कम्युनिष्ट महासचिवहरूको पराजय र आन्तरिक लोकतन्त्र निषेधले खुम्चिँदै गएको माओवादी – Nepal Press

कम्युनिष्ट महासचिवहरूको पराजय र आन्तरिक लोकतन्त्र निषेधले खुम्चिँदै गएको माओवादी

प्रचण्ड देखाएर मात्र अब माओवादी चल्दैन, दोस्रो पुस्ता ! पार्टी पुनर्जीवनको योजना ल्याऊ

नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ आ आफ्नो निर्वाचन क्षेत्रमा पराजित भइरहँदा कांग्रेसका समकक्षी अर्थात् महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन कुमार थापा सानदार ढङ्गले विजयी हुनु संयोग मात्र होइन ।

दुवै महासचिवको पराजय लगत्तै मैले सामाजिक सञ्जालमा गरेको टिप्पणी “प्रजातान्त्रिक प्रणालीबाट आएका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको जित हुनु र टिके प्रथाबाट आएका कम्युनिस्ट महासचिवहरूको हार हुनु’ लाई विभिन्न सन्दर्भबाट कमेन्टहरू प्राप्त भए । तर वास्तविकता स्वीकार गर्न नसक्नु हामी कम्युनिस्टहरूको परम्परागत कमजोरी हो ।

अझै हाम्रो पार्टी र हाम्रा नेताहरूको पराजयलाई देशी विदेशी षडयन्त्र र अन्य विभिन्न जामा पहिराएर विषयान्तर गर्न खोजिन्छ भने कम्युनिस्टहरूका सामु थप पराजयका अनन्त: सिलसिलाहरू बाँकी नै छन् । त्यसैले अब प्रश्न कसले कहाँ जित्यो वा हार्‍यो भन्दा पनि एजेण्डा र आन्दोलन कसरी जित्ने भन्नेतिर सोझिनुपर्छ ।

दस वर्ष लामो सशस्त्र जनयुद्धको इतिहास बोक्दै शान्तिपूर्ण संसदीय राजनीतिमा पाइला टेकेको माओवादी पार्टीको उदय र त्यसको अस्तित्वको सवालमा आएका लाखौँ प्रश्नहरूले अहिले अनेकौँ शंका र जिज्ञासाहरू उब्जाएको छ । यो आन्दोलनसँग जोडिएका हजारौँ शहीद र बेपत्ता परिवारका साथै लाखौँ शुभचिन्तकहरूमा चिन्ता थपिएको छ ।

सामन्तवादको नस्ल नछोडेको  राप्रपाले आफ्नो महाधिवेशन सानदार लोकतान्त्रिक ढंगले गर्‍यो र नयाँ नेतृत्वले पार्टीलाई जीवन्त बनायो । आफूलाई  गणतन्त्र र समावेशी लोकतन्त्रको जननी मान्ने माओवादीले आन्तरिक लोकतन्त्र खुम्च्याउँदै अधिवेशन समेत टिके प्रथाबाट गरेर सामन्तवादको नयाँ भेरियन्ट जन्मायो ।

विगतको क्रान्तिकारी मोर्चा सम्हाल्दा होस् या संसदीय राजनीतिमा आफ्नो उपस्थिति जनाउँदा होस माओवादी पार्टीका कयौँ मोर्चाहरू बन्ने र भत्किने क्रममा छोटो समयको अन्तरालमा लामो अनुभव बटुलेको इतिहास हामीसँग छ । युद्धका मोर्चाहरूमा कमरेड प्रचण्ड, बाबुराम जस्ता योद्धाहरूको छलफल, बहस र योजनाको निष्कर्षपछि त्यसलाई युद्ध गतिमा अगाडि बढाउन बटालियन कमान्डहरूलाई निर्देशन वा सिधै कासन दिइन्थ्यो ।

त्यहाँ वाद विवादले युद्धको गति र कलामा अवरोध पुग्ने युद्धका मोर्चामा चेन अफ कमान्डले काम गर्थ्यो र मिसन सफल हुन्थ्यो ।तर अहिलेको मोर्चा भिन्न दृष्टिकोणले अगाडि बढेको छ । यसमा समूहहरूको निचोड नै चेन अफ कमान्ड भइरहेको छ । एक जना व्यक्तिको निचोडले आन्दोलन र इतिहासलाई हाँक्न प्राय असम्भव छ । संसदीय मोर्चा हाँक्न सामूहिक बल, प्रतिपक्षको रणनीति र जनताका दुःख सुखमा पार्टीको प्रत्यक्ष भूमिका हुन्छ ।

परिस्थिति बदलिएको छ । हामी संसदीय अभ्यासमा छौ । पार्टी टुटफुटले क्षतविक्षत भैरहँदा पनि नेतृत्वको आँखा नखुल्नु र आत्म केन्द्रित मनोभावले गर्दा माओवादी पार्टी खुम्चिँदै गएको छ । पार्टीभित्रका संरचनाहरूमा पूर्णतः नेतृत्वको दबदबा हुनु र जन वर्गीय संगठनहरुले आफ्नो अस्तित्व र कार्यभार बिर्सनु पनि एक मुख्य कारण हो माओवादी खुम्चिँदै जानुमा ।

विधि,पद्धति र प्रणालीबाट आएका नेपाली कांग्रेसका महामन्त्री  गगन थापा र विश्वप्रकाश शर्मालाई जनताले अनुमोदन गर्नु र टिके प्रथाबाट आएका दुई कम्युनिस्ट पार्टीका महासचिव र वरिष्ठ उपाध्यक्षहरूले हार्नुलाई पनि सामन्तवादको नयाँ भेरियन्टलाई जनताले अस्वीकार गरेको अर्थमा बुझ्न हिचकिचाउन हुन्न ।

पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्नुको साटो निषेधको नीति अवलम्बन गर्नु, आफ्नै सहकर्मीहरूलाई अनेकौँ लाञ्छना लगाएर पार्टीबाट प्रताडित गर्दै पलायन हुन बाध्य पार्नु,गलत नीतिको विरोध गर्न नसक्नु, विरोध गर्नेहरूलाई दुस्मनको संज्ञा दिनु, आफ्नो वरिपरि चाकडी प्रथा विकसित गराउनु, इमानदार कार्यकर्ताहरूको भावना तथा मर्म बुझ्न नसक्नु, सर्वहाराको मुक्तिको लागि भनेर ल्याएको व्यवस्थामा सर्वस्वको हालीमुहाली हुनु, नवसमान्तको उदयको आभास जनतामा पर्नु माओवादी कमजोर हुनुका कारण हुन् ।

आफ्नो उत्तराधिकारी कोही जन्मेको छैन भन्ने अध्यक्षको अभिव्यक्तिले पनि पार्टी भित्रैकै नेताहरूमा एक प्रकारको बहस र हलचल पैदा भएको छ । संसदीय राजनीतिमा पाइला टेकेको करिब डेढ दशकभित्रै पार्टीले आफ्नो आकार दुईभन्दा तल खुम्च्याउनु र पार्टी लामो समयसम्म सरकारमा हुँदा पनि त्यै पुरानो मुद्दाहरूको जस लिने र जनतासँग दूरी बढाउँदै राम्रो डेलिभरी गर्न नसक्नु पनि अर्को कारण हो ।

माथि उल्लेखित विषयहरू पार्टीको आन्तरिक लोकतन्त्र र त्यसको मर्मसँग जोडिएका अवयवहरू मात्रै हुन । मुख्य कुरा पार्टीभित्रको आन्तरिक लोकतन्त्र नै पार्टीको मुख्य रक्तसञ्चार हो । त्यसले पार्टीभित्रका नीति,निर्णय, निर्देशन र नेतृत्वलाई सही ढङ्गले अगाडि बढाउनुका साथ–साथै ठोस परिस्थितिको ठोस विश्लेषण गरेर पार्टीलाई जीवन्त राख्न मद्दत गर्छ ।

कम्युनिस्ट पार्टीहरूमा व्यक्ति प्रधान होइन नीति प्रधान हुन्छ भन्ने कुरा नेकपाका संस्थापक महासचिव पुष्पलालले भन्नुभएको छ । यिनै कुरालाई व्यवहारमा लागू नगर्नु,हिजोका सामन्ती शक्तिलाई किनारा लगाउँदै नव सामन्तवादको नयाँ भेरिएन्टको उदय हुनुले पार्टीका एजेन्डाहरूले विश्राम लिन खोजेको अनुभूति भएको छ ।

परम्परागत कम्युनिस्ट दलहरूका लागि यी शब्दहरू अप्रिय लाग्न सक्छन् तर सत्य यहि हो कि,नेपालका कम्युनिस्टहरूले अब पनि नसच्चिने र आन्तरिक लोकतन्त्रलाई फुल्न नदिने हो भने कुनै दिन पश्चिम बंगालको हालत यहाँ पनि हुनेछ । एक पटक जनताले बढारेपछि कम्युनिस्टहरूको पुनरागमन कति कठिन हुन्छ भन्ने पश्चिम बङ्गाल जिउँदो जाग्दो उदाहरण हो ।

माओवादी पार्टीको मुख्य शत्रु मानिएको समकालीन जडसुत्रबादी सामन्तवादको नस्ल नछोडेको राप्रपाले आफ्नो महाधिवेशन सानदार लोकतान्त्रिक ढङ्गले गर्‍यो र नयाँ नेतृत्वले पार्टीलाई जीवन्त बनायो । आफूलाई गणतन्त्र र समावेशी लोकतन्त्रको जननी मान्ने माओवादीले आन्तरिक लोकतन्त्र खुम्च्याउँदै अधिवेशन समेत टिके प्रथाबाट गरेर सामन्तवादको नयाँ भेरियन्ट जन्मायो ।

यी नै कारणले गर्दा जनताले अहिलेका माओवादीहरू बिचार, सिद्धान्त र निष्ठाबाट विचलित हुँदै विघटनको बाटोमा गइसकेको अनुभूति गर्दै मत अन्यत्रै ट्रान्सफर गरे भनेर समीक्षा गर्न हामी डराउन हुन्न ।

विधि,पद्धति र प्रणालीबाट आएका नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई जनताले अनुमोदन गर्नु र टिके प्रथाबाट आएका दुई कम्युनिस्ट पार्टीका महासचिव र वरिष्ठ उपाध्यक्षहरूले हार्नुलाई पनि सामन्तवादको नयाँ भेरियन्टलाई जनताले अस्वीकार गरेको अर्थमा बुझ्न हिचकिचाउन हुन्न । किनभने गगन र विश्वप्रकाशले पार्टीभित्रको अन्तरसंघर्षलाई जीवन्त राख्न पार्टी भित्रैको गलत प्रवृत्तिविरुद्ध लडे ।

तर पार्टीभित्रबाट अनुमोदन नभएका दुई कम्युनिस्ट पार्टीका महासचिवहरूले पार्टी भित्रको गलत प्रबृतिको बिरुद्ध लड्नु त परको कुरा हो,आफ्ना अध्यक्षसामु आँखा जुधाएर संवाद गर्ने आँट पनि गर्दैनन् । सम्भवतः जनताले उनीहरूलाई सबक सिकाएर ५ वर्षका लागि दण्डित गरेका होलान् ।

जनमतको कदर नगरी विपक्षीप्रतिको कटाक्षले मात्रै जनताले पत्याउने छैनन् भन्ने नजिर कम्युनिस्ट पार्टीहरुका हकमा लागु भयो । कम्युनिस्ट दलहरूले हिजोको गल्तीहरू सच्चिएको स्पष्ट सन्देश र पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्दै नयाँ नेतृत्वको आगमन प्रभावकारी ढङ्गले दिन सकेनन् भने जनमानसमा देखिएको निराशाले मूलधारका कम्युनिस्ट पार्टीहरूलाई जनताले कुन किनारामा लगेर थन्काउने हुन् आजकै मितिमा भनिहाल्न सक्ने अवस्था रहन्न ।

त्यसैले आजको युवा पुस्ताले रुचाउने एजेण्डा र समृद्धिको खाकासहित पार्टीको रूपान्तरण तथा आन्तरिक लोकतन्त्रलाई फैलाउँदै पुनर्जीवन दिन सक्ने क्रान्तिकारी कदम अब दोस्रो पुस्ताले उठाउनुपर्छ । नत्र अब प्रचण्ड देखाएर मात्र माओवादी बाँच्दैन,जनतामा जाने बाटो बिस्तारै बन्द हुँदै जान्छ ।

परम्परागत कम्युनिस्ट दलहरूका लागि यी शब्दहरू अप्रिय लाग्न सक्छन् तर सत्य यहि हो कि,नेपालका कम्युनिस्टहरूले अब पनि नसच्चिने र आन्तरिक लोकतन्त्रलाई फुल्न नदिने हो भने कुनै दिन पश्चिम बंगालको हालत यहाँ पनि हुनेछ । एक पटक जनताले बढारेपछि कम्युनिस्टहरूको पुनरागमन कति कठिन हुन्छ भन्ने पश्चिम बंगाल जिउँदो जाग्दो उदाहरण हो ।

माओवादी केन्द्रको हकमा अपवाद बाहेक सहरबाट उसका उम्मेदवारले विजय हासिल गर्न नसक्ने अवस्था आयो । हामीलाई सहरले किन पत्याएन ? युवा पुस्ताले किन रुचाएन ? हामीले जसका लागि जनयुद्ध गरेको हो त्यही वर्ग समुदायले किन मत दिएन ? या प्रश्नको जवाफ आवेगमा होइन विवेक लगाएर खोजिनुपर्छ ।

त्यसैले आजको युवा पुस्ताले रुचाउने एजेण्डा र समृद्धिको खाकासहित पार्टीको रूपान्तरण तथा आन्तरिक लोकतन्त्रलाई फैलाउँदै पुनर्जीवन दिन सक्ने क्रान्तिकारी कदम अब दोस्रो पुस्ताले उठाउनुपर्छ । नत्र अब प्रचण्ड देखाएर मात्र माओवादी बाँच्दैन,जनतामा जाने बाटो बिस्तारै बन्द हुँदै जान्छ ।

रूपान्तरण र आन्तरिक लोकतान्त्रिक पद्धति स्थापना गरेर पार्टीलाई पुनर्जीवन दिन सक्ने क्रान्तिकारी कदम चाल्ने आट अहिले दोस्रो पुस्ताले गर्न सक्नु पर्दछ । सक्नेनन् भने भोलि जनतामा जाने बाटो नै बन्द हुन सक्छ ।

(शाही माओवादी केन्द्र निकट वाइसिएल नेपालको केन्द्रीय सदस्य तथा युवा विशेष महाशाखा सदस्य हुन्)

प्रतिक्रिया

One thought on “कम्युनिष्ट महासचिवहरूको पराजय र आन्तरिक लोकतन्त्र निषेधले खुम्चिँदै गएको माओवादी

  1. लेख तथ्यपरक लाग्यो । अव नयाँ पुस्ताले आवज नउठाउने हो भने यी दलहरु इतिहासका विषय बन्ने पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *