अग्रता रोकिएपछि बर्मा लामाको आरोप- दोलखाका केही ठूला कांग्रेसले रकम कलम गरे – Nepal Press

अग्रता रोकिएपछि बर्मा लामाको आरोप- दोलखाका केही ठूला कांग्रेसले रकम कलम गरे

काठमाडौं । मतगणनाका क्रममा अपेक्षित मत प्राप्त नभएपछि नेपाली कांग्रेस दोलखाका सभापति तथा प्रदेश क्षेत्र नम्बर २ का उम्मेदवार बर्मा लामाले पार्टीभित्रकै केही ठूला नेताले अन्तर्घात गरेको आरोप लगाएका छन् ।

सो क्षेत्र अन्तर्गत पर्ने कालिञ्चोक र शैलुङ गाउँपालिकाको मतगणना सकिदा अपेक्षित अग्रता नभएपछि लामाले अन्तर्घातको आरोप लगाएका हुन् । शैलुङको भुसाफेदा र कालिन्चोक १ मा बुथ कब्जा गरेको मतले समेत लामालाई फराकिलो अग्रता दिलाउन नसकेपछि उनी आक्रोशित बनेका हुन् ।

लामाले जितको आशा अझै जीवित रहेको भन्दै फेसबुकमा लेखेका छन्– दोलखाको केहि ठुला काँग्रेसको नेताहरुले रकम कलमको बलमा खेमा परिचालन गरेर (धमिरा-मुसा प्रबृत्ति ) घरभित्रै बसेर घर भत्काउने काम गरेको प्रमाणित भएको छ यो एक प्रकारको रोग हो यो रोगको अप्रेसन गर्ने तयारीमा छु सबै ईमान्दार काँग्रेसको सहयोगको आसा राखेको छु।

अब बिगु गाउँपालिका र भिमेश्वर नगरपालिकाको मतगणना हुन बाँकी छ । भिमेश्वर नगरपालिका एमाले उम्मेदवार भरत केसीको गृहक्षेत्र रहेको र उनी निवर्तमान मेयर समेत रहेकाले त्यहाँबाट बर्मा लामा पछि पर्ने सम्भावना छ ।

पछिल्लो मतगणनाको अपडेट अनुसार एमालेका केसीले १२ हजार २२१ मतसहित अग्रता लिएका छन् भने लामाले १२ हजार ६६ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर