माओवादी बागमती प्रदेश अध्यक्ष भन्छन्- मुख्यमन्त्री प्याकेजमा टुंगिएला, दलको नेतामा मेरो दाबी – Nepal Press

माओवादी बागमती प्रदेश अध्यक्ष भन्छन्- मुख्यमन्त्री प्याकेजमा टुंगिएला, दलको नेतामा मेरो दाबी

हेटौँडा । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष तथा नवनिर्वाचित प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा आफ्नो दाबी रहेको बताएका छन् ।

नेपालप्रेसँगको कुराकानीमा पौडेलले आफू बागमती प्रदेश अध्यक्ष भएको नाताले दलको नेतामा स्वाभाविक दाबी रहने बताए ।

उनले भने, ‘हाम्रो विधानमा पनि पार्टीले सरकार चलाउने भनिएको छ, म बागमती प्रदेशको अध्यक्ष पनि हुँ, अहिले हाम्रो प्रदेश कमिटी कार्यकारी अधिकार रहेको कमिटी पनि भएको कारण पार्टीको नीति अनुसार सरकार चलाउन मैले दलको नेता हुनै पर्छ र यो मेरो दाबी पनि हो ।’

अध्यक्ष सहयात्रीले आफू सकेसम्म सर्वसम्मत ढंगबाट दलको नेता चुनिने नभए लोकतान्त्रिक विधिबाट दलको नेतामा आफू चयन हुने विश्वास व्यक्त गरे ।

दलको नेताको विषयमा पूर्व संसदीय दलका नेता शालिकराम जम्कटेल र पूर्वमन्त्री युवराज दुलालको नाम पनि चर्चामा छ नि भन्ने नेपालप्रेसको प्रश्नमा उनले भने, ‘चर्चा हुनु स्वाभाविक हो, उहाँहरू पहिले पनि दलको नेता तथा सरकारमा रहिसक्नु भएका नेताहरू भएको कारण चर्चा हुनुलाई मैले स्वाभाविक रूपमा बुझेको छु, यसको मतलब मेरो दाबी रहन्न भन्ने छैन, उहाँहरूको दाबी विषयमा मलाई जानकारी भएन, तर मेरो दाबी रहन्छ र प्रदेश अध्यक्षको नाताले मेरो दाबीलाई स्वाभाविक पनि मान्नुपर्छ ।’

सरकार गठनको विषयमा कुरा गर्दै उनले देशभर नै गठबन्धनको सरकार निर्माण हुनेमा शंका नभएको बताए ।

उनले भने ‘निर्वाचन नै गठबन्धन गरेर उठेको हुनाले सरकार पनि गठबन्धनकै बन्ने कुरा निश्चित छ, अब कुन प्रदेशमा कसले सरकारको नेतृत्व गर्ने या कसले पहिले गर्ने भन्ने कुरा गठबन्धनको बैठकले प्याकेजमा नै टुंगो लगाउने विषय हो ।’

माओवादी केन्द्र पनि बागमती प्रदेशमा सरकार निर्माणको लागि सक्षम रहेको भन्दै उनले अवसर पाएको अवस्थामा आफूहरूले सरकारको नेतृत्व गर्ने समेत बताए ।

सरकार निर्माणको विषयमा अब पार्टी तहमा छलफल सुरु हुने भन्दै पौडेलले सात प्रदेश तथा सङ्घीय सरकार निर्माणको कुरा पाँच दलीय गठबन्धनको बैठकले प्याकेज बनाएर निर्णय गर्ने कुरा आफूहरूले बुझेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर