगर अहिले ५ हजार ४८१ मतान्तरले हारिन ।

अघिल्लो पटक बिनाले ३९ हजार २१ मत प्राप्त गर्दा उनका कांग्रेसका दिवानसिंह विष्टले १९ हजार ४३७ मत प्राप्त गरेका थिए । अहिले एमालेका तारा लामा तामाङले २२ हजार ५३५ मत प्राप्त गर्दा विना मगरले १७ हजार ५४ मत पाएकी थिइन् ।

जनार्दन शर्मा

यस पटक रुकुम पश्चिमबाट प्रतिनिधि सभामा २६ हजार ५ सय ८८ मतान्तर सहित विजयी भएका अर्थमन्त्री जनार्दन शर्मा अघिल्लो पटक कांग्रेसका गोपालजी जङ्ग शाहलाई १८ हजार ७ सय ४३ मतले पछि पारेर विजयी भएका थिए ।

अघिल्लो पटक भन्दा झन्डै ७ हजार८४५ मतले शर्मा यस पटक निर्वाचित भएका हुन् । शर्माले यस पटक ३९ हजार ५ सय ४९ मत प्राप्त गर्दा एमालेका देवकोटाले १२ हजार ९ सय ६१ मत पाएका थिए ।

टोपबहादुर रायमाझी

अघिल्लो पटक माओवादी केन्द्रबाट उम्मेदवार भएका टोपबहादुर रायमाझी एमालेको सहयोगमा १८ हजार २९३ मतान्तरले विजयी भएका थिए । अहिले एमालेबाट उम्मेदवार भएका रायमाझीले १७ सय ३० मतान्तरले जित हासिल गरे ।

यस पटक रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याएर विजयी हुँदा निवर्तमान उपसभामुख पुष्पा भुसालले ४० हजार ९ सय ४५ मत पाइन् ।

अघिल्लो पटक रायमाझीले ५० हजार ३ सय ८५ मत प्राप्त गर्दा कांग्रेसका डा. रामबहादुर बिसीले ३१ हजार ९ सय ४१ मत ल्याएका थिए ।

महन्थ ठाकुर

लोसपाका अध्यक्ष महन्थ ठाकुर २०७४ सालको निर्वाचनमा महोत्तरी ३ बाट तेब्बर बढी मत पाएर विजयी भएका थिए । ठाकुरले २७ हजार ५ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका नेता विजयकुमार चौधरीले ८ हजार ९७७ मत पाएका थिए ।

अहिले पनि ठाकुर सोही क्षेत्रबाट निर्वाचित भए तर, उनको मतान्तर पहिलेको जस्तो फराकिलो रहेन । ठाकुर १६३७५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जसपाका हरिनारायण यादवले १४३२५ मत ल्याए ।

गोकुल बाँस्कोटा

काभ्रे बाट १७ हजार ८ सय ४८ मतान्तरसहित विजयी भएका एमाले नेता गोकुल बाँस्कोटा यस पटक ५ हजार ८ सय ६३ मतले विजयी भए । बाँस्कोटाले ४५ हजार तीन सय ४५ मत ल्याउँदा कांग्रेस उम्मेदवार शिवप्रसाद हुमागाईँ ३९ हजार चार सय ८२ मत ल्याएका थिए ।

अघिल्लो पटक बाँस्कोटाले ५४ हजार ४ सय २७ मत प्राप्त गर्दा कांग्रेसका मधुप्रसाद आचार्यले ३६ हजार ५ सय ६९ मत ल्याएका थिए ।

महेश बस्नेत

२०७४ सालको चुनावमा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेर १७ हजार ७२५ मतान्तरले जित निकालेका महेश बस्नेतले अहिले कांग्रेसका दुर्लभ थापासँग ९५९मतले पराजित भए ।

थापाले २४ हजार २ सय ३८ मत पाउँदा बस्नेतले २३ हजार २ सय ७९ मत पाएका थिए । अघिल्लो पटक बस्नेतले ३६ हजार ४१२ मत ल्याउँदा कांग्रेसका उम्मेदवार तथा पूर्व सभामुख दमननाथ ढुङ्गानाले १८ हजार ६८७ मत ल्याएका थिए ।

कृष्णभक्त पोखरेल

चितवन २ बाट २०७४ सालको चुनावमा कांग्रेस उम्मेदवार शेषनाथ अधिकारीलाई १७ हजार ४५६ मतान्तरले पराजित गरेका एमालेका कृष्णभक्त पोखरेल यस पटक तेस्रो भए ।

यहाँबाट रबी लामिछाने ४९ हजार २६१ मतसहित निर्वाचित हुँदा काँग्रेसका उम्मेदवार उमेश श्रेष्ठ १५ हजार ९९ सत सहित दोस्रो भए । अघिल्लो पटक फराकिलो मतान्तर सहित विजयी भएका पोख्रेल यस पटक फराकिलो मतान्तर सहित पराजित भए । पोख्रेलले यस पटक १४ हजार ६४९ मत पाए ।

झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल २०७४ सालको निर्वाचनमा इलाम १ बाट १७ हजार १६७ मतान्तर सहित विजयी भएका थिए ।

अघिल्लोबाट एमालेबाट उम्मेदवार भएर फराकिलो मतान्तर सहित विजयी भएका खनाललाई यस पटक एमालेकै महेश बस्नेतले २ हजार ६६२ मतले हराएका हुन् । बस्नेतले २५ हजार ७५० मत पाउँदा खनाले २३ हजार ८८ मत पाए।

अघिल्लो पटक खनालले ३६ हजार ८०५ मत पाएर विजयी हुँदा कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६३८ मत ल्याएका थिए ।

शरतसिंह भण्डारी

०७४ मा महोत्तरी–२ बाट १६ हजार७४८ मतान्तरले विजयी भएका शरतसिंह भण्डारी सोही क्षेत्रबाट यस पटक १४ हजार ७० मतान्तरले विजयी भए ।

भण्डारीले २५ हजार १९० मत ल्याएका तराई–मधेस लोकतान्त्रिक पार्टीका उम्मेदवार विजयकुमार सिंहले ११ हजार १२० मत ल्याएका थिए ।
अघिल्लो पटक भण्डारीले ३० हजार ७२२ मत पाउँदा कांग्रेसका किरण यादवले १३ हजार ९७४ मत पाएका थिए ।

लालप्रसाद साँवा (एलपी साँवा)

लालप्रसाद साँवा (एलपी साँवा लिम्बू) का नामले परिचित एमाले नेता लालप्रसाद साँवा लिम्बू झापा ४ बाट अघिल्लो पटक १६ हजार ६९३ मतान्तरले विजयी भएका थिए ।

अहिले पनि सोही क्षेत्रबाट साँवा विजयी भए । तर, उनको मतान्तर घट्यो । यस पटक कांग्रेसका देउकुमार थेवेलाई ६ हजार ८ सय ६७ मतान्तरले उनी विजयी भएका हुन ।

सावाँले २९ हजार ३ सय १५ मत ल्याउँदा थेवेले २२ हजार ४ सय ४८ मत मात्रै पाएका छन् । अघिल्लो पटक पनि थेवेले सावाँले फराकिलो मतान्तरले हराएका थिए ।

दुर्गा पौडेल

२०७४ सालमा १६ हजार २२८ मतान्तरले विजयी भएकी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई अहिले जनताले विश्वास गरेनन् ।

अघिल्लो पटक फराकिलो मतान्तरमा विजयी भएकी पौडेल यस पटका एमाले उम्मेदवार सूर्य थापासँग ५ हजार २७४ मतले हारिन् । थापाले ४१ हजार ११८ मत ल्याएर विजयी हुँदा पौडेलले ३५ हजार ८४४ मत प्राप्त गरेकी थिए ।

अघिल्लो पटक पौडेलको मत ४१ हजार ५ सय १४ आएको थियो ।

प्रेम सुवाल

अघिल्लो पटक १५ हजार २५८ मतान्तरले विजयी भएका नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल अहिले त्यो भन्दा दोब्बर बढी मतले विजयी भएका छन् । सुवालले ४२ हजार ७ सय ६१ मत सहित निर्वाचित हुँदा एमालेका नवराज गेलालले ११ हजार ९ सय ६८ मत पाए । दुई बिचको फरक ३० हजार ७९३ छ ।

सुवालले अघिल्लो पटक भन्दा यस पटक झन्डै १० हजार बढी मत पाएका हुन् । अघिल्लो पटक ३३ हजार ७६ मत पाएर विजयी हुँदा कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८१८ मत पाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर